काठमाडौं । यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्डबाट अग्रज गायक योगेश वैद्यलाई सम्मानित गरिने भएको छ । आगामी २१ चैतमा काठमाडौंमा हुने ११औं संस्करणको यो अवार्डमा प्रदान गरिने संस्थाकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी गराएकी छन् ।
अवार्ड स्वरूप वैद्यलाई १ लाख रुपैयाँ र ताम्रपत्रबाट सम्मानित गरिनेछ । अध्यक्ष रेग्मीका अनुसार यस वर्षको विन्ध्यवासिनी संगीत साधना सम्मान ५० हजार रुपैयाँसहित गायिका कुन्ती मोक्तानलाई प्रदान गरिने भएको छ ।
यसअघि विन्ध्यवासिनीका विभिन्न पुरस्कार एवं सम्मानबाट सम्मानित भएका स्रष्टाहरूको काठमाडौंमा सम्पन्न भेलाले यो निर्णय गरेको हो । यस्तै, सो भेलाले गरेको सिफारिसअुनसार विन्ध्यवासिनी संगीत रत्न सम्मान नगद २५ हजार रुपैया“सहित लोकगायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी, विन्ध्यवासिनी संगीत कला पत्रकारिता पुरस्कारबाट २५ हजार रुपैयाँसहित पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिने भएको छ । कोभिडका कारण गत वर्ष आयोजना हुन नसेकेको यो अवार्ड यसपटक आयोजना गर्न लागिएको अध्यक्ष रेग्मीले बताएकी छन् ।
विन्ध्यवासिनी म्युजिक अवार्डमा असहज परिस्थिति कारण यस वर्ष केही विधा हटाइएको आयोजक संस्थाका सञ्चालक सुवास रेग्मीले जानकारी गराए । रेग्मीले समारोह भव्य रूपमा आयोजना गर्ने बताए । यस वर्ष अवार्डको आवेदन निःशुल्क गरिएको र मनोनयनको संख्याअनुसार प्रतिमनोनयन बराबर १ हजार रुपैयाँका दरले बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने पनि उनले बताएका छन् ।






