काठमाडौं । पुरुषतर्फ सुरेश भुजेल र महिलातर्फ अनिशा गुरुङले क्रस दुवाथलन सिरिजमा उपाधि जित्न सफल भएको छ । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा शनिबार नेपालको सबैभन्दा पुरानो ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनेटका साथ भुजेल र ४३ः५४ मिनेटका साथ अनिशा पहिलो भएका हुन् ।
नेपालका पहिलो म्याराथन धावक गजराज जोशीको नामले समेत परिचित टोखामा भएको सिरिजका विजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्यांक बाइककोतर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ तथा महिला विजयी खेलाडीले काठमाडांै गेस्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्यांक बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ प्राप्त गरे । टोखा सहरको गणेशस्थानदेखि चण्डेश्वरीसम्म २.५ किमि दौड, १० किलोमिटर साइक्लिङ र १.५ किलोमिटर दौडको क्रस दुवाथलनको विजयी खेलाडीहरूलाई प्रमुख अतिथि टोखा नगरपालिका–२ का अध्यक्ष दीपकराज जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
स्थानिय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिडका कारण विश्वलाई नै अक्रान्त बनाइरहेको अवस्थामा स्थानीय व्यक्तिहरूलाई क्रियाशील बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै जाने उद्देश्यले आयोजना गरिएको सिरिजमा पुरुषतर्फ प्रेमसिंह मोया ३७ः०८ मिनेट समयका साथ दोस्रो र आइतसिंह तामाङ ३७ः१३ मिनेटका साथ तेस्रो भए । यस्तै, महिलातर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनेटका साथ युस्का महर्जन दोस्रो र तेस्रो भए । दोस्रो हुने खेलाडीहरूले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्यांक बाइकको १५ सय बराबरको साइकल मर्मत भौचर तथा तेस्रो हुने खेलाडीले प्यांक बाइकको तर्फबाट १ हजार बराबरको साइकल मर्मतको भौचर प्राप्त गरे ।
खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि टोखा नगरपालिका–२ का अध्यक्ष दीपकराज जोशी र संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले पुरस्कृत गरे ।
संघ र जम्प नेसनबीच सम्झौता
नेपाल ट्राइयाथलन संघ र जम्प नेसनबीच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक वर्षका लागि भएको सम्झौतामा संघले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसिप तथा प्रतियोगिताहरूमा इभेन्ट म्यानेजमेन्टसम्बन्धी सम्पूर्ण कार्य जम्प नेसनले गर्नेगरी सम्झौता भएको हो ।
आज एक कार्यक्रमबीच नेपाल ट्राइयाथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र जम्प नेसनका प्रतिनिधि आशिष कुलले सम्झौतापत्र आदानप्रदान गरे ।
जम्प नेसन शारीरिक, मानसिक, भावनात्मक र आत्मीयका साथ स्वस्थ समुदाय निर्माण गर्ने उद्देश्यका साथ स्थापित संस्था हो । खेल जीवनमार्फत राष्ट्रको उत्थान गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।






