तुलसीपुर । पार्टी एकतापछि सुतेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दुई समूहमा विभाजनपछि दाङमा जागेको छ । पार्टी एकता भएको लामो समयसम्म निष्कृय जस्तै बनेको नेकपा दुई समूहमा विभाजन पछि आ–आफनो पक्षलाई बलियो बनाउन र देखाउन संगठन निर्माणदेखि भेला र आमसभामा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रकाबीच २०७५ जेठ ३ गते एकता भएको थियो ।
केपी समूह दाङमा संगठन निर्माणमा अघि देखिएको छ भने उसको पछिपछि दहाल–नेपाल समूह विरोध सभा र भेला र बैठक गर्दै अघि बढेको छ । संसद विघटनलाई प्रतिगमनको संज्ञा दिएको–दहाल नेपाल समूहले विरोध प्रर्दशन, पुत्लादहन, मसाल जुलुस, ज्ञापनपत्र बुझाउनेदेखि संघषका कार्यक्रम लगेर गाउँ–गाउँसम्मपुगेको छ ।
ओली समूहले जिल्लामा ५५५ जनाको जिल्ला कमिटी गठन, पालिका स्तरीय कार्यक्रम, जनसभा र वडा स्तरका भेला र संगठन निर्माणमा जुटेको छ । केपी समूहका दाङ जिल्ला कमिटी अध्यक्ष हुकुम बहादुर बस्नेतले पार्टी एकताको मर्म र उद्देश्य अनुरुप भन्दा पनि पुष्पकमल दहाल प्रचण्ड गुटर उपगुटमा लागेका कारण पार्टीको संगठन निर्माणले गति लिन नसकेको बताए ।
यता दहाल नेपाल समूहका जिल्ला सचिव सुवाश पुनले विगतमा आन्तरिक रुपमा काम गरेको दाबी गरे । ‘हामीहरुले विगतमा पनि संगठन निर्माणको काम गरिहेका थियौ,’ सचिव पुनले भने–‘अहिले जस्तो चर्चामा मात्र नआएको हो ।’
निर्वाचनको समयमा मात्रै गतिशिलता देखिने पार्टी हिजोआज चुनाव नहुँदा पनि गाउँदेखि शहर तताई रहेका छन् । केही नागरिक अगुवाहरुले भने यसलाई परक दृष्टिकोणले अर्थयाउने गर्छन् । पार्टीभित्रको अन्तर द्धन्द्धले नै पार्टीलाई चलायमान गराउने गरेको नागरिक अगुवा टिकाराम रेग्मीको भनाई छ ।
‘खासगरी अन्य समयमा पनि गाउँमा पुगेर पार्टीको धारना, दृष्टिकोणका विषयमा छलफल र बहस गरेर आम कार्यकर्तालाई प्रशिक्षित र गलत कामका विरुद्ध खबरदारी गर्नुपर्ने हो,’ नागरिक अगुवा रेग्मीले भने–‘तर यहाँ त्यस्तो नभई नेताहरुले जनता र कार्यकर्तार्ला आफुअनुकूल प्रयोग गर्नेछर्न ।’






