काठमाडौं । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेसँगै नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई अब वंशजको नागरिकता दिने बाटो खुला भएको छ ।
अध्यादेश जारी भएसँगै विदेशीलाई वंशजको आधारमा नागरिकता दिलाउन खोजेको भन्दै सामाजिक सञ्जालमा विरोधसँगै नागरिकतासम्बन्धी अध्यादेशको पक्षमा समेत वकालत भएका छन् । नेपालको संविधानले जन्मको आधारमा आमा र बाबुको जन्मसिद्ध नागरिकता भएमा तिनका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन नागरिकतासम्बन्धी अध्यादेश जारी भएको हो ।
नागरिकतासम्बन्धी अध्यादेश जारी भएपछि देखिएको विरोध र समर्थनबीच सोमबार महान्यायाधिवक्ता कार्यालयले पत्रकार सम्मेलन गरेर प्रस्ट्याउने कोशिस गरेको छ । महान्यायाधिवक्ता रमेश बडालले अहिलेको नागरिकतासम्बन्धी अध्यादेश विदेशीलाई नभई जन्मसिद्ध नेपाली नागरिकता प्राप्त नेपाली आमाबाबुको सन्तानलाई वंशजका आधारमा नागरिकता दिन ल्याइएको बताए ।
‘संसद्को राज्यव्यवस्था समितिले सबै दलका सांसदको सहमतिबाट टुंग्याएको विधेयकका व्यवस्था नै सरकारले अध्यादेशमा राखेको छ त्यसैले कोही भ्रममा पर्न जरुरी छैन ’
– रमेश बडाल, महान्यायाधिवक्ता
संविधानको मूल मर्मअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको छ, उनले भने, ‘यो कुनै विदेशीलाई नागरिकता दिन नागरिकतासम्बन्धी अध्यादेश ल्याइएको होइन प्रस्ट भए हुन्छ ।’ उनले थप प्रस्ट्याउँदै भने, ‘आमा र बाबुको जन्मसिद्ध नेपाली नागरिकता छ भने तिनका छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिँदा कसरी विदेशीलाई नागरिकता दिएको हुन्छ ?’
नेपालको संविधानको धारा ११–४ अनुसार संसदको राज्य व्यवस्था समितिले सबै दलका सांसदको सहमतिबाट टुंग्याएको विधेयकका व्यवस्था नै सरकारले अध्यादेशमा राखेको छ,’ महान्यायाधिवक्ता रमेश बडालले भने । ‘थुपै्र नेपाली नागरिक अदालतमा गएपछि नागरिकता पाउने र अदालतमा नजाँदा नागरिकता नपाउने अवस्था अन्त्यका लागि त्यसको सुरुवात गरेका हौं ।’
त्यस्तै, महान्यायाधिवक्ता कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव महेश्वर न्यौपानेले सो अध्यादेशबाट संविधानको व्यवस्था कार्यान्वयनका लागि ल्याइएकाले कसैले पनि भ्रम फैलाउन जरुरी नरहेको भएको बताए । उनका अनुसार हालसम्म जन्मको आधारमा जन्मसिद्ध नागरिकता पाउनेको संख्या १ लाख ९० हजार ७ सय २६ जना रहेका छन् । बाबुआमाको जन्मसिद्ध नागरिकताका आधारमा नागरिकता नपाएका १ सय १५ जनाको गृह मन्त्रालयमा नागरिकताका लागि निवेदन रहेको न्यौपानेले बताए ।
‘नागरिकता अध्यादेश संविधानमा भएको व्यवस्था कार्यान्वयनका लागि ल्याइएकाले कोही कसैको कुनै भ्रममा पर्नुपर्दैन, यो जनताको हितमा छ’
महेश्वर न्यौपाने, गृहसचिव
उनीहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको उनले जनाए । संसद्मा पेस भएको विद्येयक तीन वर्षसम्म पास नभएपछि सरकारले बाध्य भएर अध्यादेश ल्याउनुपरेको गृहसचिव न्यौपानेको भनाइ छ ।
कोभिड महामारीबीच नागरिकता कसरी वितरण गर्ने भन्ने विषयमा गृह मन्त्रालयले छिटोछरितो कसरी बनाउन सकिन्छ भनेर तयारी थालिरहेको न्यौपानेले जानकारी दिए । विगतमा नागरिकतासम्बन्धी व्यवस्था परिवर्तन हुँदा गाउँगाउँमा टोली पठाएर नागरिकता वितरण गर्ने गरिएको थियो ।
नेपालको संविधान २०७२ जारी भए पनि धेरैले आमाबाबुको जन्मसिद्ध नागरिकताको आधारमा वंशजको नागरिकता लिन जिल्ला प्रशासनमा निवेदन दिए पनि नागरिकता बन्न सकेको थिएन । प्रशासनले नागरिकता बनाउन इन्कार गरेपछि नेपाली नागरिक भएको नाताले ‘नागरिकता जारी गरी पाऊँ’ भन्दै सर्वोच्चमा रिट निवेदन पर्न थाल्यो । सर्वोच्चले रिट निवेदनको मागबमोजिम संविधानको भएको व्यवस्थाअनुसार वंशजको आधारमा नागरिकता दिन आदेश जारी ग-यो ।
सर्वोच्चको आदेशअनुसार गृह मन्त्रालयले १९ चैत २०७५ मा सबै जिल्ला प्रशासनमा आमाबाबुको जन्मसिद्ध नागरिकता पाएको आधारमा तिनका छोराछोरीलाई वंशजका आधारमा नागरिककता दिन परिपत्र गरेको थियो । तर, सो परिपत्रसँगै सर्वोच्चमा कानुन नबनाई जन्मसिद्ध नागरिकता भएका बाबुआमाको छोराछोरीलाई नागरिकता दिन रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दर्ता गरेका थिए ।
न्यौपानेले दायर गरेको रिटमा २४ वैशाख २०७६ मा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले कानुन बनाएर मात्रै जन्मसिद्ध नागरिकता प्राप्त भएका आमाबाबुको सन्तानलाई नागरिकता दिनू भनी गृह मन्त्रालयको सर्कुल रोकियो । जसबाट धेरै जिल्लामा १६ वर्ष उमेर पुगेर पनि नागरिकता पाउनबाट वञ्चित हुुनुपर्ने अवस्था आएको थियो ।
के छ नागरिकतासम्बन्धी अध्यादेशमा ?
नेपालको संविधान २०७२ र सर्वोच्च अदालतको आदेशअनुसार नै सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको हो । र, यसले नागरिकतासम्बन्धी दुइटा गाँठो फुकाएको छ ।
पहिलो, ३ असोज २०७२ भन्दा अघि जन्मसिद्ध नागरिकता लिएकाहरूको नाबालिग सन्तानलाई वंशजका आधारमा नागरिकता दिने । दोस्रो, नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने । तर, यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहनेछैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भन्ने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गरिनेछ ।






