शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो
नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः ।
व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं
सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।।
– भर्तृहरि नीतिशतक
आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह सर्पलाई अंकुुशले, मदोन्मत्त साँढे या गधालाई लाठाले, रोगलाई औषधिले र विषलाई मन्त्रले नियन्त्रण गर्न सकिन्छ । सबै कुराको औषधि छ तर मूर्खलाई तह लगाउने कुनै औषधि छैन ।
यो बुझक्कड मूर्ख’boutको कथन हो । सबैभन्दा जान्नेहरू नै जिद्दी र अटेरी बनेपछि बित्यास पर्दाेरहेछ । महामारीको समयमा भीआईपीहरूले देखाएको तुजुक अझै आलै छ । लाओत्सुले भनेका छन्, बुझ्नुपर्नेले बुझे मात्र मानिस लेख्नेलाई भन्छन, ‘तिमीले लेखेर के हुन्छ ? पढ्नुपर्नेले पढे पो, लेख्नेलाई पनि थाहा छ जसले पढ्नुपर्ने हो उसले पढ्दैन । मुन्सी प्रेमचन्दले कात्रो लेखे । उनलाई त्यो कहानी उनको कथाका पात्र घिसु, माधव र उनीहरू जस्तै अकिञ्चनहरूले पढ्ने छैनन् भन्ने थाहा थियो ।
यहाँ ठूलाठूला पर्खालभित्रका नालीबेली लेखिन्छन् । किन्तु ती नालीबेली पर्खालभित्र पुग्दैनन् । विद्यालय नदेखेका, सरकार नदेखेका र सरकारले नदेखेका कंगाल किशोरकिशोरी र सुत्केरी आमाले इँटा बोकेका र गिट्टी कुटेका विवरण अखबारमा छापिन्छन् । इँटा बोक्नेहरूको पहुँच अखबारसम्म छैन । ती दारुण खबर पढ्नुपर्नेहरूसम्म अखबारको पहुँच छैन । ड्राइभरको लापर्बाहीले भएको दुर्घटनाको खबर ड्राइभरबृन्दले पढ्दैनन् । तथापि लेख्नेले परापूर्वदेखि लेखिरहेका छन् ।
रामराज्यमा भारदारी सभाको बैठक बस्यो । राजा रामसामु अनेक स्तुतिगान भए । भोक, रोग र गरिबीले चियाएर हेर्न नसकेको बेहोरा जाहेर भयो । रामले सोधे, ‘त्यसो भए मेरो राज्यमा माग्नेहरू किन छन् ? जाडो याममा काँप्दै मेरो द्वारमा हात फैलाउन आउने को हुन् ? ‘सभासद र मन्त्रीहरू बाठा थिए । उनीहरूले बिन्ती गरे, ‘यति ठूलो राज्यमा केही गरिब र माग्नेहरू हुनु स्वाभाविक हो । सबै धनी हुनु सम्भव छैन महाराज राजाको काम दान गर्नु, भोकालाई खान दिनु र नांगालाई लाउन दिनु पनि हो । कोही माग्न आएन भने ‘दानी राजाको सुनाम’ कसरी फैलिन्छ ? को जयजयकार गर्छ ?
सबै कुराको औषधि छ तर मूर्खलाई तह लगाउने कुनै औषधि छैन
सबैलाई धनी बनाउन सम्भव थिएन । तथापि द्वारद्वारमा कटौरा थाप्न बाध्य भोका र नांगा नरहने व्यवस्था गर्न सकिन्थ्यो । दरबारीले रामलाई पनि भ्रमित पारिदिए । बुझ्नुपर्नेले यसरी बुझ्ने वातावरण बनाइन्छ राज्यव्यवस्थामा । आज पनि आधुनिक राजारामहरू राज्यकोषबाट चार माना चामल दान गरेर दानवीर भएको देख्न पाइन्छ ।
सानो कपिलवस्तु राज्य मगध र कोशलजस्ता ठूला छिमेकी राज्यको चपेटामा थियो । राजकुमार सिद्धार्थलाई गुरुहरूले हाम्रो देश सानो भए तापनि महान् छ । हाम्रा प्रजा सुखी र खुसी छन् । मगध र कोशलमा जस्तो यहाँ गरिबी छैन भनेर पढाउँथे । सिद्धार्थ अरूजस्ता राजकुमार भएको भए त्यही कुरा विश्वास गरेर बस्थे होला । उनले भित्री गाउँमा गएर निरीक्षण गरे । जे भनिन्थ्यो त्यो सत्य थिएन । सिद्धार्थले गरिबीको वीभत्स रूप देखे । उनले भित्री बाटाहरूमा आफ्नै सामुन्ने भोक र रोगले मर्न विवश मानिस देखे । जे बुझाइयो त्यो झुटा थियो । राज्यले कसरी गरिबीलाई लुकाएर झुटो समृद्धि देखाउँछ भन्ने कुरा उनले प्रत्यक्ष देखे ।
भनिन्छ, राजा शन्तनुलाई कहिल्यै तृप्त नहुने श्राप परेको थियो । युवक छोरो युवराज देवव्रतको विवाह गर्ने समय भइसकेको थियो । उता राजा आफंै अतृप्त थिए । छोराको विवाह गरिदिएर राज्याभिषक गराई आफू वानप्रस्थ जाने बखतमा आफंै प्रेमपाशमा परे राजा । आधुनिक नेपालका शन्तनु पनि राज्यलक्ष्मीको भोग गरेर तृप्त हुन सकेनन् । राजनीतिक जुवाको अक्षशालामा जसले जिते तापनि नेपाली जनताले पाउने उपहार ‘पितामह शासक’ नै हो । थकित तर अतृप्त आत्माको क्षुधा तृप्तिका लागि आधुनिक देवव्रत सक्दो प्रयासमा छन् । अत्यन्तै उम्दा खनजोत गर्न समर्थ बहरहरू ज्यान फालेर सौर्य र वीर्य सकिएका अतृप्त आत्माको पछाडि कुदिरहेछन् ।
राजनीतिको केन्द्रबिन्दुमा रहेका व्यक्तिले ‘साह समाजवाद’को नयाँ भाष्य तयार गरे । ‘साह’ शब्दका दुई अर्थ छन् । एउटा व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द र अर्को पिराहा र सताउने व्यक्ति । अहिले समाजवादोन्मुख नेपालको भविष्यका धरोहर साहू बन्ने प्रतिस्पर्धामा छन् । निजी विद्यालय, अस्पताल, गैरसरकारी संस्था, यातायात व्यवस्था, ठूलाठूला व्यापारिक फर्महरू, जग्गा प्लटिङ, वकालत र उपभोक्ता समितिसमेत राजनीतिक कार्यकर्ताको कब्जामा छन् । राहुल सांस्कृत्यानले लेखेका छन्, यहुदीहरू निकै चलाख हुन्छन् । उनीहरू व्यापार गर्दागर्दै संसारभरि छरिए । उनीहरू पैसा र आमोदप्रमोदमा लाग्दा आफ्नो मौलिकता मात्र नभई देशसमेत गुमाउन पुगे । जसको तीतो फल द्वितीय विश्वयुद्धको समयमा भोग्नुप¥यो ।
नेपालमा राजनीति गर्नेहरूसँग अब सिद्धान्त नै बाँकी छैन । चलाख प्रायः साहूमार्गमा लिप्त छन् । लफ्फाजीका लागि पश्चगामी, सामन्ती र शोषकको आलोचना गर्न छाडिएको छैन । सामन्ती को हो ? पश्चगामी को हो ? को हो शोषक ? सबै राजनीतिको अखाडामा पुगेपछि सबैबराबर भएन र ? यो रहस्य बुझ्नुपर्ने त्यो अखाडाभन्दा बाहिर बस्नेले हो । किन्तु बुझ्नुपर्नेले यति पनि बुझेका छैनन् ।
राजनीतिको केन्द्रबिन्दुमा रहेका व्यक्तिले ‘साह समाजवाद’को नयाँ भाष्य तयार गरे
दार्शनिक नित्से भन्छन् माथि पुगेर हेर्दा तलका सबै बराबर देखिन्छन् । माथि शब्दको एउटा बिम्ब छ । माथिले दृष्टिरोग पैदा गर्छ । त्यो रोगबाट ग्रस्त हुन नचाहने तलकालाई हेर्न तलै झर्नुपर्छ भन्ने बुझेका हुन्छन् । राजकुमार सिद्धार्थ गरिब देख्न गरिबकै बस्तीमा पुगेका थिए । दरबारमा नाचगान, स्तुति, प्रशंसा, मदिरा, मादकता, भोगविलासको दबदबा र शक्तिको रवाफ मात्र हुन्छ । हाम्रोमा त विगतमा भूमिगत हुँदा ढिँडो खान दिने किसानलाई बिर्सेर सबैलाई बराबर देख्ने प्रवृत्ति छ । ढिँडोदाता किसान अझै पनि प्रश्न गर्दैन । बरा किसान अझै पनि भरोसामा छ । उसले पनि बुझ्नुपर्ने कुरा बुझ्न बाँकी नै छ ।
मानिसहरू आजित भएर भन्छन्, ‘ए किन प्रश्न गर्छा ? किन आलोचना गर्छौं ? किन सुझाव दिन्छौं ? तिमीहरूलाई को सुन्छ ? बुझ्नुपर्ने कसले बुझ्छ ?’ कसैले नसुने तापनि प्रश्न गर्न छाड्नुहँुदैन । आलोचना र सुझावले सरकार र राजनीतिलाई तिखारिनमा मद्दत गर्छ । समस्या बुझ्नुपर्नेले नबुझ्नुमा छ । समस्या प्रश्न, आलोचना र सुझावमा छैन ।
जर्मनीमा हिटलरको उदय भएपछि प्रश्न, आलोचना र सुझावको अवसान भयो । हिटलरले राज्यका समस्त अधिकार ग्रहण गर्दा यसले गर्छु भनेर सबै चुप लागे । हिटलरले आर्य मात्र सच्चा मानव भएको हुँदा आर्यबाहेक अरूलाई बाँच्ने अधिकार छैन भनेर घोषणा गर्दा कुरो त यो पो रहेछ भनेर तमासे बने । युद्धको घोषणा हुँदा ल राम्रो भयो भनेर खुसी भए । लाखौं जर्मन युवक र किशोरले युद्धमा ज्यान गुमाउँदै गर्दा अब जितिन्छ भनेर पर्खेर बसे । यदि प्रश्न र सुझावलाई सम्मान गरेको भए हिटलरले आत्महत्या गर्नुपर्ने थिएन । बोलसेविक क्रान्तिपश्चात् स्थापना भएको सोभियत शासनमा सुझावको सम्मान भएको भए सायद त्यसरी ढल्नुपर्ने थिएन । बुझ्नुपर्नेले नबुझेपछि कसको के लाग्छ ?
एउटा नीति कथा छ । एउटा मदोन्मत्त गैंडा मस्तसँग वनमा हिँडिरहेको थियो । उसको ‘बडीगार्ड’का रूपमा युवा मृग पछिपछि थियो । गैंडाले या गर्छु वा गर्छु, म यस्तो छु उस्तो छु भन्दै थियो भने मृग हजुरहजुर गर्दै थियो । अलि पर पुगेपछि मृगले गैंडालाई खुट्टाले कोट्याउन थाल्यो । किन्तु गैंडाराजा आफ्नै गतिमा गतिमान रह्यो । अति नै भएपछि मृगले जोडले लात हानेपछि मात्र गैंडाले पछाडि फर्केर हे-यो । गैंडाले भन्यो, ‘तेरो छेस्के खुरले हानेर मलाई तर्साउँला भनेको ? मेरो छाला त्यति कमलो छैन बाबै ।’ गैंडा अघि बढिरहेको थियो । मृगले भन्यो, ‘अगाडि खाल्टो छ प्रभु’ त्यो सुझाव नसुन्दै गैंडा खाल्टोमा परिसकेको थियो । तथापि गैंडा भनेको गैंडा हो । उसले खाल्टोबाट दाह्रा देखाउँदै भन्यो, ‘मलाई छोएर देखा त मैले जानेको छु ।’ मृगको उत्तर थियो, ‘बुझ्नुपर्नेले नबुझेपछि यस्तै हो ।’
हाम्रो राजनीतिको अक्षशालामा दाउ हान्नेहरू कम्तीमा ४० वर्ष पुराना खेलाडी हुन् । अरू ‘मारा मारा’ भन्ने च्याँखेहरू १० देखि ३० वर्ष पुराना होलान् । कौडा समाउन असमर्थ उनीहरू कौडा गनेर बस्दछन् । यदाकदा आफ्नो रक्षकले दाउ हान्दा नमारे पनि ‘मारा’ भनेर नजिक हुने प्रयत्न गर्नु उनीहरूको धर्म हो । यो बाह्रमासे खालमा कहिले कुन गुमनाम पात्र मन्त्री हुन्छ र हट्छ के ठेगान ? को मन्त्री भयो र को पछारियो भन्ने कुरा बुझ्नु आवश्यक छैन । बुझ्नुपर्नेले नबुझेपछि ती बरा ‘मारा’हरूले जे बुझे ठीक बुझे । जो हात सो साथ ।






