बाबुकै प्रतिस्पर्धी हराउँदै सुहाङको संसद् यात्रा

इलाम । नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो ।

एमालेका उपाध्यक्षसमेत रहेका बाबु सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बाबुको विरासत जोगाउँदै उनको संसद् यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका थिए ।

२०७९ सालको निर्वाचनमा खड्का नै यस क्षेत्रबाट उम्मेदवार थिए । त्यतिबेला उनलाई पराजित गर्ने उम्मेदवार पनि सुहाङकै बाबु एमाले नेता सुवासचन्द्र नेम्वाङ थिए । त्यस निर्वाचनमा भने तत्कालीन सत्ता गठबन्धनका खड्का झिनो मतान्तरले पराजित बनेका थिए । सुवासले ३० हजार २० मत ल्याउँदा डम्बरले २९ हजार ९ सय ६ मत ल्याएका थिए । उनीहरूको मतान्तर १ सय १४ थियो । अहिले उनै खड्का सुवासका कान्छा छोरा सुहाङसँग फराकिलो मतान्तरले पराजित भएका हुन् । खड्का २०७४ सालको निर्वाचनमा पनि इलाम क्षेत्र २(१) मा एमाले उम्मेदवार रामबहादुर रानासँग पराजित भएका थिए ।

१६ जनाको जमानत जफत
इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका १९ उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनीहरूको धरौटी गुमेको हो । १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेकामा नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम मात्र जमानत जोगाउन सफल भए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्थानुसार कुल सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत १० दल र ६ स्वतन्त्र उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन् ।

यस क्षेत्रमा कुल सदर मत ६९ हजार ३ सय ७४ छ । यसको १० प्रतिशत ल्याउन ६ हजार ३ सय हाराहारी चाहिन्छ । रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत मात्र ल्याए । राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले ४ सय ४, जनमत पार्टीका प्रेम थाम्सुुहाङले १ सय १८, नेकपा (एस)का जितबहादुर राईले ४ सय ८, नेपाल मजुदर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, मंगोल नेसनल अर्गनाइजेसनका मणि लिम्बुले ८ सय १६ मत मात्र ल्याएर धरौटी गुमाए ।

त्यस्तै, राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल जनता दलका रेशबहादुर सुनुवारले २ सय ६, नेसनल रिपब्लिकन नेपालका धन रानामगरले ३६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम साहले ४३ मत ल्याए । उनीहरूको पनि धरौटी बचेन । स्वतन्त्र उम्मेदवारहरू अर्जुनविक्रम शाहीको ५५, डाकप्रसाद गौतमको १४, दीपेश बोहोराको २१, मनोज निरौलाको १२, योगेन्द्र गुरुङको ४ र राज बस्यालको ३८ मत आएको छ । उनीहरू सबैले धरौटी गुमाएका छन् ।

सुहाङलाई बधाई दिन ओली इलाममै
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम आइपुगेका छन् । इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयसभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् । इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिए ।

को हुन् सुहाङ ?
सुहाङको जन्म ६ फागुन २०४६ मा बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट १२ कक्षासम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया गए । त्यहाँ २ वर्ष बसेर उनी नेपाल फर्किए ।

स्वदेश फर्केर उनले काठमाडौं स्कुल अफ लबाट कानुन संकायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङले पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए । सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कुले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनथाले ।

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’समेत स्थापना गरे । पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेसाले अधिवक्ता सुहाङ सरल, शालीन र नरम स्वभावका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैं केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए । यद्यपि, उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदानसमेत गरेका थिएनन् । आफ्नै बुबा उमेदवार हुँदासमेत मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनले मतदान गर्न पाएका थिएनन् ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि नभएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर, बुबा (स्व. सुवासचन्द्र नेम्वाङ)को अप्रत्याशित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद् छिर्ने अवसर पाएका छन् ।

बुबालाई सम्झँदै…
बुबाले कहिल्यै पनि आफूलाई आफ्नो प्रभावमा सरकारी जागिर नखुवाउने बताउनेगरेको उनी सम्झिन्छन् । व्यक्ति आफैं सक्षम बन्नुपर्छ भन्ने बुबाकै प्रेरणाले आफूले कहिल्यै पनि बुबाको ‘पहुँच’मा ‘आड’ नलिएको सुहाङ बताउँछन् ।

३५ वर्षे जीवनकालमा बुबासँग नौपटक मात्र दसैं–तिहारजस्ता चाडपर्व मनाएको स्मरण गर्छन् उनी । ‘अरूबेला बरु सँगै हुन्थ्यौं, टिभीमा फुटबल हेर्दासमेत बुबा र म सँगै नै बस्थ्यौं,’ उनले भने, ‘तर, किन हो को नि यतिका वर्ष बुबासँगै दसैं मनाउने अवसरचाहिँ नौपटक मात्रै मिलेछ ।’ बुबाको जीवन मुलुक परिवर्तन र पार्टीका लागि बितेको उनले सुनाए ।

जनताका मुद्दा प्राथमिकतामा
विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका उम्मेदवारहरूले उठाएका सबै मुद्दा इलामको नागरिकका साझा भएको सुहाङ बताउँछन् । ‘एकपटक सबै उम्मेदवारसँग बसेर छलफल गर्न मन छ, उहाँहरूले उठाउनुभएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्नु छ,’ सुहाङ भन्छन्, ‘इलाममा काम नभएका त होइनन्, तर कहाँकहाँ हाम्रा कमजोरी भए भनेर सल्लाह गर्न ढिलो हुन लागिसकेको छ, अधुरा योजना कसरी पूरा गर्न सकिन्छ ? ती काम मैले गर्नुपर्छ ।’

इलाम–२ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरण अर्को समस्या देखिएको उनको बुझाइ छ । शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा गर्नुपर्ने काम उनका प्राथमिकतामा छन् । ‘यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्या पाइएको छ,’ उनी भन्छन्, ‘भोट दिने आशीर्वाद लिन जाँदा गाउँघरका बुबा–आमा, दाजुभाइ, दिदी–बहिनीले झारेको आँसुको ऋण तिर्नु छ ।’

अब इलामबाट टाढा जान नसक्ने भन्दै सुहाङले नीति निर्माणमा निर्वाह गर्ने भूमिका रहे पनि जिल्लावासीका काम र योजना प्राथमिकतामा रहने बताए । इलामवासीलाई सधैं शिरमा राखेर काम गर्नेछु,’ उनले भने, ‘कतिपय काम काठमाडौं वा माथिल्ला निकायबाटै गर्नुपर्ने हुन्छ, इलामबाहिर जानु–आउनुर्छ, तर म सधैं इलामवासीसँगै हुन्छु, हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई मात्र होइन, इलामलाई नै एक परिवार सम्झिनुहुन्थ्यो, मैले भुलेको छैन, इलामवासी सबैलाई एउटै मालामा बाँध्ने उहाँको सपना मैले पूरा गर्नुछ ।’ अहिले आफूलाई पनि इलाम नै आफ्नो परिवारझैं लाग्नेगरेको सुहाङ सुनाउँछन् । ‘बुबाले आफ्नो पार्टीलाई माथि उठाउनुभयो, यहाँका बासिन्दाले बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशीर्वाद दिनुभयो, यस निर्वाचनमा सहभागी हुने इलाम–२ का सम्पूर्ण मतदातालाई धन्यवाद भन्छु, निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र मेरो पार्टी पंक्तिलाई नमन गर्छु, हरेक पल नागरिकमा सूचना दिन खटिरहने प्रिय सञ्चारकर्मीलगायत सबैलाई हार्दिक धन्यवाद ।’

तपाइको प्रतिक्रिया
(Visited 590 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज