कोभिडसँग जुध्न राष्ट्रिय सरकार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व महामारी कोभिड नियन्त्रणका लागि सबै दल सम्मिलित ‘राष्ट्रिय सरकार’ गठन प्रस्ताव गरेका छन् । आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी कोभिडविरुद्ध सशक्त अभियान थाल्नुपर्ने आवश्यकतासमेत उनले औंल्याएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार गठन अहिलेको आवश्यकता भएको स्पष्ट पार्दै सबै दललाई संलग्न हुन आह्वानसमेत गरे । ‘राष्ट्रिय सरकार बनाएर अघि बढेमा प्रतिनिधि सभा विघठन हुने अवस्था पनि आउनेछैन,’ उनले भने, ‘महामारीले राष्ट्रिय अन्तर्राष्ट्रिय संकटका बेला हामी सबै मिलेर कोभिडविरुद्ध लड्नुपर्छ त्यो नै राष्ट्रिय हितमा हुनेछ ।’

‘कोभिडसँग जुध्न राष्ट्र यतिबेला एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेला आएको’ बताउ“दै उनले ‘कोभिडसँग जुधिरहेको अवस्थामा सरकार पटकपटक ढाल्ने खेल रचिनु आपत्तिजनक र गलत भएको’ टिप्पणी पनि गरे । ‘आउनुस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं,’ उनले भने, ‘सबैलाई समेटेर साझा समस्याविरुद्ध लड्न भूमिका खेल्नेछु ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीति विभाजित बाटोमा नलैजान सबै राजनीतिक दललाई आग्रह गर्दै उपयुक्त विकल्प पेस गरे, त्यस’bout सोच्न सकिने पनि स्पष्ट पारे । ‘उहाँहरू राजनीति सधैं तनावतिर, घृणातिर लैजाने दूषित खेलमा हुनुहुन्छ, त्यस्ता खेल बन्द गर्नुस्,’ उनले भने, ‘गालीगलौज नगर्नुस् ।’

आफूले नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्दा संविधानविपरीतको कार्य भन्नु कुतर्क मात्रै भएको उनले औंल्याए । ‘देशलाई यतिबेला तनावतिर होइन, एकताबद्ध भएर कोभिडविरुद्ध लड्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘कृपया, राष्ट्रिय सहमतिको सरकार बनाई सबै जना मिलेर कोभिडविरुद्ध सामना गरौं र देशलाई विकास र समुन्नतितर्फ लैजाऊ ।’

राष्ट्रिय राजनीतिमा अपराधिक खेल भइरहेको र सबै प्रकारका नियम, आचारसंहिता तोडेर, इमानजमान तोडेर आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएको भन्दै उनले दुःखेसोसमेत पोखे । आफ्नै दलभित्र समेत अपराधपूर्ण कार्य भएको र अलोकतान्त्रिक कार्य गरिएको भन्दै ओलीले विपक्षीसँग मिलेर आफ्नै सरकार ढाल्न आफ्नै सांसद लाग्नु अनैतिक र अपराधिक कार्य भएको उनले स्पष्ट पारे ।

देशलाई स्पष्ट गति दिन आफूले विगतमा प्रतिनिधि सभा विघठन गरेको सन्दर्भ स्मरण गर्दै प्रधानमन्त्री अ‍ोलीले अहिले पनि प्रतिनिधि सभा विघठन अवस्था आउनसक्ने औंल्याए । ‘अहिले निर्वाचन भएर मुलुकले स्पष्ट गति लिइसक्थ्यो तर निर्वाचन हुन नसक्दो भाडभैलो अवस्था आएको हो,’ उनको दाबी छ ।

प्रतिनिधि सभा पुनस्थार्पना भए पनि प्रतिनिधि सभाले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएर अर्को सरकार बनाउन नसकेका उनले जनाए । ‘प्रतिनिधि सभालाई राम्ररी काम गर्न नदिने, सरकारलाई पनि सधैं अवरोध गर्ने र वैकल्पिक सरकार पनि बनाउन नसकेर मुुलुकलाई सधैं अनिश्चयतर्फ धकेल्ने खेल सह्य हुनै नसक्ने’ उनले बताए । अढाई महिना प्रतीक्षा गर्दा पनि वैकल्पिक सरकार दिन नसकेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले त्यस अवस्थामा आफूलाई नै विश्वासको मत दिन आग्रह गरिएको पनि स्पष्ट पारे ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउँछु’ भन्नेप्रति खेद व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ‘राष्ट्रपतिलाई महाअभियोग होइन, आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन’ चुनौतीसमेत दिए । ‘संविधानले राष्ट्रपतिलाई के अधिकार दिएको छ र ?’ भन्ने प्रश्न गर्दै उनले ‘प्रधानमन्त्रीले जे सिफारिस गर्छन्, त्यो राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था नै भएको’ स्पष्ट पारे । राष्ट्रपतिमाथिको आक्रोश र विरोध गणतन्त्रमाथिकै प्रहार भएको ओलीको जिकिर छ । राष्ट्रपतिको हुर्मत र अपमान गर्ने काम लोकतान्त्रिक प्रणालीमाथिकै आक्रमण भएको उनले बताए ।

वैकल्पिक सरकारका लागि बाटो खोलि“दा ‘कसरी प्रतिगमन र कु भयो’ भन्दै उनले ‘यो कार्य संविधानसम्मत भएको’ दाबीसमेत गरे । ‘उहा“हरूमा आफूले भनेजस्तो भएन भने प्रतिगमन देख्ने रोग छ, जुन गलत हो,’ ओलीले भने, ‘जसले लोकतन्त्रविरुद्ध लडे तर विजयी हासिल गर्न सकेनन् र लोकतन्त्र मानेर आए अहिले उनीहरूले नै लोकतन्त्र सिकाउन खोजेका छन् ।’

अहिले आवेश र उत्तेजनामा चल्ने बेला नभएको र साझा प्रयासबाट समाधान खोज्नुपर्ने आवश्यकतासमेत उनले औंल्याए । ‘प्रधानमन्त्रीलाई सधैं हटाउन खोज्दा प्रतिनिधि सभा विघठन हुन सक्ने अवस्था पनि आउन सक्ने भएकाले त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर हुनुपर्छ,’ उनले भने, ‘संविधानको मर्म र भावना रक्षा गर्दै म अघि बढ्न तयार छु ।’

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै