इलाम । इलाम नगरपालिकाको आठौं नगरसभाले दुई विधेयक र एउटा विषेश प्रस्ताव पारित गरेको छ । आइतबार बसेको नगरसभाले ‘इलाम नगर प्रहरी ऐन २०७५’ लाई संशोधन गर्न बनेको विधेक सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । नगरपालिकाले नगरप्रहरीमा महिला प्रहरीको सहभागीता सुनिश्चित गर्नका लागि प्रहरी ऐनको संशोधन गरेको हो । संशोधनपछि नगरप्रहरीमा भर्ना हुन महिलाहरुको हकमा केही खुकुलो प्रावधान राखिएको छ । नगरसभामा सुशासन समितिका संयोजक गीताराम विश्वकर्माले प्रहरी ऐन संशोधन विधेकय छलफल र निर्णयार्थ पेश गर्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए ।
नगरसभाले खानेपानी व्यवस्थापन गर्न बनेको विधेयक समेत पारित गरेको छ । नगर क्षेत्रका खानेपानी आयोजनाको व्यवस्थापन, सञ्चालनका लागि ऐनको प्रस्ताव गरिएको हो । विधेयक पारित भएपछि अब इलाम नगरपालिका खानेपानी व्यवस्थापनको लागि तीन मोडालिटि अपनाइने छ । ठूला आयोजना नगरपालिका आफैले व्यवस्थापन र सञ्चालन गर्नेछ । त्यसको लागि बोर्ड गठन गर्ने व्यवस्था ऐनमा उल्लेख छ ।
त्यस्तै पाँच सयसम्म नीजि धारा भएका योजना भने उपभोक्ता समिति मार्फत व्यवस्थापन र सञ्चालन गर्ने ऐनमा व्यवस्था छ । नगरसभाले पारित गरेको ऐनमा नगरपालिकाले निर्धारण गरेको परिधिभित्र रहेर नीजि क्षेत्रले समेत खानेपानी आयोजना निर्माण र सञ्चालन गर्नसक्ने व्यवस्था गरिएको छ । ऐनमा नीजि धारा जडान गर्न नसक्ने या प्राविधिक रुपमा नमिल्ने परिवारको लागि भने सामुहिक धारा जडान गर्ने व्यस्था गरिएको छ ।
वडा विभाजनको विषेश प्रस्ताव
नगरसभाले वडा नम्बर ९ लाई विभाजन गर्ने विषेश प्रस्ताव पारित गरेको छ । साविकको इलाम नगरपालिकाको वडा नम्बर तीनलाई विभाजन गर्ने त्यसमा साविकको वडा नम्बर ५ को क्षेत्रफल बनाएर एउटा वडा क्षेत्र बनाउने । साविक वडा नम्बर ४ को बाँकी भाग र साविक वडा नम्बर ३ सहितको क्षेत्रलाई अर्को वडा बनाउने प्रस्ताव गरिएको थियो । सभाबाट पारित भएको प्रस्ताव प्रदेश सरकार समक्ष पेश गर्नुपर्ने छ ।
प्रदेश सरकारले संघीय सरकारमा प्रस्ताव पठाउने छ । संघीय सरकारबाट प्रस्ताव स्वीकृत भएमा नयाँ वडा कायम हुनेछ । अहिलेको नौ नम्बर वडको भूगोल पनि ठूलो र जनसंख्या समेत बढि भएको र राज्यबाट परिचालन हुने श्रोत साधनको परिचालनमा समेत समस्या हुने भएकाले वडालाई विभाजनको प्रस्ताव गरिएको वडा अध्यक्ष श्यामकृष्ण घिमिरेले बताए ।
वडा विभाजनका लागि स्थानीय जनता, त्यहाँका क्रियाशिल राजनैतिक दलका प्रतिनिधिको सहमति अनुसार सभामा प्रस्तुत गरिएको बताइएको छ । संघीय सरकारले स्वीकृति प्रदान गरे आगामी निर्वाचनपछि निर्णय कार्यान्वयन हुने नगरप्रमुख महेश बस्नेतले बताए । नगरसभालाई जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले सम्बोधन गरेका थिए । उनले जनप्रतिनिधिहरुले जनताको आवश्यकता पुरा गर्नमानै ध्यान दिनुपर्ने बताए । इलाम नगरपालिका कानुन निर्माणको बाटोमा निकै अघि रहेको बताउँदै बरालले इलाम नगरपालिकाले अन्य पालिकाहरुको लागि समेत अगुवाइको भूमीका निर्वाह गर्नुपर्नेमा जोड दिए ।