काठमाडौं । विश्वव्यापी बनेको कोरोना महामारी संक्रमणका कारण नेपाली खेलकुद क्षेत्र अझै सुचारु हुने अवस्था बनेको छैन । चैतयता कुनै पनि प्रतियोगिता भएको छैन । केही खेलले प्रशिक्षण सुरु गरे पनि समग्र खेलकुद गतिविधिले कहिलेबाट गति लिन्छ भन्न सकिने अवस्था छैन । सधैं सरकारको बेवास्तामा पर्ने खेलकुदलाई सरकारले अझै सुरु गर्नु अनुमति दिएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमार्फत प्रशिक्षण सुरु गर्न अनुमतिको लागि पहल भइरहेको बताए पनि स्वीकृति नपाइएको बताउँदै आएको छ ।
यसैबीच, राष्ट्रिय फुटबल टोलीका कार्यवाहक कप्तान किरण चेम्जोङ, राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारीलगायत राष्ट्रिय टोलीका अन्य खेलाडीले मंगलबार सामाजिक सञ्जालमार्फत सबै खेलकुद सुरु गर्न सरकार र राखेपलाई अनुरोध गरेका छन् । पहिलो रोजाइका गोलरक्षक किरणले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिगत र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउँन चाहन्छु भने फुटबलम मात्रै नभई सम्पूर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न अनुरोध गर्दछु । खेलाडी सधंै मर्कामा पर्ने र मर्ने हो भने सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो ?’ सावित्राले पनि सरकार र राखेपसँग गुनासो पोखेकी छन् । खुट्टा चलाएर घर परिवार हुर्नुपर्ने हुन्छ । सात महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ? सावित्राले लेखेकी छन्, ‘खेलाडी खेलेर नै जीविका चलाउथें । आजभोलि खेलमैदान छोडेर विदेश जानुपर्ने अवस्था आएको छ ।’
देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चिलाउन खेलाडीले भूमिकानिर्वाह गर्दै आएको उल्लेख गर्दै किरणले प्रश्न गरेका छन्, ‘खेलाडी चाहिँ सधैं काठमाडौंको धुलोमा तपाईंहरू चाहिँ चिल्लो गाडीमा ?’ यति लामो समयदेखि खेलकुद कुन दुर्दशामा छ भन्ने चासो नदिनुले फुटबलमै भविष्य खोज्ने नयाँ पुस्तालाई कति असर परेको छ अनुमान गर्न सक्ने उनीहरूको तर्क छ ।
युरोपलगायत अन्य देशमा फुटबल गतिविधि सुरु भइसक्दा हाम्रो खेलकुदका विषयमा बोलिने कोही नभएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । दशरथ रंगशालामा म्युजिक भिडियो खिच्न मिल्ने फुटबल खेल्न नमिल्ने भन्ने प्रश्न पनि खेलाडीले गरेका छन् । ‘आखिरमा कहिले सम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने ? फुटबल विकासका लागि सकैले केहि गरिरहेको देखिएन,’ उनीहरूले लेखेका छन्, ‘खेलाडीले खेल्न बिर्सिसके सरकार ।
राजनीतिलाई व्यंग्य गर्दै भनेका छनु, फुटबल रानीतिक जस्तो होइन, बोलेर मख्ख पार्न । फुटबलमा हात खुटाले दिमाग लगाएर खेल्ने गरिन्छ । चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न ।’ भदौ १ गतेबाट राष्ट्रिय टोलीको तयारी थाल्ने अन्तिम तयारी चलिरहँदा एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोटका सबै खेल स्थगित गर्दै ती खेल सन् २०२१ मा आयोजना गर्ने जनाएको थियो । सोही समयमा काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि एन्फाले फुटबलको प्रशिक्षण रोकेको थियो ।





