संक्रमित घट्दै, निको हुने बढ्दै

सांकेतिक तस्विर

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ ।

बार                  संक्रमित         संक्रमणमुक्त            परीक्षण
सोमबार              ७४२५            ७१३५                  २०४५३
मंगलबार            ८६३६             ६४०४                  २२९३६
बुधबार               ६७१४            ६७१६                  १९३५२
बिहीबार              ६९३९            ७२२६                 २०९९२
शुक्रबार              ६९५१            ९८४१                २०११०
शनिबार             ४४८७            ६०८०                १४७५२
आइतबार           ४३६९            ६२०५               १२७७०
पछिल्लो एक साता यता देशभरको संक्रमणदर   

गत सोमबारदेखि हिजो (आइतबार) सम्म १ लाख ३१ हजार ३ सय ६५ जनाको कोरोना परीक्षण गर्दा ४५ हजार ५ सय २१ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा ४९ हजार ६ सय सात जना संक्रमणमुक्त भएका छन् । यस्तै, मृतक संख्या पनि दैनिक घट्दो क्रममा रहेको छ । आइतबार १ सय ९ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, देशभर १ हजार ५ सय ४५ आईसीयू र ४ सय ७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत प्रदेश १ मा २ सय ३७ आईसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १ सय ४४ आईसीयू र ३२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २० आईसीयू र २ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय ६६ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १ सय ८३ जना आईसीयू र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५० जना आईसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयू र १२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै, ज्येष्ठ नागरिकहरूले खोप लगाउने समय घर्किन लागे पनि तत्काल कोभिसिल्डको दोस्रो मात्रा लगाउन नपाउने भएका छन् । सरकारले गत २३ फागुनपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाउन सुरु गरेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोप लगाउन थालिएको थियो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए । खोप आउँदा बित्तिकै दोस्रो मात्रा लगाउने खोप कार्यक्रम कार्यतालिका सार्वजनिक गरिने भन्दै विश्व स्वास्थ्य संगठनले १६ हप्तासम्म पनि लगाउन सकिने बताएको जानकारी दिए । यसैबीच स्वास्थ्य मन्त्रालयले संक्रमण रोकथामका लागि हेलचेक्र्याइँ नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९५ लाख मतपत्र छापियो