जनसंख्याको सिद्धान्तले जब–जब प्रकृतिको सन्तुलन खल्बलिन्छ तबतब प्रकृति स्वयंले जनसंख्याको सन्तुलन मिलाउँछ भन्छ । त्यस्तो सन्तुलन प्राकृतिक विपत्ति, महामारी वा अन्य ढंगले हुने नरसंहारका रूपमा देखापर्छ, बाढी, पहिरो, भूकम्प, ज्वालामुखी, आगलागी आदि प्राकृतिक विपत्ति हुन् भने महामारीले पनि जनसंख्यालाई नियन्त्रणमा राख्न सक्छ भन्ने मान्यता छ । यस्ता, महामारी बेलाबेलामा आउने गरेका छन् । यसपाली विश्वलाई कोरोना भाइरस ‘कोभिड–१९’ ले त्रसित बनाएको छ । यातायातको सहजता तथा सञ्चारका आधुनिक प्रविधिको विकासले विश्वलाई साँघुरो बनाइदिएको छ । भूमण्डलीकरणले संसारलाई नै सानो गाउँमा परिणत गरिदिएको छ । यिनै कारण संसारको एक छेउको घटनाले अर्को छेउलाई तत्काल प्रभाव पार्छ । यसका सकारात्मक र नकारात्मक दुवै खाले असर पर्छ । अहिले नकारात्मक प्रभावको उदाहरण बनेको छ यही कोरोना भाइरस । चीनबाट उत्पन्न यो भाइरसले यतिखेर विश्वका प्रायः सबै क्षेत्रमा त्रास उत्पन्न गरिदिएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारले भने कुनै तयारी थिएन । जेनेभामा गत बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडोस एडानोम ग्रेहबे्रयससले कुनै पनि मुलकमा ‘कोभिड–१९’ भित्रिन्न भनेर बस्न नहुने बताएका थिए । महानिर्देशक टे«डोसले कुनै पनि मुलुकले  ‘कोभिड–१९’आफ्नो देशमा भित्रिँदैन भनेर सोच गम्भीर गल्ती हुनेछ भन्दै यसले जात, जाति वा आर्थिक वृद्धिलाई नहेर्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्ने बताएका थिए । यो भाइरस महामारी बन्नेतर्फ उन्मुख भएको तर यो डराउने होइन कि मानिसको जीवन बचाउनका लागि संक्रमण रोक्न उचित कदम चाल्नुपर्ने बेला भएको उनको भनाइ थियो । स्मरणीय छ, विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेकोमा चिन्ता व्यक्त गरेकोछ । पछिल्लो साता मात्रै युरोप र मध्यपूर्वदेखि अफ्रिकाको नाइजेरियिासम्म भाइरस संक्रमण फैलिसकेको छ ।

डब्लूएचओका अनुसार ब्राजिल, जर्जिया, ग्रिस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा ‘कोभिड–१९’को संक्रमण देखिएको छ । यसअघिदेखि नै इरान, दक्षिण कोरिया, इटली र जापान समेतका मुलुकमा यसको प्रभाव देखिएको छ । चीन पछि सर्वाधिक प्रभावित मुलुकमा यिनै पर्छन् । ५०भन्दा बढी देशका झन्डै एक लाख व्यक्ति यसको संक्रमणमा परिसकेका छन् । संक्रमण बढ्ने भयले विश्वका विभिन्न मुलुकले ‘ट्राभल एडभाइजरी’ जारी गरेका छन् भने कैयन देशले संक्रमितको संख्या उच्च रहेका देशका नागरिकको प्रवेशमा रोक लगाएका छन् ।

‘कोभिड–१९’ संक्रमित वृद्धि हुनथालेपछि विश्वभर यसले त्रास उत्पन्न गराएको छ । सार्वजनिक स्थलमा मानिसको उपस्थिति कम हुँदै गएको छ । धेरै देशले रोकथामका उपायमा जोड दिएका छन् । अमेरिकामा उपराष्ट्रपति माइकपेन्सको संयोजकŒवमा प्रकोप नियन्त्रण तथा रोकथाम कार्यलाई अगाडि बढाइने घोषणा गरिएको छ । भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहँदा अमेरिकाले स्वास्थ्यमा आपतकालीन अवस्था निम्तिएको घोषणा गरेको छ । बेलायतले गम्भीर स्वास्थ्य चुनौती देखापरेको भनेको छ भने डब्लूएचओले कोभिड १९ संक्रमणका कारण गत जनवरी ३० मा नै संकटकाल घोषणा गरिसकेको थियो ।

कोभिड–१९को असर विश्वभर परेको छ । यसले विश्वकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । यसका केही संकेत देखापरिसकेका छन् । कोभिडकै कारण पाकिस्तानले केही क्षेत्रका विद्यालय बन्द गरेको छ भने जापानका विद्यालय बन्द भएका छन् । जापानले अप्रिलसम्मका लागि सबै विद्यालय बन्द गरेको हो । जापानको योकोहामामा एक पानी जहाजबाट आएका यात्रुलाई ओर्लन नदिई सिंगै जहाजका यात्रुलाई क्वारेन्टाइनमै राखिएको छ, जसमा रहेका केही संक्रमितको मृत्यु भइसकेको छ । इरानसहित मध्यपूर्वी देशमा कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि भएपछि साउदी अरबले मुस्लिम धर्मावलम्बीका पवित्रस्थल मक्का र मदिनालगायतका धार्मिक क्षेत्रमा विदेशी तीर्थालुलाई रोक लगाएको छ । यद्यपि, साउदी अरबमा भने हालसम्म कोभिड–१९ संक्रमण देखिएको छैन ।

केरोना भाइरसकै कारण अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ । दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सैनिकसहित दक्षिण कोरियाली सेनमा कोभिड–१९संक्रमण पाइएपछि अर्को सूचना जारी नभएसम्मका लागि सैन्य अभ्यास रोकिएको हो । उता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारीका कारण मन्त्री तथा कूटनीतिज्ञलाई अमेरिकाको न्युयोर्कमा आयोजना हुने भनिएको महिलाको अवस्थाका ’boutको आयोगको छलफलमा सहभागी नहुन आग्रह गरेका छन् । सात हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने उक्त वार्षिक कार्यक्रममा लैंगिक समानतालाई बढावा दिने तथा महिला सशक्तीकरण’bout छलफल हुने र यस वर्ष सो कार्यक्रम मार्च ९ देखि २०सम्म आयोजना हुन गइरहेको छ ।

चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बटटुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले गत शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो । चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा पठाइएको हो । कोभिड–१९को संक्रमण देखिएपछि चीन भ्रमण गर्ने खल्तमा पहिलो राष्ट्रप्रमुख हुन् । उनी बिहीबार विदेशमन्त्री र केही वरिष्ठ सरकारी अधिकारीसँग चीन भ्रमणमा गएका उनी फर्के लगत्तै क्वारेन्टाइनमा गएका हुन् । अस्ट्रेलियामा पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गर्न आदेश दिइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों स्वयं नै कोभिड–१९सम्बन्धी सचेतना ¥यालीमा सहभागी भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कोरिया, युरोप र मध्यपूर्वका देशसमेत ५०भन्दा बढी मुलुकसम्म फैलिएपछि नेपाल सरकारले पनि मुलुकमा रोकथामका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपाललाई समेत उच्चजोखिममा राखेको तथा मुलुकमा बढी आउजाउ हुने चीनबाहेकका अन्य देशमा समेत कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार बालुवाटारमा बैठक बोलाई उच्च सतर्कता अपनाउने निर्णय गराएका थिए । बैठकले कोरोनाको रोकथामको पूर्वतयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकŒवमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्रीसमेत रहेका छन् । समितिले नेपालसँग हवाइसहित यातायत सञ्जालले जोडिएका मुलुकमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक कदम चाल्ने बताइएको थियो । बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएका देशमा हवाइ उडान रोक्ने विषयमा समेत छलफल भएको र यस’bout समितिले नै अध्ययन गरेर आवश्यक परे हवाइ उडान स्थगितसम्मको निर्णय गर्ने समेत बताइएको थियो ।

प्रधानमन्त्री ओलीले समितिलाई कोरोना रोकथामका लागि आवश्यक निर्णय गर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुको स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक चिकित्सक र उपकरणको तत्काल व्यवस्था गर्न समेत निर्देशन दिएका थिए । स्मरणीय छ, संसार सजग भइसक्दा पनि हामी सीमा जोडिएका मुलुकले भने यसप्रति आवश्यक होसियारी नै अपनाउन नसकेकोे वा त्यसप्रति गम्भीर भएनौं । झन्डै दुई महिनापछि आएर मात्र हामी कोरोनाप्रति केही चासो राख्न थालेका हौं ।

हामीले सन् २०२०लाई भ्रमण वर्षका रूपमा मनाइरहेका छौं । २० लाख पर्यटक भिœयाउने हाम्रो योजना त असफल हुने निश्चित भई नै सकेको छ, विश्व स्वास्थ्य संगठनले हामीलाई जोखिमको सूचीमा राखेको सार्वजनिक हुनु अघिसम्म हामीले हामी सुरक्षित छौं, भ्रमण योजना रद्द नगर्नु भन्दै सूचना जारिगरिरहेका थियौं । कहाँसम्मको अपरिपक्वता ? हामी जोखिममा छौं भनेर अर्काले भनिदिनु पर्ने ? योभन्दा नालायकी र निर्लज्जता अर्को के हुन सक्छ ? स्मरणीय छ, चीनबाट फर्केका तीन जना नेपाली र एक चिनियाँ समेत चारजनालाई ‘कोभिड–१९’ संक्रमणको आशंकामा ‘आइसोलेसन’मा राखिएको छ भने वुहानबाट उद्धार गरी ल्याइएका १७५ जना खरिपाटीमा क्वारेन्टाइनमा छन् । उनीहरूलाई ल्याउने विमानको चालकदलका सदस्यहरू भने क्वारेन्टाइनबाट मुक्त गरिएका छन् ।

यसैबीच, प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने भएपछि सो अगावै गर्नुपर्ने केही निर्णयका लागि आकस्मिक रूपमा बोलाई फागुन १८ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको बढ्दो जोखिमका कारण ‘नेपाल भ्रमण वर्ष, २०२०’ स्थगित गर्ने निर्णय गरेको छ । बैठकले ‘सगरमाथा संवाद’को कार्यक्रम पनि स्थगित गरेको छ । अन अराइभल भिसा दिने गरेकोमा सो व्यवस्था स्थगित गरिएको छ । सरकारले संक्रमण जोखिमकै कारण भीडभाड हुने गरी सभा सम्मेलन र भोजभतेरजस्ता कार्यक्रम आयोजना नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको छ ।

हामीले बेलाबेलामा विभिन्न किसिमका विपत्ति र महामारीको सामना गर्दै आएका छौं । विश्वमा फैलने रोगव्याधीले बेलाबेलामा हामीलाई प्रभावित पारेका छन् । तर पनि हामीले त्यसबाट पाठ सिक्न सकेका छैनौं । हामी बेलामा तान्दैनौं, जब ढिलो भइसकेको हुन्छ, तब भने हतारिन्छौं । अहिलेको अवस्था पनि त्यस्तै देखिएको छ । सीमा जोडिएको मुलुकमा उत्पन्न भएको कोरोना भाइरस हामी कहाँ सहजै प्रवेश गर्न सक्छ भनेर बेलैमा सजगता अपनाउनुपर्नेमा त्यसप्रति उत्तिकै गम्भीर भएनौं । अवश्य पनि नेपाल आउने चाहने नेपाली विद्यार्थीलाई ल्याएर क्वारेन्टाइनमा राख्यौं तर भाइरस हामी कहाँ आउन सक्छ भनेर चिनियाँ वा चीन हँुदै आउने यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाउन चासो राखेनौं । हामी सुरक्षित छौं, हामी कहाँ कोरोना छैन भन्दै बसिरह्यौं । अन्ततः जब विश्व स्वास्थ्य संगठनले जोखिमयुक्त मुलुकको सूचीमा हामीलाई पनि राखिदियो तब हामी तात्यौं । यो हाम्रो कमजोरी हो । एकातिर भरपर्दो परीक्षणको व्यवस्था नहुनु र अर्कोतिर आवश्यक होसियारी नअपनाइनु आफंैमा गैरजिम्मेवारी हो ।

अन्त्यमा, ‘कोभिड–१९’ ले विश्वलाई नै प्रभावित गरेको छ । यसले विश्वलाई त्रसित बनाएको छ । डब्लूएचओका महानिर्देशकले भनेझैं यो साझा चुनौती हो । यसले जातजाति, आर्थिकस्तर वा अन्य कुनै पनि दृष्टिले कसैमा विभेद गर्दैन । समृद्ध भनिएका अमेरिका, बेलायत, अस्ट्रेलिया आदि राष्ट्र यसप्रति सजग देखिएका छन् ।

अन्य थुप्रै मुलुकले यसबाट बच्नका लागि सक्दो प्रयास गरेका छन् । ढिलै भए पनि हामी पनि तातेका छौं । भ्रमण वर्षको स्थगन, सगरमाथा संवादको स्थगनजस्ता निर्णय उचित हुन् । विमानस्थलमा परीक्षणको व्यवस्था पनि स्वागतयोग्य नै मान्नुपर्छ । आशा गरौं, ढिलै भए पनि देखाइएको गम्भीरता तथा उच्चसतर्कताले हामीलाई कोरोना भाइरस ‘कोभिड–१९’बाट सुरक्षित रहन सहयोग गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ