नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा विसं.२०६७ साल फागुन १७ मा ११ घरबाट सुरु गरिएको होमस्टे अहिले २४ घरमा सञ्चालनमा रहेको सो वडाका वडा अध्यक्ष रहेका सञ्चालक परशुराम चौधरीले बताए ।
बर्दियाको डल्लामा तत्कालीन प्राकृतिक स्रोत साधन समितिका सभापति शान्ता चौधरी र मिस नेपाल सदीक्षा श्रेष्ठले उद्घाटन गरी सञ्चालनमा ल्याइएको होमस्टेले आफ्नो कला र संस्कृतिको संरक्षण मात्र नगरी आयआर्जनमा टेवा पु¥याउन थालेपछि निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका किसान यसतर्फ आकर्षित भएका हुन् ।
वडा अध्यक्ष चौधरीले होमस्टे सञ्चालनमा आउनु पूर्व डल्लाको बस्तीको पहिचान गुमसुम भएको एक परम्परागत ग्रामीण बस्तीमा सीमित रहेको भए तापनि अहिले भने आफूहरूको परिचय नै डल्ला गाउँबाट हुने गरेको दाबी गरे । उनले भने,‘ पहिला डल्ला गाउँ कसैले चिन्दैनथ्यो आसपासका छिमेकी गाउँले बाहेक तर, अहिले समयको छालसँगै डल्ला गाउँले हामीको परिचयसमेत बनाइदिएको छ । यो सबै संरक्षण र होमस्टे सञ्चालनपछिको अवस्था हो ।’
उनले परम्परागत बस्ती वरिपरि बर्दिया राष्ट्रिय निकुञ्ज र त्यसबाट आउने वन्यजन्तुले पु¥याउने क्षतिको कारणले गर्दा कहिलेकाही मानव र वन्यजन्तुबीच द्वन्द्व हुने र त्यसले भयावह रुपसमेत लिने गरेको स्मरण गर्दै भने, ‘निकुञ्ज र मध्यवर्ती क्षेत्रको वनबाट आउने जनावरका कारण बालीनाली खाने, घरपालुवा जनावर मारिदिने, घर भत्काइदिने जस्तो सास्ती खेपिरहनुपरेको अवस्थाबाट भोकभोकै परिने जस्तो समस्या थियो । तर, अहिले होमस्टे सञ्चालन गरेपछि त्यो अवस्था टरेर गएको छ ।’

उनले संरक्षणको कारण रोजीरोटीको ग्यारेन्टी भए तापनि वन्यजन्तुको आक्रमणको जोखिम भने उत्तिकै रहेको बताए । उनले जंगली हात्ती, एकसिंगे गंैडा, पाटेबाघ, चितुवा, बँदेल, चित्तलजस्ता जनावर गाउँ पसेर हैरानी पार्ने गरेको बताए । वन्यजन्तुबाट जोगाउनका लागि अवलम्बन गरेका उपाय एकपछि अर्को फेलिएर जस्तो भएर जाँदा जोखिम बढेर गएको उनको भनाइ छ ।
‘गाउँवरिपरि ड्रेनज खनेर, मेसजाली राखेर करेन्ट प्रवाह गर्दा सुरक्षा हुन्छ भनेर ड्रेनज खनियो मेसजाली राखियो त्यो पनि केही समयपछि फेल भयो हात्तीले वैकल्पिक उपाय निकाले घेराबार तोडेपछि सजिलै गाउँ पसेको छ’,उनले भने, ‘अब रोजीरोटीका लागि होमस्टे नै हामीहरूका लागि निर्विकल्प भएको छ ।’ उनले डल्ला होमस्टेमा दैनिकजसो विभिन्न जिल्लाका, केही मात्रामा स्थानीय र विदेशी पाहुना अवलोकन तथा बिदा मनाउन आउने गरेको बताए । पाहुनाको सत्कारमा आफ्नो परिहरन र संस्कृतिबाट गरिने हुँदा सबैले रोजगार पनि पाएको बताए ।
यसैगरी बाँकेको कम्दी करिडोरको नयाँ गाउँमा सञ्चालनमा रहेको होमस्टे नम्बर–७ का सञ्चालक मंगल सिंह थारुले होमस्टेका कारण आफूहरूको दिनचार्य नै बदलिएको बताए । पहिला परम्परागत खेतीमा रमाउने उनी र उनको परिवार अहिले खेतीसँगै होमस्टेमा आउने पाहुनाको सत्कार गर्न जुटेका हुन्छन् । नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको हो । सुरुमा ७ घरमा सञ्चालन गरिएको भए पनि अहिले १३ घरमा सञ्चालनमा छ । उनले होमस्टेमा आउने पाहुनका कारण आफूहरूको आम्दानीको स्रोत पनि बढेर गएको बताए ।
उनले भने, ‘होमस्टे सञ्चालन गर्दा धेरै कुरा सिक्ने मौका पाइयो । पहिला थारु समुदायले प्रयोगमा ल्याउने गरगहना, लुगाफाटा कुनामा कामै लग्दैन भनेर थन्क्याएर राखेका थिए तर, अहिले हाम्रो लागि ती अमूल्य धन सावित भएको छ । सिडी र म्युजिक सिस्टममा डिजे बजाउने प्रवृत्तिले निरुत्साहित हुँदै परम्परागत मादलमा नाच्ने गाउने र पाहुनालाई मनोरञ्जन दिने गर्दा संस्कृति पनि जोगिएको छ ।’
पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिणमा रहेको उनको होमस्टे नजिकै वनस्पती उद्यान, वनभोज स्टल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार पनि छ । आफूकहाँ आउने पाहुनालाई आफ्नै उत्पादनले सेवा गर्ने गरेको बताए । होमस्टेमा पाहुना आउँदा उनकी श्रीमती, छोरी र छोराले पनि काममा सघाउने गरेको उनी बताउँछन् । ‘परम्परागत खेती गर्दा जंगली जनावरले खाएर नष्ट गरिदिन्थे वर्षभरि खान पनि पुग्दैनथ्यो तर अहिले होमस्टे सञ्चालन गरेपछि छोरा छोरी पढाउनेदेखि अन्य गर्जो टार्दै बचत पनि गरेको छु,’ उनले भने ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका गाउँमा मानव वन्यजन्तु बीचको द्वन्द्व घटाउँदै उनीहरूलाई संरक्षणमा सहभागी गराउने उद्देश्यले होमस्टेको अवधारणा ल्याइएको र त्यसको प्रवद्र्धनमा आफूहरूले पनि सक्दो सहयोग गरेको तराई भूपरिधि कार्यक्रम परियोजना (ताल)का सहप्रबन्धक मुना थापाले बताइन् । उनले संरक्षणमा सबैको सहभागिता रहोस् भनेर तालले वैकल्पिक खेती तथा आयआर्जनमा जोड्नका लागि विभिन्न खालका सहयोग आवश्यकताको आधारमा गर्दै आएको जानकारी दिइन् ।
पछिल्लो समयमा प्रकृतिसँग रम्नका लागि सहरको धुलो र कोलाहलबाट टाढा रहँदै ग्रामीण बस्तीमा जाने र उनीहरूको सेवा गरेर स्थानीयले जीविकोपार्जनसँगै संरक्षणमा पनि जोडिँदै गएको पाइएको छ । बर्दियाको डल्लाबाट सुरु भएको होमस्टे अहिले गोबिन्दपुर, सतखलुवा, बाँकेको गाभर, ढकेरी नयाँगाउँलगायतका स्थानमा सञ्चालनमा ल्याइएका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटनलाई बढवा दिँदै आयआर्जनमा टेवा पु¥याएको छ ।






