‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै

सुन्दरहरैंचा (मोरङ) । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचा नगर समितिको आयोजनामा ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाभित्रका २४ वटा निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २०८३ साल असोज ४ गते प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रतियोगिता विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा आयोजना हुनेछ।

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन सुन्दरहरैंचा नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीमा रहेको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले पछिल्लो समय शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्दै नयाँ पुस्ताको क्षमता अभिवृद्धि गर्न कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे।

त्यस्तै, प्याब्सन सुन्दरहरैंचा नगर समितिका सचिव सूर्य दंगालले प्रतियोगितामा नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए । उनका अनुसार प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको आपसी सम्बन्धलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजक राजन लम्सालले ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुने जानकारी दिए । उनका अनुसार प्रश्नोत्तरदेखि प्रतियोगिताका विभिन्न चरणसम्म आधुनिक डिजिटल प्रणालीको प्रयोग गरिनेछ। यसले विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने संयोजक लम्सालले बताए।

प्रतियोगितामा विभिन्न शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्नहरू समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिनेछ।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउने तयारी भइरहेको जनाएको छ। आयोजकका अनुसार २०८३ असोज ४ गते इन्द्रपुर जेसीज हल, विराटचोकमा हुने प्रतियोगितामा २४ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै