यसपाली शाली नदीमा भक्तजन घटे

साँखु (काठमाडौं) । गत वर्षको तुलनामा काठमाडौं साँखुस्थित शाली नदीमा लागेको मेला भर्न आउने श्रद्धालु संख्या घटेको पाइएको छ ।

स्वस्थानी व्रत सुरु भएपछि हुने मेलाको पहिलो शनिबार विगतभन्दा कम भक्तजन आएको श्रीमाधव नारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ ।

मेला सुरु भएको तेस्रो दिनमै परेको पहिलो शनिबारमा करिब १४ हजार भक्तजन आइपुगेको समिति अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

‘पहिलो शनिबार भएर पनि कम भक्तजन आएका होलान्,’ उनले भने, ‘विगतका वर्षमा पहिलो शनिबारतिर मात्रै ४० हजारको हाराहारीमा आउने भक्तजन यसपालि कम भएका छन् ।’ उनका अनुसार पहिलाजति दर्शनार्थी आएका छैनन् । कोभिड–१९ का कारण पनि यो संख्यामा कमी आएको हो ।

गएको बिहीबारदेखि यहाँ एकमहिने मेला एवं कठिन व्रत सुरु भएको छ । यो वर्षको एकमहिने व्रतमा कुल ५२ जना सहभागी भएको समितिले जनाएको छ । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने स्वस्थानी व्रतमा १४ पुरुष तथा ३८ महिला सहभागी भएको समिति अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शाली नदीमा व्रतालुले हरेक दिन बिहान स्नान गरी माधवनारायण दर्शन गर्ने चलन छ । काठमाडौं १७ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन नगर शंकरापुर (साँखु)मा रहेको शाली नदीकिनार स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेशआसपासको क्षेत्र पर्छ ।

शाली नदी पुग्नका लागि श्रद्धालुले ललितपुर सातदोबाटो, काठमाडौं रत्र्नपार्क, चाबहिल चोक, पर्यटकीयस्थल नगरकोटबाट समेत सार्वजनिक यातायातका साधन सहजै पाउन सक्छन् ।

यता, भक्तपुर हुँदै जान चाहनेले नगरकोट सडकखण्डअन्तर्गत तेलकोटबाट २० मिनेटको पैदलै पुग्न सक्छन् । मेलामा व्रत बसेकामा पुरुषका लागि आगो ताप्ने व्यवस्था गुठी संस्थानले गरेको छ । महिलाका लागि भने स्वयं व्रतालुले नै गर्नुपर्ने समिति महासचिव योगेशमान डंगोलले जानकारी दिए ।

व्रतालुको भोजनका निम्ती भात, घिउ, चाकु, चिउरा, सुन्तला, दुध, लप्सी, केराउ, उखु, रातो मूला र पाटने पालुंगो निर्धारण गरिएको समितिले जनाएको छ । यी खाना व्रतालु स्वयंले नै व्यवस्था गर्नुपर्छ । शाली नदीमा स्नान गरेर व्रत बसे सुख शान्ति मिल्ने, चिताएको पुग्ने, पतिको स्वास्थ्य राम्रो हुने र सुयोग्य वर प्राप्त हुने विश्वास छ ।

‘शाली नदीको महिमा अपरम्पार छ,’ यहा“ नुहाउँदै गरेकी श्रद्धालु भक्तजनले भनिन्, ‘मनले चिताएको पूरा हुन्छ, श्रीमानको आयु लामो हुन्छ र सुख शान्ति मिल्छ ।’ समितिले स्नान गरिसकेपछिको लुगा फेर्न र लगाउन छुट्टै प्रबन्ध मिलाएको जनाएको छ ।

समितिका अनुसार सुरक्षाका लागि महानगरीय प्रहरी प्रभाग सा“खुबाट ३५ प्रहरी तैनाथ गरिएको छ । ठाउ“ठाउ“मा सिसि टिभी क्यामेरा जडान गरिएको छ भने समितिअन्तर्गतकै करिब ७० स्वयंसेवक खटिएका छन् । सवारी साधन पार्किङका लागि मेलास्थलभन्दा सय मिटरअघिबाटै प्रबन्ध मिलाइएको छ ।

मेलास्थल’round विभिन्न खानाका पसल, लत्तापकडा, जुत्ता, शृंगारका सामान पसल थापिएका छन् । समितिले एक महिनासम्म चल्ने शाली नदी मेलाका लागि कोभिड–१९ महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो ।

यहाँ आउने अन्य भक्तजनलाई पनि स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । भक्तजनका लागि मास्क अनिवार्य गर्दै भौतिक दूरी कायम गरेर दर्शन गर्न भनिएको समितिले जनाएको छ ।

माधवनारायण भगवान दर्शन गर्न दूर दर्शन व्यवस्था मिलाइएको छ । व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत बस्ने परिसरमा बार लगाएर छुट्टै ठाउँ व्यवस्था गरिएको समितिले जनाएको छ ।

श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार शाली नदीलाई अप्सराहरूले व्रत गर्न प्रयोग गरेको नदीका रूपमा लिइएको छ । यसैगरी, लावन्य देशका राजा नमराज, रानी चन्द्रावती र शिव शर्मा ब्राम्हणपत्नी गोमा ब्राम्हणीले पनि पुजाआजा गरेको प्रसंग पनि व्रतकथामा छ । मेलास्थालमा रहेको शाली नदी २–३ किमीमाथिबाट बहँदै आएको हो । तल भक्तपुर जिल्लामा गएर मनोहरा खोलामा मिसिने शाली नदीको जलपछि बाग्मतीमा गएर मिसिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?