काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको छ । नयाँ उचाइ ८८४८.८६ मिटर पुगेको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।
यसअघि मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजिकन गर्न स्वीकृति दिएको थियो ।
सगरमाथाको उचाई मापन कार्य आर्थिक वर्ष २०६४/०६५ बाट सुरु भएको थियो । १३ वर्ष लामो मापन कार्य सम्पन्न भएर औपचारिक रुपमा घोषणा गरिएको हो । पहिलोपटक सरकारले आफ्नै देशको स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ । सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।
सन् २०१९ मा चिनका राष्ट्रपती सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए । यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्भे अफ इन्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८४८ मिटर मानिँदै आएको छ ।






