काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘माया बस्छ कि के हो ?’ को फस्र्टलुक राजधानीमा एक समारोहबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सार्वजनिक गरेका छन् । राजु अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रलाई अब सिनेमा हल खुलेपछि रिलिज गरिने भएको छ ।
कार्यक्रममो यो चलचित्रको शीर्ष गीत ‘माया बस्छ कि के हो…’ को भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोलाई साइराम पिक्चर्सको युट्यबमार्फत सार्वजनिक हुने जानकारी दिइएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको सो गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला प्रमुख भूमिकामा रहेको यो चलचित्रको फस्ट लुक्समा यी दुईलाई समेटिएको छ । यो चलचित्रको कथा आरती अधिकारीले लेखेकी हुन् ।
कार्यक्रममा निर्देशक अधिकारीले आफूहरू गुणस्तरिय फिल्म निर्माणको पक्षमा रहेको बताउँदै ‘माया बस्छ कि के हो ?’ उत्कृष्ट बनाएको दाबी गरे । यो चलचित्रको बेल्जियम, स्विजरल्यान्ड र नेदरल्यान्डका विभिन्न स्थानमा छायांकन गरिएको छ ।
यो चलचित्रमा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ ।