दैलेख । आठबिस नगरपालिका–१ सुकिपिप्लीमा २१ घरधुरी दलित २०४० सालदेखि बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा छैन । उनीहरूले आफू बस्दै आएको भूमिको लालपुर्जा पाउन धेरै प्रयास गरे ।
२०४० सालमा तत्कालीन साविक सात्तला गाविस–६ मा आएको बाढीपहिरोका कारण विस्थापित भएपछि उनीहरू सुकिपिप्लीमा बस्दै आएका हुन् । त्यसबेला बाढी पहिरोले घर र खेतबारी सबै बगाएपछि गाउँकै स्थानीय बुद्धिजीवी र भद्रभलाद्मीले उनीहरूलाई सुकिपिप्लीको भूमि उपलब्ध गराए ।
तर, पछिल्ला दिनमा केही व्यक्तिले जग्गामा दाबी नछाडेपछि २१ घरधुरी दलितले लालपुर्जा पाउन नसकेका हुन् । बाढीपहिरोले विस्थापित भएपछि सुकिपिप्लीमा बस्न आउँदा देव नेपाली ४२ वर्षका थिए । उनी अहिले ७८ वर्षका भए । उनले लालपुर्जाका लागि धेरै ठाउँ गुहारे । चिनिएका बुद्धिजीवी र भद्रभलाद्मीलाई रिझाउने प्रयास गरे, तर सकेनन् । पछिल्लो पुस्ताले उनीहरू बस्दै आएको बस्तीलाई ‘हाम्रा बाबु बाजेको भैंसी राख्ने चौर’ भन्दै विवाद खडा गर्न थालेपछि लालपुर्जा नपाइएको उनको भनाइ छ ।
त्यति मात्र होइन, ती दलितलाई सुकिपिप्लीमा बस्न दिँदा त्यहाँ जंगल थियो । अहिले उनीहरू बस्दै आएको भूमिको बीचबाट सडक निर्माण भएपछि पछिल्लो पुस्ताको आँखा त्यही बस्तीमा गयो । यसकारण, समस्या बल्झिँदै गएको हो । ‘३६ वर्षदेखि हामी सुकिपिप्लीमा बस्दै आएका छौं, तर कसैसँग पनि लालपुर्जा छैन,’ ७८ वर्षीय देव नेपालीले भने, ‘भूमिसुधार लागू भएयता जग्गा नापी भए पनि केहीले हाम्रा बाबुबाजेको भैंसी राख्ने चौर हो भनेर विवाद गरेपछि लालपुर्जा पाउन सकेनौं ।’
त्यसो त लक्ष्मी उमाविलाई एक कित्ता जग्गा नाप उपलब्ध गराएको बेला दलित बस्तीको नाममा पनि एक कित्ता जग्गा नापिएको थियो । तर, दलित बस्तीको नामको जग्गालाई लिएर चर्काे विवाद भयो । ‘विवाद चर्केपछि नापीका कर्मचारीले हामीलाई जग्गा दिएनन्,’ स्थानीय बलबहादुर नेपालीले भने, ‘जंगलको बीच भागमा रहेको चौरमा कोही नबस्ने भएपछि त्यसबेला हामीलाई बस्न दिइयो, अहिले सडकसँग बस्ती जोडिएपछि हाम्रो भनेर दाबी गर्छन् । लालपुर्जाका लागि नापी कार्यालय जाँदा विवाद परेको मिलाएर आउनुस् भन्छन्, विवाद गर्नेले मान्दैनन् ।’






