सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ ।
सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान सुरु गरेका छन् । रमजान महिनामा एक महिनासम्म अनिवार्य रुपले रोजा अर्थात ब्रत बसेर पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन रहेको मुश्लिम अगुवा हासिम अन्सारी बताउँछन् ।
रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र बिरामीलाई रोजा अनिवार्य छैन् । अन्य हरेक मुश्लिम समुदायका सदस्यले रोजा बस्नै पर्ने प्रचलन रहेको स्थानिय मुश्लिम अगुवा फैयाज अन्सारी बताउछन् ।
साँझ सूर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफतयार गर्ने र रमजानका अवसरमा नवाज पढ्नुका साथै गरिब गुरुवालाई आफ्ना सम्पत्तिको केही हिस्सा दान गर्ने परम्परा रहेको राजविराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. अख्तरबाबाको भनाई छ ।
यद्दपी गत वर्ष झैं यसपल्ट पनि कोरोनाको जोखिम कायमै रहेकाले सामूहिक नवाजका क्रममा मस्जिदहरुमा सहभागि हुनेको संख्या निकै घटेको उनको भनाई छ ।
एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानिय इदगाहा र मस्जिदमा पुगेर सामुहिक नवाज पढेर हर्षोउल्लासका साथ ईद मनाउने चलन रहेपनि कोरोनाको जोखिमका कारण यस पल्ट पनि उक्त पर्व फिक्का हुने स्थानिय मुश्लिम अगुवाहरु बताउँछन् ।
नेपालमा लगभग १४ लाखको संख्यामा रहेका मुसलमान समुदाय राजधानी, पहाडी जिल्ला र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् । रमजान महिना उनीहरुका लागि शुभलाभको महिना मानिन्छ ।






