
अग्रज कलाकार कृष्णहरि देशार ६८ वर्षका भए । कुन बेलादेखि कुची समाउन थाले, उनलाई ठ्याक्कै हेक्का छैन । गुरु कालीदास श्रेष्ठसँग चित्रकला सिक्न उनी चापागाउँदेखि काठमाडौं बसन्तपुरसम्म तीन घण्टा लगाएर हिँडेरै पुग्थे ।
कालीदासको घरमा पुगेको पहिलो दिनमै उनलाई आदेश भयो, ‘यो झ्यालबाट देखिने दृश्य बनाऊ ।’ झ्यालबाट यस्सो चियाए, बसन्तपुर दरबार क्षेत्र उनीसामु छर्लङै देखियो । ध्यानपूर्वक ‘गुरु आदेश’ पालना गरे, कृष्णहरिले । चित्र सकियो, कालीदास दंग परे । त्यसपछि सुरु भयो, उनको औपचारिक कलायात्रा ।
‘सुरुसुरुमा हिँड्ेरै आउँथें, हिँडेरै जान्थें, आउनजानै ६ घण्टा लाग्थ्यो,’ कृष्णहरि सम्झन्छन्, ‘धेरै समय लाग्ने भएपछि बसन्तपुरमै डेरा खोजेर कलेज पढ्न थालें । गुरु कालीदासले नै कोठा खोजिदिएपछि सहज भयो ।’ केही समय कालीदासकै घरमा बिताएका कृष्णहरि त्यतिबेला दस रुपैयाँ कोठा भाडा तिर्थे । तलब थियो, तीस रुपैयाँ ।
जुद्ध कला पाठशालामा पढ्दा उनी न्यूरोडको डेरामा दुई वर्ष बसे । ‘त्यतिबेला २५ पैसाको तरकार किन्यो भने वालछ्याल हुन्थ्यो, ५० पैसाको मट्टितेलले झन्डै महिना दिन थाम्थ्यो,’ कृष्णहरि २०२४ सालतिरको डेरा जीवन सम्झन्छन्, ‘त्यो समय मैले धेरै चित्र बनाएँ, बसन्तपुर वरिरिका प्रायः चित्र क्यानभासमा उतारें । साइनबोर्ड लेख्यो भने अझ आम्दानी
पनि हुन्थ्यो ।’
ललितपुर चापागाउँले धेरै कलाकार जन्माएको छ । झन्डै पाँच दशकको अवधिमा युवापुस्ताका कलाकारले पनि आफ्नै स्थानबाट योगदान पु-याइरहेका छन् । तर, तीमध्ये भुल्नै नहुने अग्रणी कलाकार बिर्संदा गाउँको पहिचान अधुरै रहन सक्छ
कृष्णहरिको कथा लामै छ । उनले कुचीसँग मात्रै सोइनो गाँसेनन् । २०२५ सालतिर उनले ‘प्रौढ कक्षा अभियान’समेत चलाए । ललितपुर चापागाउँस्थित ज्योति विहार सत्तम थियो । प्रौढ कक्षा त्यहीँबाट सुरु भयो । तत्कालीन जिल्ला शिक्षा अधिकारी तुलसीनारायण श्रेष्ठले पाटन सौगलबाट २५ थान किताब बोकेरै ल्याएको कृष्णहरिलाई अझै सम्झना छ ।
‘चक, सिलोट र किताब बोकेर उहाँ आउनुभएको थियो,’ ठुलो कलाकार बन्ने इच्छा अधुरै छाड्न बाध्य भएको सुनाउने उनी भन्छन्, ‘पैसाकै अभावका कारण कलायात्रालाई निरन्तरता दिन सकिनँ ।’

‘बिनामोह कला सिर्जना गर्नुपर्छ’ भन्ने सिद्धान्त पाल्छन्, चापागाउँ भन्सार टोलका अर्जुन देशार । ‘अक्षर लेखन’ हुँदै कलाफाँटमा होमिएका अर्जुन ‘साइनबोर्ड’मा अब्बल मानिन्छन् । तत्कालीन कृषि सूचना शाखामा कलाकार मंगलनारायण जोशीसँगको भेटपछि उनमा ‘जागिर’ खाने आशा पलायो । तर, अर्जुनको आशा, आशामै सीमित रह्यो ।
‘कृषि विभागमा तत्कालीन कार्यकारी किरण चित्रकारको अध्यक्षतामा कलाकार माग भयो,’ ५६ वर्षीय अर्जुन सम्झन्छन्, ‘सबैमा उत्तीर्ण भए पनि केही कारणवश त्यहाँ पनि जागिर पाइनँ । त्यतिबेला कलाकार मदनकृष्ण श्रेष्ठले सिफारिस गर्दासमेत केही लागेन ।’
दुईतिरबाट जागिरबाट बञ्चित अर्जुनको ‘मुड फ्रेस’ पार्न मदनकृष्णले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा महको प्रहसन ‘विज्ञापन’ देखाउन लगे । ‘रमाइलो भयो, मनलाई केही शान्ति मिल्यो,’ उनी भन्छन्, ‘राजाको जन्मोत्सवमा ठुल्ठुला ढोका सजाउनेदेखि चित्र बनाउनेसम्ममा धेरै नै काम गरियो ।’
लगनखेलमा पसल राख्न अर्जुनसँग पाँच सय रुपैयाँसमेत थिएन । उनका साथी श्रीमान देशारले पाँच सय सहयोग गरेपछि उनको पसल खुल्यो । ‘चित्र बनाउने मेरो आफ्नै शैली छ, फोकस भएको वस्तुबाट चित्र बनाउन सुरु गर्छु,’ बितेका समय ‘कलाको महŒव नबुझ्ने’ परिवेश भएको सुनाउने अर्जुन सम्झन्छन्, ‘सानो फोटो कसरी ठुलो (इनलार्ज) गर्ने भन्ने ज्ञान मैले मदनकृष्ण दाईबाटै सिकेको हुँ ।’
कैयौंका पत्रिकाका ‘कभर डिजाइन’ गर्न भ्याइसकेका अर्जुन अचेल नेबिको प्रालिमा जागिरे छन् । ‘जागिरसँगै कलाकारितालाई पनि निरन्तरता दिइरहेको छु,’ २०४९ सालमा ‘कामना’ मासिकद्वारा आयोजित देशव्यापी चित्र प्रतियोगितामा प्रथम अर्जुनले भने, ‘अब जागिरबाट अवकाश भएपछि चित्रकलामा पूर्णतया समर्पित हुनेछ ।’

आठ वर्षको हुँदैदेखि बुबाको कलाकारिताबाट प्रभावित भए, चापागाउँ भन्सार टोलकै कलाकार सुनन्द मेहर कायस्थ । ‘मैले घरमै गुरु भेट्टाएँ,’ उनलाई अझै सम्झना छ, ‘बाहिर गुरु खोज्न जानै परेन ।’ २०४२ तिर अग्रज कलाकार कायस्थले नेपाली चलचित्र ‘कुसुमे रुमाल’ र ‘जीवन रेखा’को पास्टर बनाए । उनको कामको चौतर्फी प्रशंसा भयो ।
त्यतिबेला क्यानभास र रङ अहिलेजस्तो सुलभ थिएन । जे भेटिन्छन्, त्यसैलाई कलाकारिता तिखार्न प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
‘सरेसमा धुलो रङ मिसाएर धेरै चित्र बनाइयो,’ विद्यालय जीवनमा कांग्रेसको ‘सत्याग्रह’मा परेर ६ महिना थुनामा परेको सुनाउन नबिर्सने ५३ वर्षीय कायस्थ सुनाउँछन्, ‘विभिन्न माटोलाई रङका रूपमा प्रयोग गरेर क्यानभास रंग्याएँ, फोटो स्टुडियोको पृष्ठभूमि बनाउने काम पनि गरें ।’
कलाको मोल समाजले अझै बुझन् नसकेको ठम्याइ छ, कायस्थको । सपना धेरै छन्, उनका । आफूले पूरा गर्न नसके पनि छोरा सुशान्त मेहर कायस्थले अधुरा सपना पूरा गर्नेमा उनी आशावादी छन् ।






