नेपाली राजनीति, नेकपा एमाले र वर्तमान सन्दर्भ

लोकतन्त्रको पुनःप्राप्तिपश्चात् देश संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा परिणत भयो । सो आन्दोलनमा अहिलेका एमाले दलका शीर्षस्थ नेता, दोस्रो वरीयतामा रही अब्बल भूमिका निर्वाह गर्दै लोकतन्त्र प्राप्तिको लडाइँमा समर्पित भएका थिए । प्रायः सबैले लामो समय भूमिगत भएर वा कारागारमा कठोर यातनाको सामना गर्दै संघर्ष गरेका थिए । देश गणतन्त्रमा प्रवेश गरेपश्चात् हालका शीर्षस्थ राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा छन् । विभिन्न कालखण्ड र घटना क्रममा राष्ट्रका पक्षमा अडान लिन सफल राजनीतिज्ञ क्रमशः आलोचनाको पात्र बन्दै गएको अवस्था छ । पटकपटक सरकारको नेतृत्व तहमा जिम्मेवारीमा पुग्दै गर्दा जनताको अपेक्षा अनुकूल कार्य गर्न नसकेको आरोप यी राजनीतिज्ञलाई लाग्दै आएको छ । यिनीहरूबाट भएका प्रशंसायोग्य कार्यहरू र लिएका अडानका साथै कतिपय राजनीतिक निर्णय लिँदा भएका कमजोरीहरूको विश्लेषण गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

नेकपा एमाले दलका नेतृत्व पंक्तिमा रहेकाको ’boutमा विश्लेषण गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अग्रपंक्तिमा स्मरण गर्नुपर्छ, झापा विद्रोहपश्चात् नेताहरू भूमिगत हँुदै गर्दाको समयदेखि यस दललाई आजको अवस्थामा ल्याई पु¥याउन उनको ठूलो योगदान छ । करिब १४ वर्ष यस दललाई नेतृत्व दिने अवसर नेपालले पाएका थिए । सदैव तरल अवस्थामा रहेको देशको राजनीतिक स्थितिमा नेपालमा विशेषगरी सबै दलहरूसँग समझदारी गर्न सक्ने क्षमता भएकाले पनि यो उचाइ प्राप्त गर्न सफल भएका हुन् । लामो समय दललाई नेतृत्व दिँदै प्रधानमन्त्रीसम्म बन्ने अवसर नेपाललाई यही गुणका कारण प्राप्त भएको हो । तर, उनबाट धेरै प्रकारका कमीकमजोरी प्रदर्शन विभिन्न कालखण्डमा हुँदै आएका छन् । अहिले राजनीतिक गतिरोधको प्रमुख कारण नेपाल देखिएका छन् । अध्यक्षमा ओलीसँग झिनो अन्तरले पराजित भए, दल र सरकारको नेतृत्वबाट वञ्चित रहँदै गर्दा एमालेभित्रका असन्तुष्टलाई समेटी मोर्चाबन्दी गरिरहँदा माओवादी केन्द्रबाट एमालेको अतिथि अध्यक्ष बन्ने सौभाग्य प्राप्त कमरेड प्रचण्डसँग स्वार्थ समान भएकाले गोलबद्ध हुन पुगेका हुन् । परिस्थितिले लामो समय दलको नेतृत्व गरेका नेपालको अवस्था दोस्रो वरियतामा खुम्चिन पुगेको थियो । ओली–प्रचण्ड खेमामा उनलार्ई नेतृत्व तहमा पुग्ने अवस्था तत्कालका लागि सम्भव नहुने परिस्थति बन्दै गयो ।

माधव समूहमाथि एमालेभित्र प्रतिपक्षको भूमिकामा रही आफ्नो अस्तित्व बचाउनुपर्ने बाध्यता छ

यही अवस्थामा ओलीले संविधानमा भएका प्रावधानविपरीत प्रतिनिधि सभाको विघटन गरिदिँदा लामो समय नेतृत्वबाट अलग्गिनुपर्ने अवस्थाबाट आतंकित भई प्रधानमन्त्रीविरुद्ध खुलेर प्रचण्ड साथ मैदानमा देखिए, प्रधानमन्त्री र अध्यक्षको भागबन्डा गर्दै ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अग्रसरता लिए । यही समयमा सर्वोच्च अदालतले प्रतिनिधि सभालाई जीवन्तता प्रदान गरिदिँदा उनीलगायत प्रचण्ड बढी उत्साहित देखिए । माओवादी केन्द्रको संख्यासमेत गणना गर्दा नेकपा दलभित्र उनीहरूको समूह बहुमतमा थियो । ओलीका लागि आफ्नै दलभित्र अल्पमतको अवस्थाको सामना गर्दा अस्तित्व रक्षाका हिसाबले रक्षात्मक कित्तामा उभिएर आफ्नो र आफ्ना पक्षकाको संरक्षण गर्नुपर्ने अवस्था सामना गर्नु परिराखेको थियो । उत्साहित माधव पक्षले अदालतको निर्णयपश्चात् विजय उन्माद देखिने गरी अभिव्यक्ति दिँदै गरेको भडकिलो दृश्य सबैले अनुभूति गरेकै हुन् । आफ्ना केही व्यक्तिलाई जिम्मेवारीमा पु¥याउने निहित स्वार्थबाट प्रचण्ड र माधव दुवै निर्देशित भई सो अभिष्ट पूरा गर्न नसक्दाको कुण्ठाको परिणतिकै कारण यो अवस्था सिर्जना हुन पुगेको थियो ।

सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको ऋषि कट्टेलको मुद्दामा शीघ्र निर्णय दिने चटारो न्यायमूर्तिहरूमा देखियो । नेकपालाई अदालतले पूर्ववत् अवस्था अथवा माओवादी केन्द्र र एमालेमा परिणत गरिदियो । लोकतान्त्रिक दल कम्युनिस्टहरूसँग गठबन्धन गर्ने, सांसद दलीय अनुशासनमा बस्न असहज महसुस गर्ने, क्षणिक स्वार्थका लागि सबै सिद्धान्त, आदर्श, त्याग र वलिदानलाई सहजै विस्मरण गर्न सक्ने राजनीतिक वातावरणमा अदालतको निर्णयले एमाले दलभित्रको गणितीय हिसाब गर्दा माधव समूहको तुलनामा ओली समूह बलियो बन्न पुग्यो, बहुमतको उन्मादमा ओलीविरुद्ध आक्रामक बनेको माधव समूह अकस्मात कमजोर बन्न पुग्यो । सार्वजनिक खपतका लागि इज्जत बचाउने अवस्थामा यो समूह एमालेमा यथावत् रहन लालायित बन्ने नै भयो, शीघ्र त्यो अवस्था बनेन । दुई समूहबीचको तिक्तताले निरन्तरता प्राप्त गर्दै गयो ।

एमालेभित्रको र राष्ट्रिय राजनीतिमा समेत ओली चतुर र सफल रणनीतिकारका रूपमा प्रतीत हँुदै गए । माधव समूहमा खुलेर लागेकाहरू, प्रचण्डलाई असहयोग गरी आफ्नो कित्तामा सामेल भएकाहरू सबैलाई संरक्षण दिने रणनीति अवलम्बन गरे । दलभित्रको आफ्नो पक्कड कायम गर्दै रहेका ओलीले आफ्नाविरुद्ध संगठित हुँदै गरेकालाई अनुशासनको कारबाही कुनै पनि समय गर्न सक्नेगरी तयारी अवस्थामा रहँदा माधव पक्ष आतंकित बन्न पुग्यो । यो अवस्थामा सबैभन्दा ठूलो राजनीतिक घाटा माधव र उनको समूहलाई हुने निश्चित थियो, किनकि अर्को दल दर्ता गरी शून्यबाट संगठन प्रारम्भ गर्नुपर्ने र एमालेबाट छुट्टिएको मालेको अवस्थामा पुगिने स्थितिको सही आँकलन उनीहरूले गरिराखेका थिए । ओलीले विश्वासको मत आफ्नै दलका सांसदसमेतका कारण प्राप्त गर्न नसक्दा पनि उनीहरू उपर कुनै कारबाही नगर्नु ठूलो बुद्धिमानी थियो ।

एकलेअर्कालाई निर्वाचनमा टिकट दिने र मतदान गर्दा बदला र पूर्वाग्रह राख्दै गएमा एमाले पुनः संकटमा पर्नेछ

कारबाही गर्दा दलमा विभाजन आउने सुनिश्चित थियो । आगामी निर्वाचनमा एमाले अल्पमतमा पर्नेमा कुनै सन्देह थिएन । त्यही दूरदर्शी सोचका कारण दललाई एक ढिक्का बनाउँदै अघि बढ्न माधवजीको प्रमुख माग (माओवादी केन्द्र र एमालेबीच भएको एकताभन्दा अघिको अवस्थामा फर्किन)मा सहमति जनाई यो अवस्था बनाउन दुवै पक्षका नेताहरू सम्मिलित समितिले अध्ययन गरी पेस गर्न माधवसँग सहमति गरे । यो निर्णयबाट ओलीले धेरै प्रकारका उपलब्धि हासिल गरेका छन् । प्रथम र सबैभन्दा ठूलो उपलब्धि दललाई एक बनाएर लैजान सफल भए । यसको दूरगामी प्रभाव एमाले राजनीतिमा देखिनेछ । माधव नेपालहरूलाई क्षमादान दिएको सन्दर्भमा समुच्च कार्यकर्ता पंक्तिमा ओलीप्रति सकारात्मक धारणाको विकास हुनेछ । एमालेलाई एक बनाएर निर्वाचनमा जाँदा कार्यकर्ताको मनोबल उच्च हुनेछ । निर्वाचनमा थप ऊर्जासहित कार्यकर्ताहरू दललाई विजयी बनाउन लागि पर्नेछन् । अबको अवस्था निर्वाचनमय हुनेछ ।

आगामी मंसिरमा निर्वाचन हुँदै छ । यस निर्वाचनमा एमालेले नेकासंग कडा प्रतिस्पर्धामा उत्रिने स्थिति बन्छ । सरकारको कार्यकाल अत्यन्त कमजोर र चौतर्फी आलोचनाबाट गुज्रिएको अवस्थामा माधव समूह अलग भएर जाँदा दललाई चुनावमा उल्लेख्य स्थानमा विजयी हुन कठिन अवस्थाको सामना दलले गर्नुपर्ने स्थितिबाट उन्मुक्ति पाइने थियो । वर्तमान अवस्थाको निरन्तरता दिन सफल भएमा नेपाली कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा अबको निर्वाचनमा हुनेछ । आफ्नो दललाई बचाउन ओलीको अब्बल रणनीतिका कारण यो सम्भव हुन सक्छ ।

सर्वोच्च अदालतको फाल्गुन २३ गतेको निर्णयले आफ्नो समूहलाई अप्ठेरोमा पारेको सही आँकलन माधवजीले यथासमयमै गरेको देखिन्छ । ओलीजीलाई घेराबन्दी गर्दै अप्ठेरो अवस्था सिर्जना गरेर आफ्नो एजेन्डामा ल्याउने रणनीति नेपालको थियोे । यस अवधिमा केही कठोर निर्णय गर्दै आफ्नो सौदाबाजी गर्ने आधार नेपालले बलियो बनाउँदै अघि बढाएका थिए । बिन्तीपत्र पेस गर्ने उनको शैलीको भरपुर प्रयोग नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बन्न आग्रह गर्दै गर्दा देखियो । पटकपटक यो अनुरोध देउवाजीलाई बूढानीलकण्ठ पुगेर गर्न पुगे, परिस्थितिको आँकलन गर्दै रहेका ओलीसमेत यो घटनापश्चात् विश्वासको मत माग्न बूढानीलकण्ठ पुगे । कर्णाली प्रदेशमा आफ्ना पक्षका सांसदलाई दलको निर्देशनविपरीत मुख्यमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावको विपक्षमा फ्लोर क्रस गराएर ओलीको अभिष्ट पूरा हुन दिइएन । प्रधानमन्त्रीले मागेको विश्वासको मतका लागि मतदानको समयमा ठूलो संख्याका सांसद अनुपस्थित गराएर करिब दुई तिहाइको बहुमतमा रहेको सरकार प्रमुखको दम्भ पालेर बसेका ओलीलाई २७५ संख्या रहेको संसद्मा ९३ मा सीमित गराई उनको असली हैसियत प्रमाणित गरिदिए ।

यी घटना क्रमले एमाले सरकारलाई ठूलो धक्का पुग्ने नै भयो । यसका अतिरिक्त आफ्नो समूहलाई कारबाही गर्दा ठूलो क्षतिको सामना एमाले र ओलीले गर्नुपर्ने, माधव नेपालबिनाको एमालेको कल्पना अत्यन्त पीडादायी बन्ने स्पस्ट सन्देश प्रवाह गर्न सफल भए । यिनै कारणहरूले गर्दा नेपाल र उनको समूहले पार्टी अनुशासन पटकपटक उल्लंघन गर्दासमेत कारबाही गर्न सक्ने अवस्था ओलीमा रहेन । यो स्थिति बनाउँदा माधवले एमालेभित्र केही समयका लागि मात्र भए पनि स्थान बनाउन सफल भएका छन् । माधव–ओली दुवैको चातुर्यता यी घटनाक्रममा स्पष्ट देखिएको छ । तर पनि अब यी सबै घटनाक्रमले गर्दा एमाले विभाजनको डिलमा पुगेको छ ।

अब देश निर्वाचनमा जानेमा कुनै सन्देह छैन । कथंकदाचित यिनीहरू मिलेर निर्वाचन गए पनि ओलीजस्ता कडा रणनीतिकारले माधवलगायतकाले पारेको अप्ठेरोको स्मरण गर्ने नै छन् । आगामी दिनमा यसको हिसाब किताब दलभित्र हुनेछ । यसको स्पस्ट संकेत राष्ट्रिय सभाको निर्वाचनमाबाट प्रस्ट भएको छ । तसर्थ झिनै आवाजमा भए पनि एमालेभित्र प्रतिपक्षको भूमिकामा रही आफ्नो अस्तित्व बचाउनुपर्ने बाध्यता छ । निर्वाचनमा जाँदा यी दुई समूहबीच आपसी सद्भाव र सौहार्दताको आधारमा मात्र एमालेको भविष्य निर्भर रहनेछ । बदला र पूर्वाग्रहको भावनाले एमाले संकटमा पर्ने नै छ । तसर्थ, ओली र माधवको राजनीतिक सुझबुझ र परिपक्वतामा अबको एमालेको राजनीतिक भविष्य निर्भर हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित