मानव जीवन सबल र सार्थक बनाउन आर्थिक अवस्थाको अहं भूमिका रहन्छ । यसै कारणले हरेक व्यक्तिले आय आर्जनका लागि रोजगारीको खोजी गर्छ । रोजगारीले मानवको जीविकोपार्जन सहज बन्छ । आय प्रत्यक्ष रूपमा रोजगारीसँग जोडिएको हुन्छ । पछिल्लो समय हजारांै श्रमिकले रोजगारी गुमाउनुपरेको नमिठो सत्य हामीसामु छँदै छ । विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारणले हजारौं श्रमिकले रोजगारीबाट हात धुनुपरेकाले समस्या थपिएको पनि छँदै छ । आर्थिक रूपमा जो पनि सक्षम बन्न चाहन्छ । यो मानवीय स्वभाव पनि भएकाले मानव व्यक्तिगत विकासको मार्गमा जान चाहन्छ । जनसंख्या सहरी क्षेत्रमा ज्यादा हुनुका पछाडिको मुख्य कारण भनेकै रोजगारीको अवसर धेरै हुनु हो । आज उपत्यकाको जनसंख्या ६० लाखभन्दा धेरै भएको पछिल्लो तथ्यांकले देखाउँछ । सहरी क्षेत्रमा कोलाहल महँगी प्रदूषण लुटपाट हत्या हिंसाजस्ता घटना हुने गर्छन् ।
कृषि नेपालको महत्वपूर्ण आर्थिक विकासको आधार भएकाले यस क्षेत्रको विकासमा राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । हामी कृषिप्रधान देश नेपाल भनेर गर्व गर्ने गर्छौं तर खाद्यान्नदेखि तरकारी फलफूल तेलहनजस्ता उपभोग्य वस्तु ठूलो रकम खर्च गरेर खरिद गर्न बाध्य छांै । यसका पछाडि विविध कारण रहेका छन् । असोजदेखि माघ मसान्तसम्म मासिक १ अर्बका दरले तरकारी तथा फलफूल आयात गरेको तथ्यांक कालीमाटी तरकारी तथा फलफूल विक्री केन्द्रले देखाएको छ । हामी उत्पादनमा अब्बल नभएका पनि होइनौं र पनि किन यति ठूलो रकम खर्चेर तरकारी तथा फलफूल आयात गर्छौं त ? यस्तो हुनुमा बजारको सुनिश्चतता नहुनु मुख्य कारण रहेको देखिन्छ । अनेकांै समस्याको सामना गरेर बल्लबल्ल उत्पादन गरिन्छ जब बजारीकरणको समय आउँछ तब उचित मूल्य नपाउने अवस्था सामान्य नै भएको छ ।
उत्पादन खरिदका लागि बिचौलियाको एकाधिकार हुनु निकै पीडादायी अवस्था हो । किसानले लामो समय पर्खेर मल जल बीउ प्राविधिक सहयोग औषधिको प्रयोग गर्दै बजारमा लैजान्छ तब एकाएक लागतभन्दा पनि कम मूल्यमा उत्पादन बिक्री गर्नुपर्ने जुन पीडादायी समस्या छ । त्यसको अन्त्य हुनुपर्छ । किसानले उचित नाफा पाउनुपर्नेमा लागतसमेत नआउने भएपछि कृषकमा हौसला नभई निराशा छाउनु स्वाभाविक नै हो । नेपालमा मात्र उत्पादन हुने दर्जनांै खाद्यान्न नभएका होइनन् । यसै सन्दर्भमा जुम्ली मार्सी धानको चामलको चर्चा गत वर्ष ज्यादा भएको थियो । हाम्रा चाडपर्वमा विशेष परिकार बनाई आपसमा मिलेर खाने अतिथि सत्कार गर्ने जुन मौलिकता छ त्यो अन्य देशमा बिरलै मात्र पाइएला । नेपालमा स्थानअनुसार उत्पादन हुने मन नै लोभ्याउने बासमती धानले उचित बजार पाउने हो भने निर्यात गरी मनग्गे आम्दानी गर्न सकिन्छ । हाम्रो देशमा विभिन्न थरिका बास्ना आउने धान र चामलका रैथाने जात पाइन्छन् । बासमती धानका जात’boutमा विभिन्न पुस्तक पत्रपत्रिका जर्नल तथा बुकलेटमा उल्लेख गरिएको पाइन्छ ।
नार्कले राष्ट्रिय जिन बैंकमा नेपालका विभिन्न स्थानबाट २४ प्रकारका रैथाने बासमती जातको धान संकलन गरेको छ
नेपाल कृषिअनुसन्धान परिषद् (नार्क)ले स्थापना गरेको जिन बैंकमा बासमती धानका २६ वटा जात रहेको जनाएको छ । नेपालको रैथाने बालीका रूपमा दाबी गर्दै युरोपेली संघ (इयू)मा पेस गरेको अवस्था छ । बासमती धानमा दाबी गर्ने भारत र पाकिस्तानले पनि ईयूमा आधिकारिकताको पहल जारी राखेको छ । नेपालले आफ्नो दाबीपत्र गत डिसेम्बरमा पेस गरेको छ । नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि संकलन गरिएका ४७ प्रकारका रैथाने बासमती धानका जात अन्तर्राष्ट्रिय जिन बैंकमा पनि राखेको छ । नार्कले राष्ट्रिय जिन बैंकमा भने विभिन्न २४ प्रकारका रैथाने बासमती जातका धान वर्षौंदेखि नेपालका विभिन्न स्थानबाट संकलन गरी राखिएको छ । यस धानको विषयमा नेपालले सन १९६० मा नै हाम्रो मौलिक धान हो भनेर प्रमाणसहित दाबी गरेको थियो ।
नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने बासमती धान स्थान विशेष अनेकौं नामले चिनिन्छ । पोखराको जेठो बुढो, नुवाकोटको साहुगाउँ र चनौटे फाँटमा लगाइने गरेको बासमतीलाइै बृमफूल, कालोकाठे तथा भुन्टेमसिनो जस्ता नामले चिनिन्छ । त्यस्तै नुवाकोटकै सेरा र थान्सिग फाँट बासमती धान उत्पादनकै कारण केही वर्ष अगाडिसम्म निकै चर्चामा रहेको थियो । बास्ना आउने सन्दर्भमा चर्चा गर्दा विशेषतः बृमफूलको भने धान चामल र परालसमेत मगमगी बास्ना आउने हुन्छ । पराल लामो हुने अनि त्यसबाट गुन्द्री सुकुलजस्ता घरेलु सामान निर्माण सहज हुने भएकाले यो धानको माग ज्यादा रहेको छ । यस्ता धान कृषि विभागबाट उत्पादनको पकेट क्षेत्र बनाई थप उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । सरकारको तालुकदार कार्यालय नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा लोकल बासमती धानका विभिन्न जात चरित्र चित्रणसमेत गरिएको छ । जसका लागि जनार्कले ८० वटा त प्रमाण मात्र पेस गरेको छ ।
उत्पादन खरिदका लागि बिचौलियाको एकाधिकार हुनु निकै पीडादायी अवस्था हो
यो लोकल धानको उत्पत्ति केन्द्र भने तराई मधेस क्षेत्र नै मुख्य रहेको देखिन्छ । यो तथ्य नेपालको दस्तबेजमा मात्र नभई भारतलगायत विभिन्न देशका दस्ताबेजमा पनि पाइन्छ । नेपालमा बासमती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि विक्री वितरण गर्दै आएका छन् । हाम्रो देशले गरेको दाबीका आधारमा प्रमाणपत्र प्राप्त गर्ने हो भने अवश्य नै हाम्रो लोकल र बासमती धान तथा चामलको बजार व्यापक हुन्छ । यसले कृषक थप उत्साहित भई उत्पादन वृद्धि हुन जान्छ भने रैथाने धान चामलले अन्तर्राष्ट्रिय बजार पाउँछ । यसको परिणाम अन्ततः नेपालको अर्थतन्त्रमा सकारात्मक मात्र होइन कि विश्व व्यापीकरण हन्छ । यसबाट नेपाली उत्पादनमा वृद्धि हुनु त स्वाभाविक भयो निर्यात बढाउनमा ठूलो सहयोग पुग्छ । बर्सेनि आयात बढ्ने निर्यात घटने समस्या केही मात्र भने पनि कम गर्न सकिन्थ्यो । आज अर्थतन्त्रमा नकारात्मक असर परिरहेको विषम अवस्थामा यसले प्रमाण पाएमा नेपालको उत्पादन व्यापार वैदेशिक सम्बन्ध सबैमा वृद्धि हुनेमा विमति नै रहँदैन । पछिल्लो समयमा कोरोना संक्रमणबीचमा पनि वैदेशिक रोजगारमा गएका श्रमिकबाट प्राप्त हुने रेमिट्यान्स रकममा भने वृद्धि भएको देखिएको छ । हामी रेमिट्यान्स भिœयाउने मुख्य १० देशभित्र पर्छौं । आर्थिक हिसाबले यो सकारात्मक भए पनि युवा जनशक्ति बिदेसिनु भनेको दीर्घकालीन रूपमा सही मानिँदैन ।
रोजगारीका धेरै क्षेत्र भएर पनि हामीले त्यसको समुचित विकास गर्न नसक्दा चाहेर पनि स्वदेशमा काम गर्न नसकेका अनगिन्ती दृष्टान्त पाइन्छन् । बासमती धानको प्रमाणपत्र लिने जुन पहल गरिएको छ । त्यसैगरी अन्य सयांै रैथाने उत्पादनको आधिकारिकताका लागि प्रभावकारी दाबी गर्न सक्नुपर्छ । त्यस्ता सम्भावना भएका नगदेबालीमा अकबरे खुर्सानी अम्लिसो अदुवा अलैंची चिया बेसार जिम्बु सिमीलगायतका छन् । स्थान विशेष मात्र पाइने उत्पादनको सम्भाव्यता अध्ययन गर्नुपर्छ जसले गर्दा विशेष पहिचान नभएका तर छिटपुट बिक्री वितरण भने भइरहेका रैथाने उत्पादनले ब्रान्ड पाउने अवस्था सिर्जना हुने थियो । यसले रोजगारीमा वृद्धि हुने र कृषिमा युवा थप आकर्षित भई अन्ततः आर्थिक रूपले हामी सबल बन्ने मार्गमा जाने थियौं । नार्कले अन्य नगदे तथा खाद्यबालीमा पनि दाबी गर्नुपर्ने देखिन्छ ।
लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।






