काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी गरिएपछि विवाद देखिएको हो ।
यसअघि पुरातात्विक सम्पदा रानीपोखरीको पुनर्निर्माणका क्रममा पनि सुरुवाती चरणमा अहिले कमलपोखरीमा जस्तै विवाद देखिएको थियो । काठमाडौं महानगरपालिकाले पुनर्निर्माण सुरु गरेको रानीपोखरीमा ढुंगा, सिमेन्टको प्रयोग गर्ने तयारी गरेपछि विवाद उत्पन्न भएको थियो ।
महानगरपालिकाले विवाद हल गरेर पुनर्निर्माणको काम अघि बढाउन नसकेपछि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई रानीपोखरी पुनर्निर्माणको जिम्मा दिएको थियो । प्राधिकरणले प्राचीनकालीन शैलीमै स्थानीयको समेत सहभागितामा रानीपोखरी पुनर्निर्माण अघि बढाएको थियो । कोरोना भाइरस, लकडाउन तथा निषेधाज्ञाको सामना गर्दै हाल रानीपोखपरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
अहिले काठमाडौं महानगरपालिले नै पुनर्निर्माण सुरु गरेको कमलपोखरीमा पनि रानीपोखरीको जस्तै विवाद खडा भएको छ । स्थानीय सरोकारवालाले कमलपोखरीको ऐतिहासिकता जोगाउन आन्दोलन सुरु गरेका छन् ।
महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गर्दा ऐतिहासिकता मेटिने गरी जथाभावी ढुंगा र क्रंक्रिटको प्रयोग गरेको भन्दै स्थानीय सरोकारवाला तथा सम्पदा बचाउ अभियानले पोखरीको बीचमा उभिएर शुक्रबार ‘प्ले कार्ड×’सहित विरोध जनाएको छ । ‘डियर मेयर रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौं’ लिखित प्ले कार्ड बोकेका उनीहरूले कमलपोखरीलाई कंक्रिट पोखरीमा परिणत नगर्न आग्रह गरेका छन् ।
महानगरपालिकाका प्रमुख इन्जिनियर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएको सम्पदा बचाउ अभियानमा उत्रिएकाहरूको भनाइ छ ।
स्थानीय सरोकारवालाले सिमेन्ट र डन्डीको प्रयोग नगर्न आग्रह गरेका छन् । महानगरपालिकाले यसपटक पनि रानीपोखरीमा जस्तै गल्ती दोहो¥याइरहेको पाइएको छ ।
कमलपोखरी निर्माणका लागि दसैंअघि नै पानी सुकाएकामा अझै काम अघि बढ्न सकेको छैन । लामो समयदेखि पानी निकाल्दा पोखरीमा चिराचिरा परेको छ ।
पोखरी निर्माणका लागि १९ असार २०७६ मा शिलान्यास गरिएको थियो । कार्यादेश भने ६ असारमा नै दिइएको थियो । १५ असार २०७७ मा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कमलपोखरी निर्माण अझै अलपत्र छ ।