नेकपा विवाद : ओली–दाहाल मिलनबिन्दु खोजी गर्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किएको बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार महत्वपूर्ण भेटघाट र छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा ठोस सहमति नभए पनि दुवै अध्यक्ष विवाद समाधानको मिलनबिन्दु खोज्नुपर्नेमा सहमत भएको बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव खारेज हुनुपर्ने अडानमा छन् । तर दाहालले सो प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा समेत पेस गरेपछि पार्टीभित्रको विवाद झन् चर्किएको हो ।

दुई अध्यक्षबीच लामो समयदेखि छलफल नहुँदा कतिपय विषयमा मनमुटाव भए पनि उहाँहरूबीच सुरु भएको छलफलले विवाद समाधानको सूत्र खोज्ने विश्वास पलाएको छ ।

देवेन्द्र पौडेल
स्थायी कमिटी सदस्य, नेकपा

पार्टीभित्रको विवाद चर्किएको बेला दुई अध्यक्षबीच छलफल हुनु आफैंमा सकारात्मक विषय रहेको नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले बताए । दुई अध्यक्षबीच लामो समयदेखि छलफल नहुँदा कतिपय विषयमा मनमुटाव भए पनि उहाहरूबीच सुरु भएको छलफलले विवाद समाधानको सूत्र खोज्ने विश्वास पलाएको पौडेलले बताए ।

गत शनिबार स्थायी कमिटी बैठक बसे पनि प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् । दाहालले पेस गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै ओलीले त्यसमा छलफल गर्नै नसकिने अडान लिँदै आएका छन् । स्थायी कमिटीको बैठक २८ मंसिरका लागि तोकिएको छ । त्यसअघि नै दुई अध्यक्षका बीचमा छलफल गरेर विवाद समाधान गर्दै साझा मिलनबिन्दुको खोजी सुरु भएको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको संकट समाधानका लागि आन्तरिक र अनौपचारिक छलफल तथा गृहकार्य जारी नै रहने स्थायी कमिटीको निर्णयअनुसार शीर्ष नेताहरू अगाडि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान आफ्नो लिखित पत्रमार्फत स्थायी कमिटीलाई जानकारी गराइसकेका छन् । दुवै अध्यक्षले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि दुवैलाई खारेज वा स्थगित गरी साझा प्रस्ताव तयार गर्नुपर्ने अडान ओलीको छ ।

स्थायी कमिटीको बैठक २८ मंसिरका लागि तोकिएको छ । त्यसअघि नै दुई अध्यक्षबीच छलफल भई विवाद समाधान गर्दै साझा मिलनबिन्दुको खोजी सुरु भएको हो ।

तर अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले दुवै प्रस्तावमा छलफल हुने र पार्टी बैठकले गर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने अडानमा छन् । पार्टीका शीर्ष नेता नै आआफ्नो अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ ।

महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही नेताहरूको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण पार्टीमा संकट निम्तिएको आरोप ओलीले आफ्नो पत्रमार्फत यसअघि नै लगाएका छन् ।

तर, दाहाल–नेपाल समूहले ओली पार्टी र सरकार सञ्चालनमा असफल रहेको भन्दै नेतृत्व परिवर्तन हुनुपर्ने आन्तरिक तयारीमा रहेका छन् । पार्टीभित्र सुरु भएको यस्तो बहसले पार्टी नै विभाजन हुने चिन्ता आम नेता कार्यकर्तामा रहेको छ ।

यसैबीच नेकपाभित्र विवाद चर्किंदै गएपछि चीनको सक्रियता बढेको छ । नेपालका लागि चीनका राजदुत होउ यान्छी गोप्य भेटघाटमा सक्रिय भएकी छन् । पार्टीभित्रको विवाद समाधान गरी सहमतिमै अगाडि बढ्नुपर्ने सुझाव दिँदै राजदूत यान्छीले पार्टी एकता कायम राख्न दबाब दिँदै आएकी छन् ।

यसअघि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालसहितका शीर्ष नेतालाई निवासमै पुगेर भेटेकी राजदूत यान्छीले पछिल्लो समय गोप्य रूपमा भेटघाट गरिरहेको स्रोतको दाबी छ । शीर्ष नेतालाई भेटेर उनले पार्टी एकता जोगाउन तथा सहमतिमै अगाडि बढ्न सुझाव दिएको स्रोतको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष