नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले अस्थायी नाम पाए

काठमाडौं । नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा क्षुद्रग्रहले अस्थायी नाम पाएको जानकारी दिएको हो ।

सन् २०२० मा मात्रै राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सञ्चालन गरी ३ सय ८० वटा नयाँ क्षुद्रग्रहको प्रारम्भिक पहिचान भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । तीमध्ये चार क्षुद्रग्रहले अस्थायी नाम पाएको उनले बताए ।

लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा अध्ययनरत विद्यार्थी रेजा थापा र अध्यक्ष भट्टराईको टोलीले खोजेको क्षुद्रग्रहको नाम २०२० एफओ ११ राखिएको छ । त्यस्तै बुटवलको होराइजन गौतम बुद्ध सेकेन्डरी स्कुलका विद्यार्थी आविष्कार पौड्याल, बृजेश राज फुल्लेल, अर्विन्द पाण्डेको समूहले खोजेको क्षुद्रग्रहको नाम २०२० एचके ३४ राखिएको छ ।

सेन्ट जेभियर्स कलेज माइतीघरका प्रणव साह, सागर डंगोल, गौरव बराल र प्रसन्न ढुङ्गानाको समुहले खोजेको क्षुद्रग्रहको नाम २०२० एचटि ४९ राखिएको नासोले जनाएको छ ।

त्रिचन्द्र क्याम्पस काठमाडौंका विमल खड्का, ईशिका पौडेल र अध्यक्ष भट्टराईको अर्को समूहले खोजेको क्षुद्रग्रहको नाम २०२० पिजि १५ राखिएको छ । तीन वटा क्षुद्रग्रहको कक्ष पनि पत्ता लागिसकेको छ भने २०२० एचटी ४९को कक्ष पत्ता लागेको छैन ।

अध्यक्ष भट्टराईका अनुसार कुनै पनि क्षुद्रग्रह प्रारम्भिक रूपमा पहिचान भएको ७ देखि १० दिनमा पुनः देखिए त्यसलाई अस्थायी नाम दिने गरिन्छ । यसरी अस्थायी नाम पाएका क्षुद्रग्रहरूलाई निरन्तर अवलोकनमार्फत् त्यसको कक्षको पर्याप्त जानकारीपछि इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले नम्बर दिएर सुचीकृत गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३