चक्रवाती वर्षाको सकारात्मक असर

पश्चिमी वायुले ठगे पनि नेपालमा चक्रवाती वर्षाका कारण मनसुन सुरु हुनपूर्व खेती गर्न सकिने गरी वर्षाले सकारात्मक असर ल्याएको छ । प्रायः जसो पश्चिमी वायु प्रभावले हिउँद र बर्खामा लगाइने बालीका लागि काम गरिरहेको थियो । अघिल्ला हरेक वर्षहरूमा पश्चिमी वायुको प्रभावका कारण मनसुन सुरु हुनुपूर्व नेपालमा बर्खेखेती लगाइने गरिँदै आएको थियो । तर, यस वर्ष पश्चिमी वायुले नेपाललाई ठग्यो । सिंगो हिउँदभरि वर्षा हुन नसकेर खेतीपातीमा परेको ठूलो मारसँगै बर्खेखेती पनि संकटमा पर्छ कि भन्ने आशंका जन्मिरहेको थियो । तर, यसैबेला चक्रवात वर्षाका कारण देशभर बर्खे खेती सुरु भइसकेको छ । पश्चिमी वायु र यसले पार्ने वर्षालाई ‘जुवाको खेल’ पनि भन्ने गरिन्छ । यो वर्ष जुवाको खेलरूपी पश्चिमी वायुले ठगे पनि अरब सागरबाट आएको चक्रवात हुरीसँगै भएको वर्षाले बर्खे खेती सुरु गराएको छ । हिमाल तथा पहाडमा मकै छर्ने, धानको खेती सुरु गर्ने काम यसैसँग सुरु भएको छ ।

अरब सागरको चक्रवात हुरीले ल्याएको वर्षासँगै बंगालको खाडीबाट उठेको अर्को चक्रवात हुरी र त्यसले ल्याएको वर्षाले नेपाल हरिमण्डल हुन थालेको छ । देशभरि लागेको डढेलो नियन्त्रणमा आइसकेको छ । यस वर्ष सोचेभन्दा बढी डढेलोको प्रभावमा सिंगो देश प¥यो । यसको नियन्त्रणका लागि प्रयत्न गरिए पनि देशभर जंगलमा लागेको डढेलो नियन्त्रण हुनुका साथै खेतबारीमा बर्खेखेती सुरु भइसकेको छ । चक्रवात हुरी र यसले ल्याएको वर्षाको प्रकृतिलाई हेर्दा प्रि मनसुन हो कि भन्ने भ्रम आमजनमानसमा देखिन्छ । तर, यो चक्रवात वर्षा हो भन्ने किसानलाई कम मात्र जानकारी छ । यसपछि प्रिमनसुन सुरु हुने र त्यसपछि मात्र मनसुन सुरु हुने देखिएको छ । प्रि मनसुनपूर्व आएको अरब सागर तथा बंगालको खाडीको चक्रवात वर्षात नेपालका लागि समुद्रमन्थन गरी निकालिएको अमृत समान हुन गएको छ । त्यसले किसानमा खुसी त ल्याएको नै छ । त्यसमा पनि पर्यावरण सन्तुलन र प्रदूषण कमी गर्ने काम पनि साथसाथै हुन गएको छ । व्यापक प्रदूषणका कारण जनस्वास्थ्यमा पर्न गएको प्रतिकूल असरलाई यसले धेरै कम गराएको छ ।

चक्रवात वर्षा बर्खा लाग्नु अगाडिको झझल्को दिने गरी हिमालयमुनिका देशहरूमा समान रूपले देखा परिरहेको छ । मेघ पनि कम गर्जनु, चट्याङ पनि कमै पर्नु, सिंगो आकाश बादलले ढाक्नु तथा एकनासको सिमसिमे वर्षा भइरहनुले मनसुनको झझल्को दिएको छ । लामो समयसम्म खडेरीबाट प्रताडित नेपाली जनजीवनमा चक्रवात वर्षाले ठूलो राहत ल्याएको छ । यसले नेपालको कृषि तथा पशु पालनमा आधारित आर्थिक जीवनमा समेत ठूलो सकारात्मक असर ल्याउने देखिएको छ । यदि, यी प्रि मनसुन र मनसुन बेलैमा आउन सके यसपालिको हिउँदेबालीबाट ठगिएका नेपालीहरूले बर्खामा मनग्य खेती गर्न सक्ने सम्भावना देखिएको छ । जलवायुविद्का अनुसार यो वर्ष मनसुनी वर्षा पनि निकै बाक्लो हुने अनुमान छ । त्यसैले, बर्खेखेतीका लागि नेपाली कृषकले यहीअनुसार तयारी गर्नु जरुरी देखिन्छ । चक्रवात वर्षाको सकारात्मक प्रभावका कारण मनसुनी वर्षा हुनुपूर्व बर्खेबालीका लागि गरिनुपर्ने सम्पूर्ण तयारीका लागि उपयुक्त वातावरण यसले खडा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !