नेपालीमाझ बढ्दो इन्टरनेट पहुँच

अहिले नेपालीका माझमा इन्टरनेटको पहुँच सोचेभन्दा निकै तीव्र गतिमा भइरहेको छ । कोभिड–१९ महामारीको संक्रमणसँगै संवाद र भेटघाटका विविध पक्ष र विकल्पको खोजीसँगै इन्टरनेट पहुँच एक सशक्त र भरपर्दो माध्यमका रूपमा अघि आयो । भर्चुअल अनलाइन कक्षाका कारण यो अझै व्यापक बनेर गयो । इन्टरनेट प्रयोगकर्ताको संख्यामा यसले निकै बढोत्तरी ल्यायो । कारण थियो, अध्ययनका लागि इन्टरनेटको प्रयोग ।

नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो तथ्यांकलाई अस्वीकार गर्न सकिरहेको छैन । त्यसमा पनि धेरै त निजी इन्टरनेट सेवा प्रदायक रहेका छन् । हालसम्म सार्वजनिक भएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार साढे २ करोड नेपाली इन्टरनेटको पहुँचमा छन् । यो वर्ष सकिन लाग्दासम्म २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको र त्यसको अत्यधिक प्रयोग भइरहेको छ । इन्टरनेट सर्भिस प्रोभाइडरहरूले ५० लाख ३० हजार ९ सय ४९ वटा लाइनमार्फत सेवा प्रदान गरिरहेका छन् । हाल हरेक कार्यालयहरूमा वितरित वाइफाइ यिनै सेवाप्रदायीहरूबाट जेनेरेट गरी धेरै जनाका बीचमा बाँडफाँड गरी प्रयोगमा ल्याइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी सेवा लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ पुगिसकेको छ ।

नेपाल टेलिकमको डाटामार्फत इमेल, इन्टरनेट आदि सेवाका प्रयोगकर्ता १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगिसकेका छन् । त्यसमा जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार रहेका छन् । एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार पुगिसकेका छन् । वाइम्याक्स सेवाका प्रयोगकर्ता पनि १८ हजार ५ सयभन्दा बढी रहेका छन् । इन्टरनेट सेवा ७५ वटै जिल्लामा दिन गुणा र रात चौगुणाका हिसाबले विस्तार भइरहेको छ । प्रदेश सरकारका कार्यालय तथा विभाग इन्टरनेटको पहुँचमै छन् । तर, दूरदराजमा रहेका स्थानीय सरकारले पनि इन्टरनेट सेवा जडानलाई पहिलो प्राथमिकतामा राखेका छन् । वाइफाइका रूपमा इन्टरनेट प्रयोगको प्रचलन आएपछि यसलाई सर्वाधिक व्यापकतामा लगिएको छ । हरेक होटल तथा सवारीका साधनमा पनि वाइफाइको व्यवस्था रहने गरेको पाइएको छ । इन्टरनेटको पहुँच प्राथमिक आवश्यकतामा राखिन थालिएको छ । कुनै होटल या यातायातका साधनमा दिइएको सुविधामध्ये सबैभन्दा पहिले वाइफाइ छ कि छैन भनी सोधनी गरिन्छ । त्यसपछि खाने, आराम गर्ने र अन्य सुविधालाई लिइन्छ ।

नेपालमा सूचना तथा प्रविधिको पहुँच हुन थालेको भर्खरै हो । तथापि यसको विस्तार हुरीको गतिमा भइरहेको छ । सबैको हातहातमा मोबाइल रहेको छ । सुरुमा यसको विस्तार गरिँदा तत्कालीन सञ्चार मन्त्रालयले ‘हात हातमा मोबाइल, घरघरमा इन्टरनेट’को नारा दिएको थियो । यो त्यति बेला कल्पनाको विषय जस्तो लाग्थ्यो तर आज यो यथार्थमा परिणत भएको छ । गरिबदेखि निम्न मध्यम र धनी किसानका लागि यो आज उत्तिकै आवश्यकताको विषय बनेर आएको छ । मानिस संसारबाट आफू अलग हुन चाहँदैन । उसले आफूलाई अन्य काम थाती राखेर भए पनि इन्टरनेटमा अपडेट गराएरै छाड्ने गरेको छ । यो पुराना पुस्ता, अधबैंसे तथा नयाँ र युवा पुुस्तामा त झन् लहराझैं झाँगिदै गइरहेको छ । तर, यसको दुरुपयोगभन्दा पनि सदुपयोग गर्ने विषयमा सबै पक्ष संवेदनशील भने हुनैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० पुग्यो