मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ सेवालाई विस्तार गर्दै आएको छ । बैंकको योजना र सेवा प्रवाहसँग जोडिएर मुक्तिनाथ विकास बैंक लिका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउतसँग गरिएको कुराकानीको सारसंक्षेपः
तपाईंहरूको कर्जा प्रवाहको अवस्था कस्तो छ ?
हामीले कर्जा सेवामा पनि विविधिकरण गरी सबै वर्ग, पेसा र क्षेत्रलाई समेट्ने खालका कर्जा प्रवाह गर्ने गरेका छौं । हामीले विशेष गरी कृषि र उद्यमशील तथा व्यावसायिक कर्जा लगानीमा प्राथमिकता दिएकाले साना तथा उत्पादनशील कर्जाको हिस्सा अत्यधिक रहेको छ । बैंकको लगानीमा रही रहेको कर्जा हाल करिब ५६ अर्ब छ । विकास बैंकमा यो लगानी सबैभन्दा धेरै हो । पछिल्लो समयमा कोरोना महामारीको कारण हुन गएको लकडाउनको पहिलो तीन महिना हामीले कर्जा प्रवाह गर्न सकेनौं । तर गत असारबाट विस्तारै जोखिमलाई मध्यनजर गर्दै ग्राहकको आवश्यकता र चाहनाअनुसार कर्जा लगानी सुरु गरेका छौं । तत्पश्चात्हालसम्म सन्तोषजनक रूपमा कर्जा प्रवाह भइरहेको छ । हामीले यस अवधिमा लकडाउनको कारण समस्यामा परेका ग्राहकलाई प्राथमिकतामा राखी उहाँहरूको बन्द भएको व्यवसायलाई पुनः सुचारु गर्न आवश्यक पर्ने थप पुँजीको व्यवस्था पनि गरेका छौं । साथै, प्रभावलाई मध्यनजर गरी ब्याजमा पनि छुट र सहुलियत पनि दिएका छौं । हामीले झन्झटरहित सरल किसिमले छिटोछरितो सेवा प्रदान गर्ने प्रयासले नयाँ शाखामा पनि ग्राहकबाट कर्जाको मागमा वृद्धि भएको छ । अहिले तरलता पर्याप्ताले पनि हामीलाई कर्जा लगानीमा कुनै समस्या छैन । आगामी दिनमा पनि सेवाको गुणस्तरीयता अझै वृद्धि गर्दै ग्राहक सन्तुष्टिमा जोड दिनेछौं ।
कर्जा प्रवाहकाप्राथमिकता केके हुन् ?
हाम्रो कर्जा प्रवाहको प्राथमिकता भनेको नै उत्पादनशील, व्यावसायिकर साना क्षेत्र हुन् । यी क्षेत्रले स्थानीय रोजगारी सिर्जना, स्थानीय स्रोत र साधनको परिचालन तथा उत्पादनमा जोड दिने हुनाले थोरै भए पनि आयात प्रतिस्थापन गर्न मद्दत गर्छ । नेपालको अर्थतन्त्र र माटो सुहाउँदो कृषि, पशुपालन र ससाना उद्यम विकाससँग सम्बन्धित प्रयोजनमा लगानीलाई विशेष जोड दिएका छौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जा लगानीमा तोकेको ५ प्रतिशतको सीमा हो तर हामीले विपन्न वर्गमा करिब ३६ प्रतिशत लगानी गरेका छौं । यसबाट हाम्रो प्राथमिकता साना क्षेत्रमा हो भन्ने पनि स्पष्ट हुन्छ ।
ब्याजदर निर्धारणमा कुनकुनविषयलाई प्राथमिकतादिनुभएको छ ?
हामीले ब्याजदर निर्धारण गर्दा नेपाल राष्ट्र बैंकले तोकेको निर्देशन र मापदण्डलाई अक्षरशः पालना गर्नुपर्छ । त्यसको साथै वित्तीय बजारमा तरलताको अवस्था, प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजदर, ग्राहकको अपेक्षा र संस्थाको क्षमता आदि पक्षलाई आधार मानेर ब्याजदर तोक्ने गर्छाैं । हाल हामीले कर्जामा लिने ब्याजदर र बचत तथा निक्षेपमा दिने ब्याजदर राम्रो रहेको छ । त्यसैले पनि हाम्रा ग्राहक सदस्यले हामीलाई माया र विश्वास गर्नु भएको छ । हाम्रा ग्राहकको स्नेहले नै हामी विकास बैंकमध्येमा एक नम्बर बन्न सफल भएका छौं ।
अहिले बजारमा ऋण प्रवाह कम भइरहेको छ, बैंकमा पैसा थुप्रिएको छ । यसले बैंकलाई कत्तिको चुनौती थपिएको छ ?
कोरोना महामारीले वित्तीय क्षेत्रलाई ठूलो असर पारेको छ । जसका कारण उद्योग, व्यवसाय,पर्यटन क्षेत्रलगायतका सम्पूर्ण क्षेत्र लामो समयसम्म ठप्प रहँदा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह हुन पनि रोकिएका थिए । कतिपय व्यवसायी व्यवसाय छोडेर पलायन भएको पनि देखिएकोछ । यसले हाम्रो अर्थतन्त्रलाई पछाडि धकेल्ने नै छ । पछिल्ला दिनमा क्रमशः व्यापार व्यवसाय र अर्थतन्त्र चलायमान हुँदा अब कर्जाको माग क्रमशः वृद्धि हुँदै पनि गएको छ । तथापि, बजारमा अझै तरलता पर्याप्त नै छ । बैंकमा बचतको रूपमा पैसा थुपिँ्रदा ब्याज दिनुपर्ने भएकाले लागत बढ्छ तर सोअनुरूप लगानी गर्न नसक्दा वा लगानीको क्षेत्र बन्द हुँदा बैंकलाई वित्तीय भार थपिएको छ । यसको फलस्वरूप अहिले बचत तथा निक्षेपको ब्याजदर घटेको छ र बैंकको आधारदर पनि घटेकाले सस्तो दरमा कर्जा प्रवाह गर्न सम्भव भएको हो । यहीअवस्था लामो समयसम्म रहेमा सायद चुनौती आउलान् तर अब कर्जा लगानीले गति लिने र सरकारले विकास निर्माणका कार्य सुचारु गरी अर्थ व्यवस्थालाई गतिशील बनाउने हो भने क्रमशः पुरानै अवस्थामा फर्कन सकिन्छ । हाम्रो अवस्थालाई हेर्ने हो भने साउनदेखि असोजसम्म ६ अर्ब रुयैयाँभन्दा धेरै खुद कर्जा वृद्धि गर्न सफल भएका छौं । यो त्रैमासमा पनि सोही हाराहारीमा कर्जा वृद्धि हुने देखिन्छ ।
‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको थियो । यो सफलता कसरी हातपार्नुभयो ?
हाम्रो संस्थाले भर्खरै मात्र युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० हासिल गर्न सफल भएको छ । मुक्तिनाथ विकास बैंकको साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका विशेषगरी महिला सदस्यलाई प्रदान गरिरहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक आर्थिक तथा सामाजिक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञको छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी यो पुरस्कार घोषणा गरिएको थियो । यो पुरस्कारबापत यस विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमलाई न्यून आय भएका ग्राहक सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न प्रकारका उपयुक्त कार्यक्रम सञ्चालन गरिने कुरा पनि जानकारी गराउन चाहन्छु । साथै अहोरात्र खटिएर फिल्डमा कार्य गर्ने कर्मचारी र हाम्रो सेवालाई सहर्ष ग्रहण गरी मर्मअनरूप कार्य गर्नुहुने सम्पूर्ण ग्राहकमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
यो पुरस्कार हामीले स्थापनाकालदेखि नै ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ,’ भन्ने सिद्धान्तलाई अंगीकार गरी सेवा प्रदान गर्दै आइरहेका छौं । बैंकको सेवालाई नाफामुखी मात्रै भन्दा पनि सेवा र यसको सामाजिक प्रभावकारितालाई पनि त्यत्तिकै ध्यान दिएका छौं । नेपालका बैंकको भिडमा छुट्टै पहिचान स्थापित गराउनुपर्छ र त्यो पहिचान नागरिक, समाज र देशको हितमा हुनुपर्छ भन्ने अभिप्रायले समावेशी वित्तीय सेवालाई जोड दिएका छौं । न्यून आय भएका, दुर्गम र टाढा भएका नागरिकलाई पनि वित्तीय सेवा प्रदान गर्नुपर्छ र सो सेवा उहाँको आवश्यकता र चाहनाबमोजिमको हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएका छौं । यसको फलस्वरूप गत वर्ष जलवायुमैत्री कर्जा सेवाको शीर्षकमा यसै पुरस्कारमा उत्कृष्ट १०मा पर्न सफल भएका थियौं भने यस वर्ष प्रभावकारी समावेशी बचत सेवा शीर्षकमा सर्वोत्कृष्ट हुन सफल भयौं । वास्तवमै हामीले प्रदान गरेका केही बचत सेवा नवीनतम र अत्यन्तै प्रभावकारी देखिएको छ ।