कथाकार शोभा ज्ञवालीले खोजेको एउटा पूर्ण आकाशको कथाचित्र हो, ‘सम्पूर्ण आकाश’ कथा संग्रह । नारी संवेदना, समानता, सहअस्तित्व र सहभागिताको कोणबाट विषय बस्तुलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गर्न सिपालु कथाकार शोभा ज्ञवालीको नयाँ कथाकृति ‘सम्पूर्ण आकाश’मा समाज’roundकै यावत विषयवस्तु समेटिएका छन् ।
कथाकार आफैं महिला भएर आफैंले भोगेका, देखेका र अनुभूत गरेका अनुभूतिलाई कथा मालामा सहज रूपमा उनिएको छ । संग्रहभित्रका कथाका फूलहरू फरक रुप रंगका छन् । तिनै भिन्नभिन्न फूलका सुबासना पाठकले मज्जाले महसुस गर्न सक्छन् ।
सुरुवातबाटै कथाले पाठकको मन यसरी तान्छ कि, कथा पढेपछि कसरी टुंगिन्छ ? भन्ने जिज्ञासा स्वभाविक रूपमा आइरहन्छन् । जसले गर्दा कथा नपढी किताब थन्क्याउनै मन लाग्दैन ।
सहरिया परिवेश, सहरिया जीवन शैलीका कथा व्यथालाई लैंगिक रूपमा महिलावादी दृष्टिकोणबाट प्रस्तुत गरिएका सग्ला कथाहरू छन्, ‘सम्पूर्ण आकाश’ कथा कृतिमा । मायाप्रेमका सन्दर्भदेखि समसामयिक सामाजिक परिवेशका विषयबस्तुसमेत अटाएका छन्, कथामा । संग्रहभित्रका विभिन्न २५ शीर्षका कथा सबै ओजपूर्ण छन् ।
पहिलो माया शीर्षक कथाबाट सुरु भएर अन्तिम निर्णय कथामा पुग्दा संग्रह सम्पूर्ण कथा सकिन्छन् ।
कृतिभित्रको पहिलो माया कथाले मुख्य पुरुषपात्र रमेशमार्फत् यौवना नारीमाथिको पुरुष दृष्टिको उजागर गर्ने प्रयास गरेको छ । विवाहलाई सामान्य रूपमा लिँदै पटकपटक विवाह गर्ने रमेशको चरित्र देखाउँदै कथाकारले महिलालाई खेलौनाको रूपमा लिएर व्यवहार गर्ने प्रवृत्ति प्रस्तुत गरिएको छ । यो प्रवृत्तिले निर्दोष नारी मनको अटुट प्रेममाथि धावा बोल्ने पुरुष प्रशस्तै छन् भन्न अप्ठेरो पर्दैन ।
कृतिः ‘सम्पूर्ण आकाश’
विधाः कथा
सम्पादनः रघुनाथ लामिछाने
प्रकाशकः मञ्जरी पब्लिकेसन्स
पहिलो संस्करणः २०७७
आज पनि कैयन नारी कलुषित सोचका शिकार कैयन भइरहेका हुन्छन् भन्ने यथार्थ कथाले देखाउन खोजेको छ ।
प्रेम, विवाह र त्यसपछिका पारिवारिक सम्बन्धले नै जीवनयात्रामा सहजता थप्नुपर्ने हो तर कथामा नारीलाई उपभोग्य वस्तुका रूपमा लिने रमेशले अचानक भेटिन पुगेकी पहिलो प्रेमिकालाई तेस्रो श्रीमति परिचित गराउँछन् । यसबाट अनुमान गर्न सकिन्छ कि उसले अझै कति महिलाको जीवन बर्बाद पार्ने हो भनेर । यसरी यो कथा रोचक र समाजमा व्यक्त पुरुष चरित्रको वरिपरि घुमेको छ ।
सम्पूर्ण आकाभित्रका कथामा नेपाली समाजको दैनिकीसँग जोडिएका विषय टपक्क टिपेर प्रस्तुत गरिएको छ । प्रेमलाई शुसभ्य रूपमा उठाउने प्रयासस्वरुप लेखिएका प्रेमिल कथाहरू पनि कृतिभित्र अटाएका छन् । ती कथा निकै रोचक लाग्छन् ।
महिलालाई विवाहअगाडि हजार सपना देखाउने पुरुषले गर्ने व्यवहार पनि कथामा झल्किन्छ । सम्पन्न परिवारकी छोरी सुजातालाई दाइजो कम ल्याएको भनेर विभिन्न दबाब दिइएको सन्दर्भ नलेखिएको प्रेमकथाले उजागर गरेको छ ।
अझै पनि समाजमा दाइजो नल्याएका कारण कैयन बुहारीहरू जिउँदै जलेका छन्, कुटिएका छन् र मानसिक र शरीरिक यातना खेप्न बाध्य हुने गरेका छन् ।
पछिल्लो समय त सहरमा दाइजोले यसरी जरो गाड्न थालेको छ कि घुमाउरो रूपमा विवाहमा दाइजो प्रसस्त लिने दिने चलन बढेको छ । यस्तो प्रचलन बढ्दै गयो भने महिलालाई असल जीवन साथीका रूपमा भन्दा पनि किनबेच गर्ने साधनका रूपमा हेरिने हो कि भन्ने चिन्ता कथामा गरिएको छ ।
समाजमा रहेका थुप्रै विकृतिलाई उजागर मात्रै गरेका छैनन्, त्यस्ता विकृतिविरुद्ध सकारात्मक परिवर्तनको अपेक्षा पनि कथाले गरेको छ ।
रेडरोज गाउँले परिवेशको मध्यम वर्गीय परिवारमा जन्मिएर शिक्षाका लागि शहर ल्याइएकी छोरीको जीवन नजिक रहेको कथा हो । उनले मन पराएर पनि आफ्नो हुन नसकेको समीर जागिर खोज्दै जाँदा भेटिनु उसलाई हाकिमका रूपमा मान्नुपर्ने अवस्था आउनु र अन्ततः जागरि खान मन नलाग्नुजस्ता सन्दर्भलाई कथाकारले कथामा असाध्यै मार्मिक ढंगले प्रस्तुत गरेको पाइन्छ ।
अन्तिम निर्णय कथामा हरेक आमाका कथा छन् । जीवनको उत्तरार्धमा भोगाइ र अनुभूतिलाई कलमको साहाराले बाहिर ल्याइएको छ । यसरी पढ्दा सामान्य लाग्ने विषयलाई पनि गहन रूपमा उठाएर कथात्मकता दिन सक्नु कथाकारको खुबी हो, त्यो खुबी कथाकार ज्ञवालीमा प्रसस्तै पाइन्छ । यति हुँदाहुँदै पनि कथाहरूमा अंग्रेजी भाषाको अधिक प्रयोग भएका छन् ।
प्रत्येक कथामा माथिल्लो घरानीय वर्गका परिवारमा प्रयोग हुने शव्दावलीहरू पनि प्रशस्तै भटिन्छन् । कथाकारले भाषा र शव्द छनौटमा धयन पुर्याउन सकेको भए कथाले सबै वर्गलाई समेट्न सक्थ्यो भन्ने लाग्छन् ।
जे होस्, कलमका माध्यमबाट समाजभित्रकै स–साना विषयभित्र पसेर कलम चलाउने कथाकार ज्ञवालीका ‘सम्पूर्ण आकाश’भित्रका कथाले महिला आधा आकाश होइनन् पूर्ण आकाश हुन् भन्ने भाव व्यक्त गर्न खोजेको छ ।