अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सचिवहरूबीच भएको छलफलपछि अहिलेको यस्तो गम्भीर अवस्थामा कोरोना संक्रमित बिरामीलाई अपुग भएको अक्सिजन ग्याँसका सिलिन्डर औद्योगिक प्रयोजनमा विभिन्न कारखानामा राखेको पाइएकाले प्रहरी परिचालन गरेर विभिन्न उद्योगमा रहेको अक्सिजन ग्यास सिलिन्डर उठाउने निर्णय भएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले जानकारी दिए ।

उनले बारम्बार अपिल गर्दा पनि यस्ता उद्योगले अक्सिजन ग्यासका सिलिन्डर फिर्ता नगरेपछि प्रहरी परिचालन गरेको र केही उद्योगबाट प्रहरीले सिलिन्डर फिर्ता ल्याउन सुरु गरिसकेको बताए । औद्योगिक प्रयोजनका लागि हाल सबैभन्दा धेरै मात्रामा अक्सिजन ग्यासका सिलिन्डर बिक्री गर्ने हाम्रो ग्यास उद्योगको मात्रै झन्डै ४ हजार अक्सिजनका सिलिन्डर होल्ड भएको प्रारम्भिक जानकारी विभागमा प्राप्त भएको पनि उनले बताए । बिहीबार मात्रै हाम्रो अक्सिजन उद्योगमा धेरै अक्सिजनका सिलिन्डर प्रहरीले फिर्ता ल्याएको जानकारी गराउँदै भुसालले भने, ‘अहिले यहाँबाट कुन उद्योगले कति सिलिन्डर लगेको भन्ने अक्सिजन उद्योगको विवरणका आधारमा प्रहरी परिचालन भएका छन ।’

अहिले कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन ग्यासका सिलिन्डरको व्यवस्थापन गर्न विभिन्न अक्सिजन उद्योगको समस्या बुझ्न र सिलिन्डर फिर्ता’bout सहजीकरण गर्न उद्योग र गृहसचिव अनुगमनमा निस्किएको पनि उनले जानकारी गराए । अनुगमनको क्रममा विभागले अहिलेसम्म संकलन गरेको जानकारीअनुसार निजी क्षेत्रका उद्योगसँग भएको हालसम्मको विवरणमा देशभर १ लाख ८ हजार १ सय ६४ वटा अक्सिजन ग्यासका सिलिन्डर छन् ।

जसमा ६९ हजार ३ सय ५० वटा ठूला र ३८ हजार ८ सय १४ वटा साना अक्सिजन ग्यासका सिलिन्डर छन् । अहिले विभिन्न अस्पतालमा जडित आफ्नै प्लान्टबाहेक काठमाडौं उपत्यकामा भाजुरत्न अक्सिजन ग्यास उद्योग, हाम्रो अक्सिजन ग्यास उद्योग, आईएमई ग्यास उद्योगलगायतका उद्योगबाट वितरण हुने गरेको छ । यस्ता उद्योग मोफसलमा पनि सञ्चालित छन् ।

हाल काठमाडौं उपत्यकामा मात्रै ठूलो खालका अक्सिजन ग्यासका सिलिन्डर ४७ हजार र सानो खालका २९ हजार ९ सय १० वटा सिलिन्डर रहेको विभागका महानिर्देशक भुसालले जानकारी दिए । यसैगरी, काठमाडौं बाहिर २२ हजार ३ सय ५० वटा ठूलो खालका अक्सिजन ग्यासका सिलिन्डर र ८ हजार ९ सय ४ वटा साना खालका अक्सिजन ग्यासका सिलिन्डर छन् ।

कोरोना महामारीको दोस्रो लहर तीव्ररूपले बढेर संक्रमितको संख्या दैनिक ९ हजार ७० नागेको र मृत्युदर पनि बढेर दैनिक ५८ जना पुग्न थालेसँगै अहिले मुलुकभर अक्सिजन ग्यासको माग झन्डै ८० प्रतिशतले बढेका कारण सिलिन्डर होल्ड हुने क्रम बढेको र भएका सिलिन्डर पर्याप्त नरहेको विभागले जनाएको छ । नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार मुलुकभर साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उत्पादक उद्योग छन् । तीमध्ये पनि काठमाडौं उपत्यकामा आठवटा अक्सिजन उद्योग छन् ।

यी उद्योगका साथै केही ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छन् । अस्पतालकै प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालमा पर्याप्त मात्रामा पुग्ने गर्छ । तर, केही अस्पतालमा भने प्लान्ट बिग्रिएका कारण अहिले निजी उद्योगका अक्सिजन र सिलिन्डरमा भर पर्न‘पर्ने अवस्था छ । काठमाडौं उपत्यकामा सञ्चालित आठवटा उद्योगमध्ये सातवटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले जानकारी दिए ।

उनले हाल एउटा सिसा उद्योगले आफ्ना लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको जानकारी दिए । अन्य उद्योगले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनको भनाइ छ । काठमाडांै उपत्यकामा रहेका उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले जानकारी दिए ।

काठमाडौंबाहिर विराटनगर, रूपन्देही, दाङलगायतका सहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरूलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको दाबी छ । नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोगमा खपत हुनेगर्छ । बढ्दो अक्सिजन अभावलाई लिएर बिहीबार नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरी आफूसँग भएका सिलिन्डर औद्योगिक प्रयोजनका लागि प्रयोग नगरी कोरोनाका बिरामीलाई उपलब्ध गराउनेतर्फ सहयोग गरिदिन आग्रह गरेको छ ।

हाल मुलुकभर दोस्रो लहरको कोरोना संक्रमणदर ह्वात्तै बढ्दै गएसँगै आमनागरिकले अक्सिजन ग्यास पनि पाइने हो कि होइन भन्ने चिन्ता व्यक्त गरिरहेका छन् । दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको छिमेकी मुलुक भारतमा अक्सिजन ग्यास नपाउँदा धेरै संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा पनि मेडिकल अक्सिजनको उपलब्धताको विषय लिएर व्यापक चिन्ता व्यक्त गर्न थालिएको अवस्था छ । अब भारतमा जस्तै यहाँ पनि अक्सिजनको अभाव हुने हो कि ? भन्ने आममानिसको चासो र चिन्ता छ ।

कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अस्पतालमा समेत अक्सिजनको भरमा राख्ने गरिन्छ । तर, अक्सिजनको उपलब्धता’bout ठोस जानकारी नआउँदा अहिले यहाँका आमनागरिकमा थप चिन्ता बढेको छ । आवश्यक परेका बेला उपयोग गर्न सकिने गरी अक्सिजन उपलब्ध गराउनेगरी सरकारले पछिल्लो समय अक्सिजन उत्पादक (व्यवसायी)सँग छलफल गरेको थियो ।

कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग÷कारखाना केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरिसकेको अवस्था छ । अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रूपमा समेत आग्रह गरेको थियो ।

सरकारी आग्रहको बेवास्ता गर्दै अझै काठमाडांै उपत्यकालगायत मुलुकभर सञ्चालित उद्योगले कोरोना बिरामी ज्यान बचाउन नपुगेको अक्सिजन ग्यास औद्योगिक प्रयोगमा लकाएर राख्ने गरेको पाइएपछि प्रहरी नै परिचालन गर्न बाध्य हुनुपरेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई