सांगीतिक कार्यक्रमबीच नयाँ वर्षको स्वागत

कोरोना वर्ष सन् २०२० बिर्संदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष–२०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा उपस्थित सयौंले नयाँ वर्षको आपसमा शुभकामना साटासाट गर्दै स्वागत गरेका हुन् ।

कोरोनाका कहरमा लामो समयदेखि सुस्ताएको पोखरामा अंग्रेजी नयाँ वर्षमा भने यसपटक चहलपहल र भिडभाड बढेको छ । नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिन शुक्रबार पोखरामा थुप्रै सांगीतिक कार्यक्रमहरू भएका छन् । यहाँ फेरि कन्सर्टसँगै सांगीतिक माहोल फर्किएको छ ।

नयाँ वर्षको अवसरमा आयोजक रेवान पोखराले पनि महोत्सव अवसरमा नयाँ वर्ष इभको स्वागतमा विविध सांस्कृतिक कार्यक्रम पस्केको थियो । गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा चार वटा स्टेजमा विविध कार्यक्रममा दर्शकले कोरोना भुल्दै रमाएको महोत्सव संयोजक वसन्त गौतमले बताए । चार स्टेजमध्ये एकमा गन्धर्व समूहको प्रस्तुति तथा अन्य तीनमा विशुद्ध मौलिक संस्कृति, वेशभूषा, कला संस्कृति झल्किने विभिन्न जातजातिको नाचगान प्रस्तुत भएको हो ।

पोखरामा विगत २२ वर्षदेखि निरन्तर आयोजित पोखरा सडक महोत्सवलाई कोभिड–¬१९ प्रभावबीच पनि निरन्तरता दिइएको हो । बुधबारदेखि सुरु महोत्सव शुक्रबा अबेर रातसम्म चलेको थियो । महोत्सवमा विदेशी पर्यटकको उपस्थित हुन नसके पनि आन्तरिक पर्यटकको भरमै कोरोनाबाट थला परेको पर्यटन व्यवसाय केही भए पनि उकास्ने कोसिसमा आयोजक रेवान पोखरा लागिपरेको अध्यक्ष लक्ष्मण बरालले बताए । महोत्सवमा विभिन्न कलाकार आफ्ना चर्चित गीतहरू पस्केर दर्शकलाई नचाए ।

महोत्सवकै छेको तथा नयाँँ वर्ष सन्दर्भमा विभिन्न होटल, रेस्टुरेन्ट तथा रिसोर्टले सांगीतिक कार्यक्रम पस्किएका छन्् । फेवाताल किनार पोखरा–१८ सेदीस्थित दी कल्चर रिसोर्टले चर्चित गायिका इन्दिरा जोशीलाई निम्तायो । न्यु इयर सेलिब्रेसनमा गायिका जोशीले चर्चित गीत पस्किएको रिसोर्टका प्रबन्ध निर्देशक प्रकाश कार्कीले जानकारी दिए । सो अवसरमा लोकल ब्यान्ड, डिजे सेसन, बीबीक्यू प्रस्तुत भयो ।

यस्तै, पोखराको होटल बाराहीले नयाँ वर्ष स्वागतमा डिजे सेसन चलायो । बाराहीचोकस्थित सो होटलमा पाहुनाको स्वागतका लागि गाला डिनरसहित डिजे सेसन भएको सञ्चालक विप्लव पौडेलले जानकारी दिए ।

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा अदृश्य किरण ब्यान्डसहित डिजे सेसन भएको होटलका सेल्स एन्ड अपरेसन डिपार्टका डाइरेक्टर किरण तुलाधरले बताए । सो अवसरमा पाहुनाले नयाँ वर्षको स्वागत गरेका थिए ।

बाराहीचोकको बगैंचा रिसोर्टले लाहुरे ब्यान्ड बोलायो । प्रस्तुतिमा युवा जमात झुम्दै नयाँ वर्षको स्वागत गरे ।
पाँचतारे पोखरा होटल ग्रान्डमा भने विगतमा जस्तो यसपालि कुनै सांगीतिक कार्यक्रम भएनन् ।

पोखरा होटल ग्रान्डका महाप्रबन्धक रोशन खवासले कोरोना कहरका कारण यसपालि विगतमा जस्तो कार्यक्रमलाई निरन्तरता दिन सकेनौं, आगामी वर्ष सहज हुनेबित्तिकै यसप्रकारका कारण चल्नेछन् । सांगीतिक कार्यक्रम नभए पनि आएका पाहुनाले नयाँ वर्षलाई आआफ्नो ढंगले भव्य रूपमा स्वागत गर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता