श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको भंगालो तरेर केही समय हिँडेपछि टापुबासीको गाउँ आउँछ ।

यो क्षेत्रमा बस्ती बसेपनि न त राज्यको ध्यान गयो, न त अन्य सम्बन्धित निकायको नै । सप्तकोशी किनारको बालुवै बालुवामा बसेको यो बस्तीको उत्थानका लागि राज्यको निकायबाट कुनै पनि पहल भएन । यहाँका बासिन्दामा बर्खाको समयमा पुल नहुँदा समस्या हुँदै आएको राजवंशी बताउँछन् । यहाँ उब्जनी भएको कृषि पनि बर्खाको समयमा बिक्री नहुने भएकाले यहाँका बासिन्दा चिन्तित रहेको उनले बताए । ‘अहिले बिजुली आइकन यो क्षेत्रमा जंगली जनावरले पनि दुःख कम दिने गरेको छ,’ उनले सुनाए, ‘पहिला भोट माग्न आउने नेताहरुले एयरपोर्ट र क्रिकेट मैदान बनाउने आश्वासन दिएका थिए तर हामी त सधैँ अन्धकारमा रात बिताउँदै आएका थियौँ ।’

पहिला भोट माग्न आउने नेताहरुले एयरपोर्ट र क्रिकेट मैदान बनाउने आश्वासन दिएपनि अहिलेसम्म यो क्षेत्रमा बिजुली समेत बल्ने अवस्था नरहेको उनको तर्क थियो । सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र कार्कीको पहलमा यो क्षेत्रमा अहिले बिजुली बलेपछि आँफूहरुको मनमा उज्यालो बलेको उनले बताए ।

‘मैले थाहा पाएदेखि अहिलेसम्म अन्धकारमै रात वितेको थियो,’ अर्जुनले आफ्नो विगत सम्झदैँ भने, ‘अहिले माननीय ज्यू को पहलमा यहाँ बिजुली बलेपछि मनमा उज्यालो बलेको छ ।’

१० हजार बढी घर परिवार बसोबास रहेको यो क्षेत्रमा चन्द्रवशी, उराउ, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बु, बाहुन, क्षेत्री सबै जातजातीको बसोबास रहेको उनले बताए । विशेषगरि यो क्षेत्र कृषिबालीको उपज रहेको बताउँदै उनले यहाँ गहुँ, मकै, तिल, सागसब्जी बढी उब्जनी हुने बताए ।

‘यहाँ जालझेल गर्ने मानिसहरु छैनन्, यहाँका मानिसहरु आफैँ व्यस्त हुन्छन्,’ छिमेकी नगरपालिका उदयपुरको बेलका नगरपालिका २ का स्थानीय लक्ष्मण थापाले भने, ‘यहाँ बर्षौँदेखि विजुली थिएन, तर अहिले बिजुली आएपछि टापुबासीको मनमै उज्यालो बलेको छ ।’

उनका अनुसार बस्तीको सीमानामा रहेको कोशीटप्पु बन्यजन्तु आरक्षबाट जंगली जनावर आएर रातको समयमा पनि क्षति गर्ने भएपनि अहिले उज्यालोका कारण कम क्षति हुने गरेको छ । यस क्षेत्रका जनतालाई झुक्याएर यहाँ कृषि क्याम्पस बनाउनेदेखि लिएर ठूला–ठूला आश्वासन दिएर भोट माग्नेहरु अहिले कुनामा पस्ने गरेको उनको तर्क थियो ।

‘अहिलेको सरकारबाट केही अनुभूति पाएका छैनौ, यसअघि नै यहाँका ८ सय घर धूरी परिवार बाढीका कारण विस्थापित छन्,’ थापाले भने, ‘यहाँ बेचेर अर्को ठाउँ जान्छु भन्ने अवस्थापनि छैन, कोशीले कुनबेला हान्छ टुङ्गो छैन ।’

स्थानीय सरकारले कृषि क्रान्ति गर्ने भनेर नारा लगाएपनि समूह बनाउन आवश्यक रहेको र गरीब जनताको पहुँच नपुग्ने उनको तर्क थियो । ‘अहिले बिजुली बाल्न पाउँदा जंगली जनावर पनि रोकथाम भएको छ, चोरी तस्करी पनि रोकियो, मनमा उज्यालो छायो,’ उनले भने, ‘अब सिसौलीको बाँध बाँधिदिएदेखि राहत महसुस हुन्थ्यो, हामी सरकारसँग जुध्न सकिँदैन, गुनासो कसलाई पोख्ने !’

दुई महिनाअगाडि देखि बिजुली बल्न सुरु भएको यो क्षेत्रमा सांसद कार्कीले बिजुली बत्ती ल्याउने घोषणा गरेको एक वर्षमै बिजुली बलेको उनले बताए । बिजुली बल्न थालेदेखि गाउँलेले अहिले टिभी समेत हेर्न थालेका छन् । प्रविधिमा पहुँच बढेसँगै यहाँका बासिन्दामा उत्साह छाएको छ ।

ग्रामीण विद्युतीकरण परियोजना अन्तर्गत डेढ करोड हाराहारी लगानीमा श्रीलंका टापुका बासिन्दाका लागि बिजुली जडान गरिएको हो । नेपाल विद्युत प्राधिकरण इटहरी शाखाका अनुसार तीन पटकको बजेटमा दुई हजार छ सयभन्दा बढी घरधूरीका लागि बिजुली जडान गरिएको हो ।

‘बस्ती बसेदेखि श्रीलंका टापुका बासिन्दाका लागि बिजुलीका लागि पहल भए पनि बल्ल सार्थकता पाएको छ,’ गाउँले समक्ष भेटघाट गर्न पुगेका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘म कम बोल्न र धेरै काम गर्न रुचाउने मानिस हुँ, यहाँका जनतालाई झुटो आश्वासन दिएर मैले कुनै स्वार्थ लिनु छैन, त्यसैले पनि यो क्षेत्रका जनतालाई राहत महसुस हुने काम गर्ने तयारीमा छु ।’

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी