म्युनिख । यौस्सोफा मौकोको बोरुसिया डर्टमुन्डको सिनियर टोलीबाट ‘डेब्यु’ गोल र जर्मन बुन्डेसलिगाकै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यद्यपि उनले गोल गरे पनि बोरुसिया डर्टमुन्डले युनियन बर्लिनसँग २–१ को हार बेहो-यो ।
मौकोकोले डर्टमुन्डको सिनियर टोलीबाट पहिलो गोल गरेका हुन् । यससँगै उनी बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष २८ दिनको उमेरमा बुन्डेस लिगामा गोल गरेका हुन् । १६ वर्षको उमेरमा २२ नोभेम्बर २०२० उनले हर्था बर्लिनमाथि ५–२ को जित निकालेको खेलमा डेब्यु गर्दै बुन्डेस लिगाकै कान्छा खेलाडी बनेका थिए । उनले बुन्डेसलिगामा ६ खेल र च्याम्पियन्स लिगमा एक खेल खेलेका छन् । उनी च्याम्पियन्स लिग खेल्ने कान्छा खेलाडीसमेत हुन् ।
बर्लिनमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको ५७औं मिनेटमा ताइओ एओनीयीको गोलबाट अग्रता लिएको थियो । पहिलोपटक पहिलो रोजाईमा मौका पाएका मौकोकोले ६०औं मिनेटमा राफायल गुरेइरोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ७८औं मिनेटमा मार्भिन फ्रेडरिचले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । खेलमा पछि परेपछि डर्टमुन्डले बल पोसेसनमा पकड बनाउदै घरेलु टोलीलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा डर्टमुन्डले हार बेहोर्न बाध्य बन्यो । यो हारसँगै डर्टमुन्डले शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने अवसर गुमाउँदा २२ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । शीर्षस्थानको बायर लिभरकुसनको २८ तथा दोस्रो र तेस्रो स्थानको बायर्न म्युनिख र आरबी लाइप्जिगको समान २७ अंक छ । यद्यपि यी शीर्ष टोलीले एक खेल कम खेलेका छन् । डर्टमुन्डलाई हराएको युनियन बर्लिन २१ अंक जोडेर पाँचांै स्थानमा उक्लिएको छ ।






