काठमाडौं । भूपेन्द्रविक्रम थापाको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) को लुम्बिनी प्रादेशिक फुटबल संघ गठन भएको छ । बिहीबार एक कार्यक्रमका बीच थापाको नेतृत्वमा १३ सदस्यीय प्रादेशिक फुटबल संघ तदर्थ समिति गठन भएको हो । प्रदेशको उपाध्यक्षमा अजितराज भण्डारी, भीमकाजी गुरुङ र सूर्यमणि अधिकारी छन् ।
महासचिवमा रूपन्देहीका लोक पुनः निर्वाचित भए । यस्तै, सचिवमा सुरेन्द्रमान कर्माचार्य र कोषाध्यक्षमा सन्जात धिताल चुनिएका छन् । सदस्यमा होम क्षेत्री, कृण्णराज शाक्य, अनिलकुमार शाक्य, सुदीप राना, शिव श्रेष्ठ, रामबहादुर राउत रहेका छन् । संघीय संरचना अनुसार एन्फाले प्रदेश कमिटी गठनलाई तीव्रता दिएको छ । यो तदर्थ समितिले प्रदेश संघको विधान निर्माण र नयाँ कार्यसमिति चयन गर्नेछ । एन्फाले अब गण्डकी र बागमतीमा प्रदेश कमिटी गठन गर्न बाँकी छ ।
यसैबीच एन्फाले नेपालगन्जमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला फुटबल संघसँग प्रदेश फुटबल संघ र विधान’bout छmफल गरेको छ । विधान समितिका संयोजक तथा एन्फाका प्रवक्ता किरण राईको अध्यक्षतामा भएको छलफलमा ३ प्रदेशका १० जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
छलफलमा जिल्ला अध्यक्षहरुले विधान संशोधनमा आफ्नो सुझावहरु दिदा त्यसलाई अनुमोदन गरिने संयोजक राईले बताएका छन् । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा एन्फाका केन्द्रिय सदस्य दीर्घबहादुर केसी पनि उपस्थित थिए । यस विषयमा प्रदेश १ मा छलफल भइसकेको छ ।






