प्रथम प्रदेशस्तरीय म्याराथन २०२० वीरगन्जमा

वीरगन्ज । ‘स्वच्छ देश–स्वस्थ मधेश’ भन्ने नाराका साथ ‘वीरगन्ज म्याराथन २०२०’ शनिबार वीरगन्जमा भएको छ । प्रथम प्रदेशस्तरीय म्याराथन प्रतियोगिता २०२० वीरगन्जमा शनिबार भएको हो । प्रदेश नम्बर २, का मुख्य मन्त्री लालबाबु राउत गद्दीले पेस्तोल र प्रधान सेनापति पूर्णचन्द्र थापाले तोप पड्काएर प्रतियोगिताको सुभारम्भ भयो । पाँच हजारदेखि सर्वाधिक राशीको पुरस्कार जित्ने खगेन्द्र भाट सम्मका सबै विजेतालाई प्रदेश नम्बर २, का मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रधान सेनापति पूर्णचन्द्र थापा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी लगायतले पदक सहित पुरस्कार प्रदान गरे । विजेताले प्राप्त रकम वीरगन्ज महानगरपालिका कर्मचारीले कार्यक्रमस्थलमा नै पुगेर चेक मार्फत उपलब्ध गराए ।


यो प्रतियोगितामा एकैदिन ५ हजार २सय धावक दौडिएका थिए । कक्षा ८ देखि माथिका विद्यार्थी देखि विभिन्न उमेर समूह हुँदै जेष्ठ नागरिक र फरक क्षमता भएका अनि सुरक्षा सेवामा कार्यरत गरी सबै क्षेत्रका धावकहरु २०२० म्याराथन वीरगन्जमा दौडिए । विभिन्न १४ वटा विधा समेटिएको दौडमा ४ हजार १ सयले त एकै कलरको टिसर्ट र क्याप लगाएर दौडिए ।

प्रतियोगिताको आयोजना नेपाली सेना मध्य पृतना र मध्यपूर्वी पृतनाको सहयोगमा २८ नं. बाहिनी अड्डाले गरेको हो । प्रदेश स्तरीय म्याराथन प्रतियोगिता सात प्रदेश मध्ये पहिलो प्रतियोगिता भएको नेपाली सेनाका सहायक रथी अनुपजंग थापाले बताए । यस्तो प्रतियोगिता आगामी दिनमा अन्य प्रदेशहरुमा पनि नेपाली सेनाले गर्ने उनको भनाइ छ ।

एकताको दौड भनिएको प्रतियोगिता ‘हिमाल पहाड तराई कोही छैन पराई’ भन्ने सन्देश दिन सेना, प्रहरी र नागरिकको सहकार्यमा भएकोले सबै सहभागी भएको धावकहरुले बताए । यस्ता सहकार्यात्मक प्रतियोगिता हुनु निकै सकारात्मक भएको प्रदेश नम्बर २, का मुख्य मन्त्री लालबाबु राउत गद्दीको पनि भनाइ छ । प्रतियोगितालाई प्रदेश २, सरकार र वीरगन्ज महानगरपालिका लगायतका स्थानीय संघ संस्थाहरुले पनि सहयोग गरेका छन् ।

पाँच हजारदेखि ४२ हजार मिटर सम्मको दौड


म्याराथन प्रतियोगितामा सबैभन्दा लामो दूरी ( ४२ हजार मिटर ) सम्मको निर्धारण गरिएको थियो । यो दौडमा नेपाल आर्मीका अमल्दार खजेन्द्र भाट प्रथम भए । उनले १ लाख २५ नगद र टीभिएस कम्पनीको १२५ सीसीको स्कुटी प्राप्त गरे । त्यसै गरी दोस्रो र तेस्रो क्रमश आर्मीकै राजन रोकाया र हरिकुमार रिमाल भए । उनीहरुले पनि १ लाख ५० हजार र १ लाख रकम पाएका छन् । यो दौडमा महिला तर्फको भने सहभागिता थिएन ।

२१ हजार मिटर सम्मको दौडमा भने महिलाहरुले पनि भाग लिएका छन् । यो दौडमा महिला धावकहरु मध्ये राजपुरा पछाई प्रथम, फूलमती राना द्वितीय र विन्द्रा श्रेष्ठ तृतीय भएका छन् । त्यसै गरी पुरुष तर्फका धावकहरुमा गजेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय, राजमी बस्नेत तृतीय भए । महिला र पुरुष दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने विजेताहरुलाई क्रमशः ७५ हजार ५० हजार र ३५ हजार रकम उपलब्ध गराइएको छ ।


त्यसैगरी १० हजार मिटरको महिला पुरुष र सिभिलियन तथा ओपन दौडमा सिभिलियन महिला तर्फ सकुन्तला ठगुन्ना प्रथम, मन्जु राउत द्वितीय, भए । सिभिलियन तर्फ तेस्रो प्रतियोगी कोही भएनन् । त्यसै गरी विभागीय तर्फ १० किलोमिटरकै दौडमा पूर्णलक्ष्मी न्यौपाने प्रथम, सरस्वती भट्टराई द्वितीय र विर्सना कुमाल तृतीय भए । पुरुष तर्फ भने सागर श्रेष्ठ प्रथम, दिनेश बोगटी द्वितीय र प्रिन्स कुमार गुप्ता तृतीय भए । विजेताहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार पाए । यो प्रतियोगितामा महिला र पुरुष दुवै समूहका विजेतालाई समान राशीको पुरस्कार र पदक प्रदान गरिएको छ ।

महिला तर्फ ४० बर्ष माथिकाले लिएनन् भाग


दश हजार मिटर तर्फ महिला पुरुष दुवै समूहबाट सहभागिता भए पनि ४० बर्ष माथिको उमेर समूहका महिलाहरुको ५ हजार मिटरको दूरी तर्फ सहभागिता भएन । ४० बर्ष माथिका पुरुष तर्फ भने जयनरेश सिंह प्रथम, राजेश्वर कुमार दोस्रो र श्याम चौधरी तेस्रो भए उनीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार र पदक र प्रमाण पत्र प्रदान गरिएको छ ।

५ किलोमिटर तर्फ नै कक्षा ११ र १२ का धावकहरु मध्ये छात्रातर्फ अन्जु खड्का प्रथम, मिना ज्ञवाली द्वितीय र संगिता यादव तृतीय भए । छात्रतर्फ नारायण कुमार कुश्मा प्रथम, देव नन्दल द्वितीय र अदिश कुमार पटेल तृतीय भए । विजेता छात्रा छात्रलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार प्रदान गरिएको छ । त्यसै गरी कक्षा ८ देखि १० कक्षा भित्रका छात्रछात्राहरु मध्ये छात्रा तर्फ फूलनाज खातुन प्रथम, ऋष्टी साह द्वितीय र कृतिका बस्नेत तृतीय भए । छात्र तर्फ युवराज लिम्बु प्रथम, अदेश कुमार यादव द्वितीय र अयुष मिया तृतीय भए । उनीहरुलाई पनि वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले क्रमशः १० हजार, ७ हजार र ५ हजार र पदक तथा प्रमाण पत्र प्रदान गरे ।

ह्विल चेयर दौड पनि

ह्विल चेयरबाट फकर क्षमता भएका व्यक्तिहरुको पनि दौड गराइएको छ । उनीहरुलाई १ हजार मिटर सम्मको दूरी निर्धारण भएको थियो । यो दौडमा सन्तोष महतो प्रथम, अनिल मालाकार द्वितीय र रमेश महतो तृतीय भए । उनीहरुलाई पनि क्रमशः १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र र पदक प्रदान गरिएको छ । फरक क्षमता भएका तर्फ महिलाहरुले भने भाग लिएनन् ।

 
तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ