पछिल्लो समय नयाँ व्यवसाय अँगाल्न युवापुस्ता लालायित देखिन्छन् । स्वदेशमा रोजगारी सम्भावना घट्दै जानु र विदेशी भूमिमासमेत श्रमको उचित मूल्य नपाउने अवस्था बढ्दै गएपछि युवाशक्ति स्वदेशमै नयाँ पेशा र व्यवसायमा लगानी बढाउन थालेका छन् ।
यीमध्येका युवा हुन्, बामदेव अधिकारी र सुदर्शन कोइराला । विश्वविद्यालयको पढाइ सकेपछि बामदेव न जागिर खोज्न लागे, न त विदेश जाने चक्करमै परे । बरु, देशलाई कृषि पर्यटनका रूपमा चिनाउने र यसप्रति युवाशक्तिलाई आकर्षित गर्ने लक्ष्यसहित उनले नेपाली सेनाबाट अवकाश प्राप्त सुदर्शनको साथ सँगाल्दै कालिज पालन सुरु गरे ।
त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय गरी दुई विश्वविद्यालयबाट स्नातकोत्तर बामदेव र अवकाश प्राप्त सुदर्शनले डेढ वर्षअघि कृषि तथा पशुपन्छी फर्म दर्ता गरे ।
युरोपबाट अण्डा झिकाउँदै धादिङ नीलकण्ठ नगरपालिका–७ निबुवास्वाँरा हिटीमा व्यवसायिक कालिज पालन थाले । उनीहरूले पालन गरेको कालिज ‘रिङ नेक’ प्रजातिको हो । घाँटीमा सेतो गलबन्दी बाँधेजस्तो देखिने भएकाले यसलाई ‘रिङ नेक’ कालिज भनिन्छ ।
सरकारले दुई वर्षअघि कालिज पालनका लागि अनुमति दिएपछि उनीहरूले व्यवसायिक कालिज पालन सुरु गरेका हुन् । करिब एक करोड लगानीमा सुरु फार्मबाट राम्रो आम्दानी भइरहेको छ ।
२ सय ५० कालिजबाट व्यवसाय सुरु गरेकोमा अहिले १५ सय पुगेको छ । छोटो अवधिमै हजारभन्दा बढी कालिज उत्पादन गरेर ३५ लाख रुपैयाँ हात पारेका उनीहरू कालिजको मासु प्रतिगोटा काटेर ३५ सय रुपैयाँमा विक्री गर्छन् ।
सेनाको पेन्सन पकाएर आएका सुदर्शन दिनहुँ कालिज फार्ममा व्यस्त हुन्छन् । काठमाडौं पद्मकन्या क्याम्पसमा प्रध्यापक बामदेव भने नेपाल विद्यार्थी संघको राजनीतिमा पनि सक्रिय छन्् । जिपी कोइराला फाउन्डेसन धादिङ अध्यक्षसमेत रहेका उनी बचेको समय फार्ममै बिताउँछन् ।
‘विदेश नै जानुपर्ने, जागिरकै लागि भनेर शैक्षिक प्रमाणपत्र बोकेर रोजगारदाताकहाँ धाउनुपर्ने बाध्यता अन्त्यका लागि कृषि पेशा रोजेका हौं,’ बामदेव भन्छन््, ‘यो पेशामार्फत कृषि पर्यटन अघि बढाउने र कृषिप्रति युवाशक्तिलाई आकर्षित गर्ने हाम्रोलक्ष्य हो ।’
करिब दस रोपनी क्षेत्रफलमा दायाँबायाँ र आकाशतर्फसमेत तारजालीले ढाकेर जंगलमै कालिज पालन गरिएको छ । तारले जताततै छेकिएकाले ‘पालुवा कालिज अन्यत्र जाला र हराउँला ?’ भन्ने चिन्ता उनीहरूलाई छैन ।
सरकारले कालिज पालनलाई व्यवसायिकमात्र नभएर कृषि पर्यटनकै रूपमा लिए पनि प्रोत्साहन भने गर्न नसकेको उनीहरूको गुनासो छ । तर, उनीहरू कालिज संख्या थप्दै पेशा अझै विस्तार गरिरहेको सुनाउँछन्् ।
कालिजको बजार सडकछेउका होटल, डाँडाकाँडामा खुलेका रिसोर्ट, काठमाडौंका होटल तथा देशभरका तारे होटल हुन् । सुत्केरी र युरिक एसिडका बिरामीका लागि कालिजको मासु उत्तम मानिन्छ । तर, गर्भवतीका लागि भने राम्रो मानिँदैन । युरोपतिर यो सुपका लागि प्रख्यात छ । कालिज पालेको करिब ६ महिनापछि मासुका लागि बिक्री वितरण गर्न योग्य ठहरिन्छ ।
वनजंगलमा कालिज हुने भए पनि यसलाई मारेर खान भने कानुनले प्रतिबन्ध लगाएको छ । कानुनले कालिज मारेको पाइए वन्यजन्तु चोरी शिकारी ऐनअनुसार कारबाही व्यवस्था गरेको छ । वन ऐनले अहिले कालिज पालनका लागि छुट दिए पनि जिउँदो कालिज बिक्री वितरण गर्न भने अझै प्रतिबन्ध छ ।
स्वादिलो र प्रोटिनयुक्त हुने भएकाले कालिजको मासुको माग कहिले त धान्न नै धौधौ हुने बामदेव सुनाउँछन् । देशका विभिन्न स्थानमा पनि कालिज पालन व्यवसाय फस्टाउँदै गएको छ । कालिजको अण्डा माग बढ्दोक्रममा रहेकाले यसै वर्ष आफ्नो फार्ममार्फत अण्डासमेत उत्पादन गर्ने लक्ष्य लिएको बामदेव बताउँछन् । आगामी चैत वा वैशाखबाट अण्डा उत्पादन सुरु हुने जानकारी उनले दिए । उनीहरूले आफ्नो फार्ममा दुई युवालाई रोजगारी पनि दिएका छन् ।