मानवता बिरुद्धको अपराधमा संलग्न र तिनका मतियारहरुलाई नांगेझार पार्ने युवा संघको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष नरेश शाहीले आज एक बिज्ञप्ती जारी गर्दै अहिलेको महामारीका बेला मानवता विरुद्धको अपराधमा संलग्नहुने जोकोहीलाई पनि नछोडने चेतावनी दिएका छन् ।

‘यो मानविय संकटको बेलामा पनि मानवता विरुद्धको अपराधमा संलग्नहुने जो कोहि सामाजिक दण्डको भागिदार हुने तथ्यलाई आत्मसाथ गर्दै त्यस्ता अपराधी र उनका मतियारहरुलाई समाजमा नाङ्गेझार पार्ने दिशामा कुनै कसर बाँकी नराख्ने युवा संघ नेपाल स्पष्ट पार्न चाहन्छ’ शाहीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

मानविय संकटको बेलामा कसैले कमिसन, चर्कोशुल्क असुली, कालोबजारी, आर्थिक अनियमितता गरेमा वा भैरहेको देखिएमा तत्काल नागरिकहरुलाई गोलबद्ध गर्दै हस्तक्षेप गर्न मातहतका कमिटीहरुलाई उनले निर्देशन समेत दिएका छन् ।
बजारमा अक्सिजन सिलिन्डर र रेम्डिसिभर जस्ता औषधीहरुको कालोबाजारीका कारण ति सामग्रीहरुको बजारमा कृतिम अभाव देखिएको छ । उपभोक्ताहरु खरिदमा चर्को मुल्यतिर्न बाध्य छन् । सरकार कालोबजारी नियन्त्रण गर्न पुर्णरुपमा असफल भइसकेको आरोप लगाउँदै उनले आइसोलेसन केन्द्र निर्माणको नाममा स्थानिय तहहरुमा आर्थिक अनियमितता भैरहेको तथ्य सार्वजनिक भएपछि त्यसमा नागरिक स्तरबाट अनुगमन गर्नुपर्ने आवश्यक रहेको जनाएका छन् ।

‘बन्दाबन्दीको समयमा अलपत्र परेका यात्रुहरुले यातायातको साधनप्रयोग गर्दा चर्को भाडादर तिर्नु परिरहेको छ । यस्ता विभिन्न समस्याहरुबाट नागरिकहरु दिनप्रतिदिन पिडीत बन्दै गएका छन् । असक्षम सरकार मुकदर्शक बनेर आफ्नो सरकार बचाउन मात्र केन्द्रित छ । स्वयं प्रधानमन्त्री बिचौलियाहरुलाई सल्लाहकार राखेर देशमा आर्थिक अनियमितता, कालोबजारी, बिचौलियातन्त्र संस्थागत गर्न उद्धत छन् । यो संकटको घडिमा एक जिम्मेवार नागरिककोरुपमा आफुलाई कृयासिल गराउन युवा संघ नेपाल आफ्ना सम्पुर्ण सदस्यहरुलाई आब्हान गर्न चाहन्छ’ अध्यक्ष शाहीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

‘कोरोनाले मान्छे मरिरहंदा कमिशनको चक्करमा भ्याक्सिन आयातमा ढिलाई हुनुले लाशको ब्यापार र कात्रोमा कमिशन लिने खेलमै स्वयं यो सरकार दलालहरु मार्फत सहभागिभएको हो कि ? भन्ने गम्भिर आशंका उब्जिएको छ’ शाहीले भनेका छन्, ‘कमिशनको कारण भ्याक्सिन खरिदमा भएको ढिलाई, रेम्डिसिभर जस्ता औषधीमा भईरहेको कालोबजारी, निजी अस्पतालहरुले असुलीरहेको चर्को शुल्क, यातायातमा भईरहेको ठगी जस्ता विषयहरुमा युवा संघ नेपाल, नेपाल सरकारको प्रष्टिकरणको माग गर्दै, दोषि र कालोबजारी गर्ने माफिया र व्यापारिहरु माथि कारवाहिको जोडदार माग गर्दछ । यदि माफिया र विचौलियाहरु जोगाउन सरकार उद्यत रहने हो भने युवा संघ नेपालले नागरिक स्तरवाट नै जघन्य अपराधमा संलग्न त्यस्ता व्यापारीलाई उदाङ्गो पार्ने गरि दवावको अभियान संचालन गर्ने र यसको सम्पुर्ण जिम्मेवार सरकार हुनुपर्ने कुरा हामी सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौं ।’

कोभिड संकटको दौरानमा केहि निजि अस्पतालहरुले विरामीहरुसंग कानुनविपरित चर्को शुल्क असुलिरहेको अवस्था प्रति संघले दुख व्यक्त गर्दै यसमा सरकारी निकाय मुकदर्शक बनेर बसेको र उल्टै अनाबश्यकको हल्ला भन्ने जस्ता सरकारका व्यक्तिहरुको गैरजिम्मेवार पुर्ण प्रतिक्रिया आउनु दुखद विषय रहेको जनाएको छ ।

जनता संकटमा रहेको बेला नागरिकको स्वास्थ्यमाथि बल्याकमेलिङ्ग गर्ने नीजि अस्पतालहरुको यो कार्यमा सरकार मुकदर्श बनेर बसेतापनि युवा संघ नेपाल मुकदर्शक नबन्ने चेतावनि संघले दिएको छ । यथासिघ्र अस्पतालहरुले कानुनी दायराको शुल्कमा काम नगर्ने हो र विरामी माथिको आर्थिक शोषण कायम राख्ने हो भने युवा संघ नेपालले त्यस्ता अस्पताल विरुद्ध पनि सामाजिक अभियान संचालन गर्न बाध्य हुने संघले जनाएको छ ।

युवा संघ नेपाल आफ्नो स्थापनाकाल देखि नैं राष्ट्रियता, जनजीविका, सामाजिक न्याय र युवाहरुको हकहितको सवालमा संघर्षरत रहदै आएको कुरा जानकारी गराउँदै अध्यक्ष शाहीले अहिलेको मानविय संकटको समयमापनि युवा संघ नेपाल स्वंयसेवक परिचालन, कालोबजारी नियन्त्रण, यातायातको सहजिकरण, स्वास्थ्य सामग्रीको वितरण, रक्तदान लगायतका कार्यहरुमा कृयासिल रहने जनाएका छन् ।

अहिलेको संकटको विचमा देखा परेका भ्याक्सिनमा कमिसनको चलखेल, स्वास्थ्य संस्थाद्धारा विरामीमाथी आर्थिक शोषण, रेम्डिसिभिर जस्ता औषधिहरुको कालोबजारी, अक्सिजन सिलिन्डरको कालोबजारी, आइसोलेसन निर्माणको नाममा स्थानिय तहहरुमा आर्थिक अनियमितता र भाडादरमा मनपरि जस्ता चरम विकृतिहरु प्रति संघको ध्यानाकृष्ट भएको उनले उल्लेख गरेका छन् । यस्तो चरम लापरवाहीमा सरकारी निकाय मुकदर्शक बन्नु निन्दनिय छ ।

सिरम भ्याक्सिन खरिदमा भैरहेको बिचौलिया र कमिसनको दुश्चक्रको बृतान्तले आम नेपाली युवाहरुलाई गम्भिर आघात पु-याएको छ । व्यापारीहरु सुरज बैद्य र विजय दुगडहरुको संलग्नतामा भैरहेको कमिसनको दुश्चक्रका कारण नेपालमा खोप अभियान प्रभावकारी हुन नसकेको र सयौं नेपालीहरुले अनाहकमा ज्यान गुमाउनु परेको कुरा सार्वजनिक हुनु दुखद रहेको छ ।

‘अझ यसमा प्रधानमन्त्री निकट व्यापारीहरु नै संलग्नहुनुले कतै कमिसनको यो दुश्चक्रमा प्रधानमन्त्री स्वंय संलग्न त हुनुहुन्न ? भन्ने आशंका आमजनमानसमा उब्जिएको छ । यस सन्दर्भमा केही दलाल ब्यापारी भुतप्रेतको कारण भ्याक्सिन आयातमा समस्या भएको भन्ने स्वास्थ्य मन्त्रीको भनाईले पनि धेरै कुराको प्रष्ट हुन्छ । अघिल्लो वर्ष कोभिडको संकटमा ओम्नी कम्पनी मार्फत भएका भ्रष्टाचारका कार्यहरु र अहिले भ्याक्सिन खरिदमा कमिशनको कारण भएको ढिलाईले नेपाली जनतालाई दुखित र अक्रोशित बनाएको छ’ अध्यक्ष शाहीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

अहिले युवा संघले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको तथा लकडाउनका कारण पीडितहरुको उद्धार, व्यवस्थापन एवं सहयोग गर्ने काम ति स्वयंमसेवकहरुले देशैभरी गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै