काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएलगत्तै पक्राउ परेका छन् ।
बन्दी प्रत्यक्षीकरण मुद्दा सुनुवाई गर्दै सर्वोच्चले हिजो बिहीबार बाँस्तोलालाई छाड्न आदेश दिएको थियो । लगत्तै छुटेका उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी रमेश बस्नेतले बाँस्तोलाका अन्य मुद्दासमेत बाँकी रहेकाले पुनः पक्राउ गरिएको जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले अदालतका रजिष्टार र नेपाल बार एसोसिएसन अध्यक्षको रोहबरमा उनलाई छाड्न आदेश दिएको थियो । प्रहरीले गत २९ पुसमा बाँस्तोलासहित चार जनालाई ललितपुर दक्षिणी क्षेत्रबाट पक्राउ गरेको हो । उनीविरुद्ध नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरेको थियो ।






