कोरोनाले फेसन कोरियोग्राफी तहसनहस बनायो: अश्विनी

काठमाडौं । पहिलो चरणको कोरोना महामारी गत पुसबाट नेपालमा केही मत्थर भएपछि ब्युटी पेजेन्ट, फेसन सोहरू हुन थाले । नेपालका व्यस्तमध्येका एक फेसन कोरियोग्राफर अश्विनी कान्त झा त्यतिबेला निकै उत्साहित भए । करिब आठ महिनादेखि कार्यक्रम नहुँदा खाली बस्नुपरेको पीडालाई भुलेर उनले एकसाथ चार कार्यक्रमको कोरियोग्राफी जिम्मा लिए ।

यो वैशाखको पहिलो सातासम्म ब्युटी पेजेन्ट तथा फेसन कोरियोग्राफीमा उनलाई भ्याइनभ्याई भयो । तर, दोस्रो लहरको कोरोना वैशाखबाट नेपालमा भित्रिएपछि १६ वैशाखयता नियमित रूपमा काठमाडौंमा निषेधाज्ञा छ । जसका कारण ब्युटी पेजेन्ट, फेसन सोहरू ठप्प भएपछि अरू जस्तै कोरियोग्राफर अश्विनी पनि अहिले कामविहीन अवस्थामा छन् ।

अश्विनीले गएको फागुनमा बिहानीको समय छैटौं मिस ब्युटीफुल नेपाल र पाँचांै मिसेस ब्युटीफुल नेपाल २०२१ का प्रतियोगीलाई कोरियोग्राफी प्रशिक्षण गरिहँदा सोही समय बेलुका मिस्टर एन्ड मिस टिन शेर्पा २०२१ का प्रतियोगीको प्रशिक्षणमा उनी व्यस्त थिए । यी दुई कार्यक्रम अन्तिम चरण पुग्दा उनी मिसेस नेपाल ग्लामको कोरियोग्राफीमा पनि आबद्ध भएका थिए । यी तीनवटा कार्यक्रम नसकिँदै उनी मिस एन्ड मिसेस युनिभर्सल नेपाल र मिसेज ग्रान्ड नेपाल २०२१ मा पनि कोरियोग्राफरका रूपमा आबद्ध भइसकेका थिए ।

फागुनबाट एकैचोटि यसरी ६ वटा कार्यक्रमको कोरियोग्राफरमा आबद्ध भएका अश्विनीले त्यसपछि मिस ब्युटीफुल, मिसेस ब्युटिफुल र मिस टिन शेर्पा कार्यक्रम मात्र सम्पन्न गर्न पाए । चैतसम्ममा तीनवटा कार्यक्रम सकेपछि उनी मिसेज ग्लामको प्रशिक्षणमा व्यस्त थिए । सो कार्यक्रम १५ वैशाखसम्म सकेर मिस एन्ड मिसेस युनिभर्सलको कोरियोग्राफी १५ वैशाखबाट सुरु गर्नुपर्ने थियो । कोभिडको दोस्रो लहरका कारण बाँकी सबै ब्युटी पेजेन्ट स्थगित भए । जसका कारण आफूलाई ठूलो नोक्सान परेको उनले बताएका छन् ।

यस्तै, असारसम्म मिस्टर एन्ड मिस एसईई, मिस्टर एन्ड मिस एसईई ग्लाम, मिस टिन एसईई जस्ता ब्युटी पेजेन्टको पनि कोरियोग्राफी गर्न उनी चैतमा अनुबन्धित भइसकेका थिए । तर, कोरोनाले एसईई रोकिएपछि कोरियोग्राफ्री कार्यक्रम रोकिएको छ । अहिले रोकिएका यी कार्यक्रम पनि आगामी भदौ वा असोजसम्म हुने विश्वास यी कोरियोग्राफरको छ । अश्विनीकान्तले कोरियोग्राफीमा एक दशकभन्दा बढी समय खर्चिसकेका छन् ।

दिल्ली र मुम्बई बसेर उनले कोरियोग्राफी सुरु गरेका थिए । भारतका चर्चित कोरियोग्राफर कौशिक घोषसँग केही वर्ष कोरियोग्राफी सिकेर उनको सहायक भएर अश्विनीले कोरियोग्राफी गरे । सोही क्रममा सन् २०१४ ताका दिल्लीमा मिस्टर एन्ड सिम इन्डिया एटिच्युड २०१४ को फुल कोरियोग्राफी उनले गरे । त्यसपछि भारतमै केही समय कोरियोग्राफी गरेपछि नेपाल आएर उनले एक दशक अघियताबाट फेसन, मोडलिङ तथा ब्युटी पेजेन्ट कोरियोग्राफी गर्दै आएका छन् ।

हालसम्म २ सय ५० वटा बढी फेसन सो, मोडलिङ सो तथा ब्युटी पेजेन्ट गरिसकेको अनुभव उनीसँग छ । तर यो पेसामा अहिलेजस्तो संकट यो एक दशकमा कहिल्यै नआएको उनले बताए । वर्षमा २० देखि ३६ वटासम्म यस्ता कार्यक्रमको कोरियोग्राफी उनले विगतमा गरिसकेका थिए ।

अश्विनीको भनाइमा फेसन सोको कोरियोग्राफी एक सातामा सकिन्छ । ब्युटी पेजेन्टको कोरियोग्राफी २१ दिनदेखि ३५ दिनसम्म लाग्छ । एकै समयमा पाँचवटा पेजेन्टको पनि कोरियोग्राफी गर्दै आएको उनीसँग अनुभव छ । विगतमा नेपाल सुपर मोडल कन्टेस्ट, फेस अफ दि इयर, मिस्टर एन्ड मिस सुदूर पश्चिमाञ्चल, मिस नेपालगन्ज, मिस्टर एन्ड मिस आइकन, मिसेस नेपाल आइकनको पाँच वर्षभन्दा बढी निरन्तर कोरियोग्राफी उनले गरे । तर, अहिले यी सबै कार्यक्रम १४ महिना यताबाट बन्द छन् ।

राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि उनले कोरियोग्राफी गरेका थिए । यसअघि पाँचौं संस्करणसम्म मिसेस नेपाल इन्टरनेसलनको कोरियोग्राफी गरेका उनले यसपटक यो कार्यक्रम मिसेस वल्र्ड नेपाल परिणत भएपछि उनी यही असारमा मिसेस वल्र्ड नेपालको कोरियोग्राफी गर्ने तयारीमा थिए । अब मिसेस वल्र्ड नेपाल कोभिडको संक्रमणपछि असोजको पहिलो साता सम्पन्न गर्ने आयोजक पक्षले उनलाई वचन दिएका छन् ।

त्यसो त अब कोभिड घटेपछि मुम्बईमा मिस्टर एन्ड मिस महाराष्ट्र फेसका लागि अनुबन्धित भएका छन् । यस्तै सिंगापुरको मिसेज इन्टरनेसलनको अतिथि कोरियोग्राफी गरिसकेका अश्विनी अब भने यो प्रतियोगिताको सबै कोरियोग्राफी गर्न अनुबन्धित भइसकेका छन् । त्यहाँ भ्याक्सिन लगाउने कार्य सम्पन्न भएकाले आगामी कात्तिकमा उनी सिंगापुर जानेछन् । सो प्रतियोगितामा २२ देखि ३५ देशका प्रतियोगीलाई उनले दुई साता प्रशिक्षण दिनेछन् ।

एउटा पेजेन्टको ५० हजारदेखि १ लाख रुपैयाँसम्म पारिश्रमिक लिने अश्विनीको कमाइ राम्रो थियो । तर, अहिले छैन । उनले कला तथा कोरियोग्राफीबाट यसै वर्ष नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट १ लाख रुपैयाँसहित राष्ट्रिय युवा प्रतिभा पुस्कार जितेका थिए । हालै नेपाल म्युजिक एन्ड फेसन अवार्डमा बेस्ट पेजेन्ट कोरियोग्राफर अवार्ड जितेका उनी ब्युटी पेजेन्ट एसोसिएसन अफ नेपालका संस्थापक सदस्यसमेत हुन् । अब कोरोनाको भ्याक्सिन कहिले सबै जनताले लगाउलान् र ढुक्कसँग काम गर्न पाइन्छ भन्ने आशामा उनी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 736 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढ्यो: प्रदीप पौडेल