सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् ।
ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष नेकपा दुवैले जिल्ला तह देखि वडा तहसम्म पार्टीका कमिटी जनवर्गीय संगठनको कमिटीहरुलाई नयाँ संरचना अनुसार अघि बढाइरहेका हुन् ।
दाहाल–नेपाल निकट नेकपाका अध्यक्ष झम्क नेपाल रहेका छन् भने सचिवमा गोबिन्द पराजुली छन् । त्यस्तै ओली निकट नेकपामा संयोजक बालकृष्ण देउजा रहेका छन् भने सहसंयोजकमा चन्द्र धिमालकोटी रहेका छन् ।

संसद विघटन लगतै गाउँ तहसम्म पुगेको दाहाल–नेपाल पक्षीय नेकपा सिन्धुपाल्चोकका नेताहरु यतिबेला जनवर्गीय संगठनको भेला,नयाँ कमिटी गठन पुर्नगठनमा लागेका छन् । उक्त समुह निकट अखिल नेपाल महिला संघ बाह्रविसे नगर कमिटीले शनिबार बाह्रविसेमा नगर स्तरीय वृहत्त भेलाको आयोजना गरेको छ । नगर स्तरीय महिला भेलाले कल्याणी घिसीङको संयोजकत्वमा ५७ सदस्यीय नगर समिति गठन गरिएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख एवम नेकपा जिल्ला सदस्य सुसिला पाख्रीनले जानकारी दिइन् ।
त्यसै गरी अनेमसंघ बाह्रविसे नगर स्तरीय कमिटीको सह–संयोजकमा रत्नकुमारी तामाङ चयन भएकी छन् । अहिले ५७ सदस्यी नगर कमिटी गठन भएपनि पहिलो बैठकले अरु सदस्य थप गर्ने जिल्ला सदस्य समेत रहेकी उपप्रमुख पाख्रिनले जानकारी दिइन ।

अनेमसंघको बाह्रविसे नगर स्तरीय महिला भेलामा नेकपा केन्द्रीय सदस्य एवम वागमती प्रदेशका पुर्व उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपालले असंवैधानीक रुपमा गरिएको संसद विघटनको निर्णय सर्वाेच्च अदालतले उल्टाइदिएकाले अब तल्लो तहसम्म यसको सन्देश लिएर जानु पर्नेमा जोड दिए । कार्यक्रममा बाह्रविसे नगरपालिकाका मेयर एवम नेकपा जिल्ला सदस्य निमफुञ्जो शेर्पाले अहिले पनि धेरै महिला र पार्टीका नेता कार्यकर्ताहरु आफुहरुकै नेकपामा रहेकाले अब सबै महिलाहरु गाउँ गाउँमा गएर संगठन बिस्तारमा लाग्नुपर्नेमा जोड दिए । मेयर शेर्पाले भने–आजको यो विशाल उपस्थितिले पनि बाह्रविसेमा नेकपा एकताबद्ध छ भन्ने सन्देश दिएको छ ।’
नगरस्तरीय महिला भेलामा अनेमसंघकी केन्द्रीय सदस्य समिता कार्की,अनेमसंघकी नेतृ एवम मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाल,नेकपा प्रदेश कमिटी सदस्य अमृता नेपाल, अनेमसंघ जिल्ला संयोजक अम्बिका नेपाल लगायतले आधिकारी नेकपा आफुहरु नै भएकाले कुनै अलमलमा नपर्न सबैलाई आग्रह गरेका थिए ।






