वीरगन्ज । कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । मृतकमध्ये एकको शनिबार गण्डक अस्पतालमा मृत्यु भएको हो । शुक्रबारसम्म १० जनाको कोरोनाकै कारण निधन भइसकेको छ । शनिबारसहित मृतक संख्या ११ पुगेको छ ।
शनिबार मृत्यु भएका वीरगन्ज–१३ का ५३ वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका पुरुषको सुरुमा भरतपुरमा उपचारक्रममा मृत्यु भएको थियो । त्यसको १२ दिन बित्न नपाउँदै बाराका दुई र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ ।
पहिलेजस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधैं फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ । यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ ।
नारयाणी अस्पतालमा ४० संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ जना गम्भीर छन् । ‘मानिस किन यति हेलचेक्र्याईँ गर्छन् ? बुझ्नै सकिएन,’ डा. दासले भने, ‘दोस्रो फेजको कोरोना पहिलेजस्तो सामान्य होइन ।’
सामान्य अवस्था भएका संक्रमितलाई भने अस्पताल भर्ना नगरी स्थानीय प्रशासन र पालिकाको समन्वयमा होम आइसोलेसनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । संक्रमित संख्या शनिबार थप भएका ९० जनासहित १ हजार नाघेको छ ।
सक्रिय संक्रमित मात्रै अहिले ५ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालयको कोभिडतर्फ तथ्यांक अपडेट गरिरहहेका प्रशासकीय अधिकृत विनय श्रीवास्तले जानकारी दिए । १५ दिनभित्र यति संख्या भेटिनु र मृतक संख्या अनपेक्षित बढ्नुले सामान्य नभएको उनको तर्क छ ।
खुला सीमाले झन् खतरा
छिमेकी मुलुक भारतमा कोरोना दोस्रो लहर ह्वात्तै बढिरहेको समय खुला सीमा भएको मुलुकको प्रमुख नाका वीरगन्ज क्षेत्रमा पनि अप्रत्यासित रूपमा संक्रमित बढिरहेका छन् ।
सीमापारिबाट आउनेको कमी नहुनु र हेल्थ डेक्सले धान्न सक्नेभन्दा बढी दैनिक भित्रि“दा भयावह हुने खतरा बढेको स्थानीय बताउ“छन् ।
पहिलो फेजमा पनि कोरिडोर क्षेत्रका भारतीय श्रमिकका कारण बारा, पर्सा र रौतहट तीनै जिल्ला निकै गाँजिएका थिए । शनिबार आएको पछिल्लो २४ घण्टाको विवरणअनुसार वीरगन्ज नारायणी अस्पतालमा १ सय ४० जनाको स्वास्थ्य परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि हुनु खतराकै संकेत रहेको नारायणी अस्पतालले जनाएको छ ।
संक्रमित पा“च वर्षदेखि ७७ वर्ष उमेर समूहका छन् । पर्सामा सक्रिय संक्रमित संख्या ५ सय ७७ पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए ।
संक्रमितमा युवा बढी
नारायणी अस्पताल प्रयोगशालामा जारी परीक्षणमा संक्रमित भेटिएका मध्ये बढीजसो ४०–४५ वर्ष कम उमेरका बढी भेटिएका छन् । संक्रमितको सिटी भ्यालु प्रायः १४ देखि ३५ सम्म छ । बढी संक्रमित योङ एडल्ट हुनुले अझ खतरा बढेर गएको डा. दासको भनाइ छ ।
लकडाउन गर्न डाक्टरको सुझाव
स्थानीय प्रशासनले लकडाउन वा सेमी लकडाउन गरी करिब दुई साताजति परीक्षण दायरा अत्यधिक बढाउन सके केही जटिल अवस्थाबाट बच्न सकिने डा. दासको सुझाव छ ।
सबै विद्यालय खुला
दैनिक नयाँ संक्रमित थपिने र मृत्यु हुनेक्रम अप्रत्यासित हुन थाले पनि वीरगन्ज महानगरपालिकाभित्रका सबै शैक्षिक संस्था बन्द भएका छैनन् ।
महानगर क्षेत्रका ५ कक्षामुनिका भने सबै विद्यालय गएको सोमबारबाट बन्द छन् । महानगरपालिका बैठकले यस्तो निर्णय गरेको हो । आइतबारबाट लिइने परीक्षा लक्षित निजी विद्यालयले अझै विद्यार्थीलाई विद्यालयमा बोलाउँदै छन् ।






