काठमाडौं । हुन त, जीवन थापा ‘क्षितिज’ कला फाँटमा नौलो नाम भने होइन । लेखनीमा उनको विशेष दख्खल छ । रंगमञ्चबाट ‘स्कुलिङ’ गरेका थापाले नछोएका पाटा कमै छन् ।
अब भने निर्देशकको बागडोर सम्हाल्न आइपुगेका छन्, थापा । नाटक निर्देशनमा अलि बढी खारिएपछि उनमा ठूला पर्दाको ‘निर्देशक’ बन्ने साहस पलाएको हो ।
‘ठूला पर्दामा पहिलो प्रयास गरेको छु,’ भन्छन्, ‘मेहनत गरेअनुसार दर्शकबाट माया पाउने आशा छ ।’ दर्जनौं नाटक लेखनीस“गै थापाले धेरै म्युजिक भिडियोमा अभिनयसमेत गर्न भ्याएका छन् ।
निर्देशनको सवालमा डेब्यु ‘अन्तिम पाना’ एकल पात्रमा आधारित फिल्म हो । एक मात्रै कलाकार अभिनय गरेको नेपालकै ‘पहिलो फिल्म’ भन्छन्, थापा । ‘यसअघि यस्तो फिल्म बनेको छ जस्तो लाग्दैन,’ उनले भने, ‘नेपालमा पहिलो हुनुपर्छ, यसखाले चलचित्र बनेको । एउटै पात्रमाथि चलचित्र सक्नु चुनौतीपूर्ण हो ।’
उनका अनुसार ‘अन्तिम पाना’मा उमेश कार्कीको एकल अभिनय हेर्न पाइन्छ । ‘२ घण्टा एक्लै अभिनय गर्नु भनेको सामान्य हैन,’ एकल पात्र कार्की सुनाउ“छन्, ‘काम कठिन हो तर यस्तो भूमिका निर्वाह गर्न पाउ“दा गौरव पनि लागेको छ ।’
विभिन्न समस्याका कारण एक्लिन बाध्य पात्रको जीवन संघर्ष मुख्य विषय बनाइएको छ, ‘अन्तिम पाना’मा । भोजपुर ट्याम्केमैयु, पाफा र अरुण गाउँपालिकाको याकुलगायत क्षेत्रमा फिल्म छायांकन गरिएको थापा बताउ“छन् ।
प्रयोगवादी फिल्म निर्माण जिम्मेवारी दिवाज राई किरातीले सम्हालेका हुन् । नियोमा राई यसकी कार्यकारी निर्माता छिन् । मुख्य सहायक निर्देशन सन्तोष थापा, छायांकन तथा सम्पादन केदार राई र लेखन थापाकै हो । दिवाज फिल्मको ब्यानरमा निर्मित चलचित्र हाल सम्पादनमा छ ।
निर्माता किरातीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी गराएपछि मात्रै नेपालमा ‘अन्तिम पाना’ सार्वजनिक प्रदर्शन गरिनेछ ।






