अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले कुनै अमुक व्यक्तिको लागि अमुक उद्देश्यले संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद र लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट संविधानमाथि आक्रमण प्रयासको दृश्य देखिएको सुनाए । उनले भने,‘हुन त यो सरकार बन्दै गर्दापनि वर्तमान प्रधानमन्त्री संवैधानिक बाटोबाट आउन चाहनुभएन, अलि अलि संविधान मिच्ने काम त्यतिबेला भएकै हो । यो कुरा मैले त्यतिवेला यही रिपोर्टर्स क्लबमा पनि भनेको थिएँ, केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बन्नुभयो । तर, उहाँले प्रतिनिधिसभाको सदस्यको प्रमाणपत्र फागुन २० गतेमात्रै प्राप्त गर्नुभयो, अनि संसदीय दलको नेता चाहीँ फागुन २५ गते बन्नुभयो ।’

साक्षात्कारमा बोल्दै उनले कुनै अमुक व्यक्तिको लागि संविधान संशोधनको कुरा गर्नु नै हाँस्यास्पद भएको कडा टिप्पणी गर्दै यदि त्यो प्रयत्न भए आफ्नो पार्टीले डटेर सामना गर्ने स्पष्ट पारे । उनले भने,‘लोकतन्त्र भनेको विधि, विधान र विवेकले चल्ने हो । संविधान संशोधनको पर्दाभित्र खिचडी पाकिरहेको छ ।’ उनले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नभएको स्पष्ट पारे । उनले भने,‘कांग्रेस राजपालगायतका जायज माग पूरा गराउनको लागि सकारात्मक छ । संविधानसभा रहँदै हाम्रो पार्टीले संविधान संशोधनको प्रस्ताव दर्ता गराएका थियौं, तर, अहिलेका प्रधानमन्त्रीको नेतृत्व रहेको तत्कालिन् नेकपा एमालेले समर्थन गरेन । त्यतिवेला संविधान संशोधन हुन सकेन् ।’

अमुक व्यक्तिलाई अमुक पदमा पुर्याउन र नेकपाले आन्तरिक रुपमा व्यक्ति व्यवस्थापनको लागि संविधान संशोधनको कुरा गर्नु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘यस्तो प्रयत्न गर्नु स्वयम त्यो दलको लागि पनि अहित छ । यो त अन्तर्राष्ट्रिय जगतमा पनि उपहासको विषय हो ।’

कांग्रेस नेपाली जनताको हित र देशको हितमा हुने संविधान संशोधनको लागि साझा मागलाई सम्बोधन गर्न तयार हुने उनको भनाई छ । उनले भने,‘कुनै अमुक व्यक्तिलाइ अमुक पदमा पुर्याउनको लागि हुने संविधान संशोधन प्रस्ताव नै हामी दर्ता हुन दिँदैनौं, यदि भैहाल्यो भने हामी डटेर सामना गर्न तयार छौं । हामी नेकपाले तयार पार्ने यस्तोखालको संविधान संशोधनको खिचडीको विरुद्धमा छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म