खोप आयातका लागि तीन कम्पनीले दिए निवेदन

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध खोप ल्याउन हालसम्म तीन वटा कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दर्ता गराएका छन् । एउटा कम्पनी भने निवेदन दर्ताको प्रक्रियामा छ ।

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको छ । चिनियाँ कम्पनीको सिनोफमले भने दर्ताका लागि प्रक्रिया अघि बढाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपले अनुमति पाइसकेको छ । सो खोप भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप १० लाख मात्रा उपलब्ध गराएको थियो ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार निवेदन प्राप्त भए पनि प्रक्रिया पूरा गरेर मात्रै अनुमति प्रदान गरिनेछ । उनले भने, ‘प्राप्त निवेदनलाई प्रक्रिया पूरा भएपछि अनुमति प्रदान गर्छौं । छिट्टै प्रक्रियामा लैजान्छौं ।’

उता चीन सरकारले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने बताउँदै आएको छ । सो खोपलाई विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिन लागेको हो ।

विभागले कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोप प्राप्ति र प्रयोगसम्बन्धी’ अवधारणापत्रलाई आधार मानेको छ ।

विभागले २९ पुसमा सूचना जारी गर्दै कोभिड–१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।

खोप आयातमा सहजता प्रदान गर्न औषधि तथा खोपको आपतकालीन प्रयोगका लागि औषधि ऐन, २०३५ को (तेस्रो संशोधन) अध्यादेश जारी भएको छ । सरकार कुल जनसंख्याको ७२ प्रतिशत जनतालाई निःशुल्क रूपमा खोप दिने योजनामा छ ।

यस्तै मंगलबार देशभर थप १६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट थप १६५ जना संक्रमणमुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म देशभर कुल २१ लाख १ हजार ५९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हालसम्म कुल संक्रमित संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । यस्तै कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ । क्वारेन्टिनमा ९२ जना रहेका छन् । देशभर आईसीयूमा ६४ र भेन्टिलेटरमा १५ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको छ । योसहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ