काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक सन्देश पैदा होला । हिजो मात्रै प्रेश काउन्सिलले जारी गरेको अपिल पनि हेरेको थिएँ । सकारात्मक तस्विरका खोजिका लागि भौंतारिँदै हिँडेका मेरा लागि यहि एउटा महत्वपूर्ण विषय थियो ।
केही युवाहरुको पहलमा आइसोलेशन बेड बन्दै गरेको ठाउँमा पुगेर जब क्यामेरा निकाले युवाहरुले आग्रहको भाषामा भनेँ ‘प्लिज हाम्रो फोटो नखिच्नु होला । घरका मान्छेले थाहा पाउछन् ।’
मैले क्यामेरा बन्द गरेँ र कुरा गर्न थालेँ । काठमाडौंका सरकारी अस्पतालमा बिरामी राख्ने बेड अभाव भएको थाहा पाएपछि केही जुझारु युवाहरुले बीर अस्पतालमै बिग्रिएर बसेका पुराना वेडहरु मर्मत गरेर नयाँ भवनमा आइसोलेशन सेन्टर बनाउन लागेका रहेछन् । ‘यो संक्रमणको बेला हाम्रा परिवारका सदस्यले हामीलाई यसरी काम गर्ने छुट दिनुहुन्न । हामीले यसरी काम गरेको थाहा भो भने संक्रमण होला भन्ने चिन्ता हुन्छ घरका मान्छेलाई ।’ एकजना युवाले भने । केही क्षणको कुराकानीपछि सहमतिमै केही तस्विर खिचेँ । पुराना सामग्री मर्मत गरेर दुईसय बेड तयार गर्ने योजनामा युवाहरूकाे शैली वास्तवकै लाेभ लाग्दाे लाग्याे ।







