झापा । सशस्त्र प्रहरी बलको झापास्थित तत्कालीन पाथीभरा गणले आफूले भोगाधिकार लिएको पाडाजुलीस्थित जग्गा सुकुमबासीलाई भोगचलन गर्न दिएर झन्डै १५ वर्षसम्म रकम असुल्दै आएको खुलेको छ । सुकुमबासीलाई उनीहरू बस्दै आएको जग्गामा स्थायी रूपमा बस्ने वातावरण मिलाउने आश्वासन दिँदै बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँका दरले ५२ घर परिवारबाट रकम असुलेको खुलासा भएको हो । असुल गरिएको रकमको कुनै हिसाब राखिएको छैन । असुल गरिएको रकम तत्कालीन गणपतिहरूले लिने गरेको पाइएको छ ।
सुकुमबासीको बसोबास रहेको जग्गालाई गोपी पोखरेलले आफ्नो भएको दाबी गर्न थालेपछि सुकुमबासी परिवारले यो रहस्य खोलेका हुन् । यद्यपि पछिल्ला दिनमा भने सशस्त्र प्रहरीका अधिकारीले आफू फस्न सक्ने भन्दै सुकुमबासी परिवारबाट रकम नलिएको कागजात जबर्जस्त बनाउन लगाएको पनि खुलेको छ । पाथीभरा गण बस्दै आएको सो ठाउँमा अहिले जवान तालिम शिक्षालय र ३८ नम्बर गण रहेका छन् ।
२०६० सालमा तत्कालीन माओवादी विद्रोहीको गतिविधि उत्कर्षमा रहेको बेला सशस्त्र प्रहरी बलले तत्कालीन पाथीभरा गणका लागि रतुवामाई वृक्षरोपण आयोजनाको ८० बिघा जमिन भोगाधिकारका रूपमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीले सो जग्गामा बाहिरी घेरा राखेर सुकुमबासीहरूलाई भोगचलन गर्न दिएको थियो । ती सुकुमबासीले बसोबासका साथै खेतीपाती पनि गरेका थिए । खेतीपाती गरेको भन्दै सशस्त्र प्रहरी बलले बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँको दरले १५ वर्षसम्म रकम असुल गरेको हो । यो कार्य २०७५ सालपछि भने बन्द गरिएको थियो ।
सो जग्गामा बस्दै आएकी नन्दमाया तामाङ र अम्बर प्रधान आफूहरूले वार्षिक रूपमा गणलाई रकम बुझाउने गरेको बताउँछन् । ‘खेतीपाती गर्न दिएको रकम चाहियो भन्दै हरेक वर्ष गणबाट मान्छे आउँथे । हामीले बिघाको १० देखि १५ हजार रुपैयाँका दरले बुझाउने गरेका थियौं,’ अम्बर प्रधान भन्छन् ।
सुकुमबासीहरूले वार्षिक रूपमै रकम बुझाउने गरेको भए पनि रकम लिएको कुरा कसैलाई नभन्न सशस्त्र प्रहरीका अधिकारीले दबाब दिँदै आएका थिए । उनीहरूले पछिसम्मै जग्गामा बस्ने वातावरण मिलाइदिने भन्दै रकम लिएको कुरा नभन्न दबाब दिएको खुलासा भएको छ ।
रकम उठाउन लामो समयसम्म गणबाट राजकुमार राई भन्ने व्यक्ति आउने गरेको उनीहरूको भनाइ छ ।
२०६० सालदेखि ७५ सालसम्म सूर्यकुमार श्रेष्ठ, नरेश कार्की, बालकुमार श्रेष्ठ, गणेश ठाडा मगर, राजेन्द्र शाक्य, रामकृष्ण लामा, अजय सिंह, भरतबाबु कार्की, प्रेमराज पोखरेल र विदुर खड्का सो गणको गणपति रहेका थिए । तीमध्ये अधिकांशले अवकाश पाइसकेका छन् । सो गणको गणपति रहेका पोखरेल यही पुस मसान्तमा अवकाश पाउँदै छन् ।
उता गणले भोगचलन गर्दै आएको जग्गामा तत्कालीन गणपति गणेश ठाडा मगरले काबेली जलविद्युत् आयोजनाको हाई टेन्सन लाइनको टावर राख्न दिएका थिए । फायरिङ रेन्जको माथिबाट हाई टेन्सन लाइन राख्न दिइएको थियो ।

सो गणबाट हाई टेन्सन लाइनको टावर राख्दा जलविद्युत् आयोजनालाई आर्थिक रूपमा पनि २ करोड रुपैयाँभन्दा बढी सस्तो पर्न गएको थियो । आर्थिक फाइदा लिएर हाई टेन्सन लाइन राख्न दिएको तत्कालीन गणपति ठाडा मगरमाथि आरोप लाग्दै आएको छ ।






