काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पाटी (जसपा) सत्ता सहकार्य नजिक पुगेका छन् । दुवै पक्षबीच सत्ता सहकार्य गर्ने अनौपचारिक सहमति भएको स्रोतको दाबी छ । सहमतिलाई केही दिनमा नै लिखित रूप दिनेगरी छलफल जारी राखिएको जनाइएको छ ।
दुवै पार्टीबीच निरन्तर छलफल भइरहेको र छिट्टै औपचारिक सहमति हुने छलफलमा सहभागी एक नेताले बताए । छलफलमा सहभागी एक नेताका अनुसार धेरै कुरामा दुवै दलका शीर्ष नेता सहमतिनजिक पुगिसकेका छन् । केही प्राविधिक कुरा मात्रै मिलाउन बाँकी रहेकाले छिट्टै नै सहमति हुने विश्वास नेताले व्यक्त गरेका छन् ।
एमाले र जसपा दुवैले वार्ताका लागि कार्यदल गठन गरी वार्ता गर्दै आइरहेका छन् । एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङसहित विष्णु पौडेल र राजन भट्टराई तथा जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला कार्यदलमा छन् । यो कार्यदलको छलफल निरन्तर जारी रहेको नेता नेम्वाङले बताए ।
‘हामी निरन्तर छलफलमै छांै र छलफललाई निरन्तरता दिने सहमति भएको छ,’ नेम्वाङले भने, ‘धेरै विषय मिलिसकेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहे पनि छिट्टै मिलाउने गरी अघि बढिरहेका छांै ।’
प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आफंै जसपालाई सरकारमा सहभागी गराउने कसरतमा छन् । प्रधानमन्त्री ओलीले केही समयदेखि आफंै जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसँग बालुवाटारमा छलफल गरिरहेका छन् । सरकारलाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिनेबित्तिकै जसपाबाट समर्थन गराउने रणनीतिमा ओली रहेका छन् ।
एमाले र जसपा मिल्दा संसद्मा सरकारको पक्षमा बहुमत जुट्ने नेता नेम्वाङले बताए । जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, लाल आयोग सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन, झुटा मुद्दा फिर्तालगायतका माग जसपाले उठाउँदै आएको छ । यी सबै मागका विषयमा दुवै दलबीच छलफल चलिरहेको नेता नेम्वाङले जानकारी दिए ।
जसपा नेता कर्णले दुवै दलबीच छलफल भए पनि सहमति केही हुन नसकेको बताए । यद्यपि, आफूहरूका माग’bout प्रधानमन्त्री ओली सकारात्मक रहेको उनले बताए ।
‘प्रधानमन्त्रीजी हाम्रा माग सम्बोधन गर्न सकारात्मक हुुनुहुन्छ । छिट्टै नै हामीबीच सहमति पनि हुन सक्छ’ कर्णले भने, ‘अहिलेसम्म भएको छलफल राम्रै छ । हाम्रो माग सम्बोधन हुने भयो भने हामी पार्टीमा छलफल गरेरै अघि बढ्छांै ।’






