प्रधानमन्त्री कपः एपीएफको विजयी सुरुवात

काठमाडौं । अविनाश बोहराले प्रदेश १ को ५ विकेट लिएपछि जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी सुरुवात गरेको छ । शनिबार उसले प्रदेश १ लाई १ सय ३५ रनको अन्तरले पराजित ग-यो ।

त्रिवि खेल मैदानमा भएको खेलमा प्रदेश १ ले टस जितेर पहिले फिल्डिङ रोज्यो । एपीएफले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदा २ सय ४३ रन बनायो । ओपनर सुवास खकुरेल र आशिफ शेखले पहिलो विकेटको लागि ७१ रनको साझेदारी गरे ।

सुबाशले आशिफलाई साथ दिए र आशिफले आक्रमक ब्याटिङ गरे । उनले ३२ बलको सामना गर्दै छ चौका र ५ छक्कासहित ५९ रन जोडे । लगतै सुवास १९ रनमा, सरद भेषावकर २० रनमा प्रदीप ऐरी ७ रनमा र सुमित महर्जन १४ आउट भए । थप ५५ रन मात्र जोडने क्रममा एपिएफको ४ विकेट गुम्यो ।

मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन फितलो रहयो। तर वसन्त रेग्मी र सन्दीप जोराले सम्हालिदै छैठौं विकेटको लागि ६६ रनको साझेदारी गरे। वसन्त रेग्मी ४० र वसन्तले ३० रन बनाए । यसरी एपिएफले २४३ रन बनायो । बलिङमा फिर्दोस अन्सारी, हेमन्त राई र श्रवण यादवले २–२ विकेट लिए ।

२ सय ४४ रनको विजय लक्ष्य पछ्याएको १ नम्बर प्रदेश ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदा उसको खातामा १०८ रन मात्र बन्न पुग्यो । एपिएफका बलरसामु प्रदेश १ का खेलाडीहरू निरीह बने । ओपनरद्वय दिपक पासवान १३ र मनिस थापा १८ रनमा आउट भए । यसपछि पनि विकेट पतन सिलसिला जारी रहयो । प्रदेश १ का छ खेलाडीले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् ।