फेकोफनको २५ वर्षे अनुभव

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले स्थापनाको २५ वर्ष पूरा गरेको छ । वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने र उपभोक्ता समूहको क्षमता एवं नेतृत्व विकास गर्ने लक्ष्यसहित २०५२ साल जेठ १८ गते महासंघको स्थापना भएको थियो । महासंघले स्थापनाको यस २५ वर्षको अवधिमा ६ वटा राष्ट्रिय महाधिवेशन, एउटा विशेष महाधिवेशन र आठवटा राष्ट्रिय परिषद् सम्पन्न गरी संघ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा महासंघको संगठन विस्तार र सुदृढीकरण गरिसकेको छ । महासंघ वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रूपमा स्थापित हुन र परिचित गराउन सफल पनि भएको छ ।

अहिले नेपालको कुल भूभागको ४४ दशमलव ७४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको तथ्यांक छ । वनको संरक्षण र संवद्र्धनमा सामुदायिक वन उपभोक्ताको ठूलो हात छ । सामुदायिक वनको माध्यमबाट दिगो वन व्यवस्थापनको कारण वन क्षेत्र वृद्धि भएको हो । देशभर रहेका २२ हजार ४ सय १५ सामुदायिक वन उपभोक्ता समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर वन व्यवस्थापन गरिरहेका छन् जसमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी संलग्न छन् । वन उपभोक्ताको सक्रिय सहभागितामा सामुदायिक वनको भावना र मर्मअनुसार वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी भएको छ । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सामुदायिक वन एक सिकाइ केन्द्र्र्रका रूपमा समेत स्थापित भएको छ । नेपालमा सामुदायिक वनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिबी तथा भोकमरीको अन्त्य, वनमा आधारित उद्यमको विकास गरी रोजगारी सिर्जना, जलवायु परिवर्तन तथा अनुकूलनका कार्यक्रम सञ्चालन गरी वन तथा वातावरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ ।

स्थापना कालदेखि नै विभिन्न समयमा भएका जनआन्दोलन र नागरिक अभियानहरूमा सक्रिय सहभागिता जनाएर वन क्षेत्र र नागरिक तथा सामाजिक अभियानको क्षेत्रमा एक सशक्त नागरिक समाजका रूपमा महासंघ स्थापित हुन सफल भइरहेको छ

महासंघले आफ्नो २५ वर्षको अवधिमा सामुदायिक वनमा उपभोक्ता समूहको अधिकार सुरक्षित गर्न, उनीहरूलाई थप सशक्त बनाउन निरन्तर पैरवी अभियान सञ्चालन गरिरह्यो । उपभोक्ता समूहको ज्ञान निर्माणमा सुदृढीकरण गरिरह्यो । विभिन्न कालखण्डमा आएका कठिनाइहरू चुनौतीका रूपमा स्वीकार गरी आफ्नो लक्ष्य पछ्याइरह्यो । वर्तमान स्थितिमा पनि महासंघ सामुदायिक वन उपभोक्ता समूहको हितका लागि लागिरहेको छ । वन संरक्षणका लागि खटिरहेको छ । महासंघले आफ्नो २५ वर्षको अवधिमा देशव्यापी रूपमा सामुदायिक वन हस्तान्तरण र उपभोक्ता समूहको क्षमता विकासका लागि निरन्तर अभियान तथा कार्यक्रम सञ्चालन गरी सामुदायिक वनलाई स्थानीय समुदायको जीवनको अभिन्न अंगका रूपमा स्थापित गराइसकेको छ । यति मात्र नभई संविधानमा सामुदायिक अधिकारको सुनिश्चितताका लागि सञ्चालित अभियानका माध्यमबाट संविधानमा प्राकृतिक स्रोतको परिचालन र सोबाट प्राप्त लाभमा स्थानीय समुदायको अग्राधिकार हुने व्यवस्थासमेत महासंघले गराउन सफल भएको छ ।

विभिन्न समयमा नेपालको वन क्षेत्रमा हुन लागेको अनियमिततामा महासंघले आवाज उठाएको छ । जसका कारण नेपालको वन क्षेत्र जोगिएका छन् । कयौं नांगा डाँडाहरूमा उपभोक्ता समूहले वृक्षारोपण गरी हराभरा बनाएका छन् । तराईका जिल्लाहरूमा रहेको सालको वनमा हुन लागेको विदेशी निजी कम्पनीहरूको हस्तक्षेपविरुद्धको आन्दोलन गरी महासंघले वनमा विदेशी निजी कम्पनीहरूको हस्तक्षेप रोकेको छ । यति मात्र नभई तराईमा सामुदायिक वन अभियान सञ्चालनमा पनि ल्याएको छ । सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षहरूबाट सामुदायिक वनमा हुँदै आएका विभिन्न हस्तक्षेप रोक्न द्वन्द्वरत पक्षहरूमा दबाबद सिर्जना गरी सामुदायिक वन अधिकारको सुरक्षा पनि महासंघले गरेको छ ।

वन तथा वातावरण र जैविक विविधताको सन्दर्भमा विभिन्न समयमा तर्जुमा हुने वन नीतिहरू, वन ऐन तथा नियमावली, निर्देशिका र कार्यविधि तथा मार्गदर्शनमा सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चितताका लागि विभिन्न वकालतका कार्यहरू गरी सामुदायिक वन अधिकारको सुनिश्चितता पनि महासंघले गरेको छ । महासंघलाई यही अवधिमा सामुदायिक वनमा लगाइएको विभिन्न किसिमका करको बोझ हटाउन र सामुदायिक वन उपभोक्ता समूहको कोषमा विभिन्न पक्षबाट हुने हस्तक्षेप रोक्न समुदायस्तरदेखि राष्ट्रियस्तरसम्म आन्दोलन र कानुनी उपचारका माध्यमबाट अधिकांश करको बोझहरू हटाउन सफलता पनि मिलेको छ ।

वर्तमान परिप्रेक्षमा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका नाममा भइरहेको हस्तक्षेप रोक्न सञ्चालित अभियानस्वरूप वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज भएको र सामुदायिक वनको काठलगायतका वन पैदावारमा भइरहेको केन्द्रीकृत हस्तक्षेप कम भइरहेका छन् । यसका लागि पनि महासंघले संघर्षशील लडाइँ लडिरहेको थियो । सामुदायिक वन अधिकारमा प्रभाव पर्ने विभिन्न किसिमका संरक्षित क्षेत्रहरू, चुरे वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र घोषणा तथा विस्तार गर्ने कार्यहरू विरुद्ध निरन्तर सामुदायिक अभियान सञ्चालन गरी सामुदायिक वनका माध्यमबाट नै वातावरण र जैविक विविधता संरक्षणमा सफलता हासिल हुने कुरा स्थापित गर्न पनि महासंघ सफल भएको छ ।

कोभिड १९ लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोप र महामारीबाट प्रभावित समुदायका लागि पनि महासंघले काम गरिरहेको छ । उनीहरूका लागि राहत तथा सहयोग परिचालन गर्न कोषको स्थापना गरी सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि यी कामहरूले निरन्तरता पाउनेछन् ।

सामुदायिक वनका माध्यमबाट जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनकासाथ विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि व्यापक रूपमा सामुदायिक वनको आर्थिक तथा अन्य स्रोत साधन परिचालन भइरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा सुशासन, लंैगिक समानता, समाजिक रूपमा समानुपातिक समावेशीकरण र सामाजिक आर्थिक न्याय स्थापनाका लागि क्षमता विकास र सामाजिक अभियान सञ्चालन भइरहेका छन् । स्थापना कालदेखि नै विभिन्न समयमा भएका जनआन्दोलन र नागरिक अभियानहरूमा सक्रिय सहभागिता जनाएर वन क्षेत्र र नागरिक तथा सामाजिक अभियानको क्षेत्रमा एक सशक्त नागरिक समाजका रूपमा महासंघ स्थापित हुन सफल भइरहेको छ । यति मात्र होइन, सामुदायिक वनमा आधारित वन उद्यम र पर्यापर्यटनमा देखिएका कानुनी अवरोध हटाउन नीतिगत तथा कानुनी सुधारका लागि निरन्तर वकालतका पनि भइरहेको छ । यही प्रभावका कारण केही आंशिक रूपमा नीतिगत सुधार पनि भइरहेका छन् । विभिन्न समयमा भएका प्राकृतिक प्रकोप र महामारीमा सामुदायिक वन उपभोक्ता समूहबाट सहयोग जुटाउन देशव्यापी रूपमा उपभोक्ता समूह व्यापक रूपमा परिचालन गरिएको छ भने यसबाट प्रभावित समुदायलाई राहत पनि पुगेको छ ।

२५ वर्षको अवधिमा महासंघले महिला सशक्तीकरण तथा नेतृत्व विकासमा विश्वमा नमुना उदाहरण पेस गरेको छ । महासंघले सामुदायिक वन उपभोक्ता समूह बनाउँदा तथा महासंघमा ५० प्रतिशत महिला नेतृŒवको भूमिकामा सहभागी गराएको छ । महासंघले आगामी दिनमा पनि सामुदायिक वनमा उपभोक्ता समूहको अधिकार सुरक्षित गरी थप सशक्त बनाउन निरन्तर पैरवी अभियान सञ्चालन गर्ने र तथ्य प्रमाणमा आधारित पैरवी अभियानका लागि ज्ञान निर्माणमा सुदृढीकरण गर्ने योजना बनाएको छ । अबका दिनहरूमा पनि सबै किसिमका नागरिक तथा सामाजिक अभियानप्रति ऐक्यबद्धता गर्ने कार्यमा निरन्तरता दिएर अगाडि बढ्ने योजनामा महासंघ रहेको छ ।

महासंघ वन तथा प्राकृतिक स्रोतसँग सम्बन्धित प्रशासनयन्त्रमा लोकतान्त्रीकरण स्थापित गराउनमा सहयोग गरिरहेको छ र आगामी दिनमा पनि यी कामले निरन्तरता पाउनेमा विश्वस्त छ । सामुदायिक वनबाट सिर्जना हुने आर्थिक सम्भावनाको विस्तृतीकरण गर्ने पनि महासंघको अबको योजना रहेको छ । यसअघि पनि सामुदायिक वन स्थानीय उपभोक्ताको आम्दानीको स्रोत बनाउन महासंघले विविध कार्ययोजना ल्याएर काम गरिरहेको छ । कतिपय सामुदायिक वन उपभोक्ताले सामुदायिक वनमा पर्यापर्यटन, कृषिलगायतका काम गरेर सफल बनिसकेका छन् । आगामी दिनमा यही अभ्यास अझ विस्तृत बनाउने’bout महासंघ लागिरहनेछ । वन तथा कृषि एकीकृत रूपमा व्यवस्थापन गरी प्रणालीको प्रवद्र्धन गर्ने, आत्मनिर्भरता र दिगो विकासका सैद्धान्तिक अवधारणा अपनाउने योजनामा महासंघ लागेको छ । कोभिड–१९ लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोप र महामारीबाट प्रभावित समुदायका लागि पनि महासंघले काम गरिरहेको छ । उनीहरूका लागि राहत तथा सहयोग परिचालन गर्न कोषको स्थापना गरी सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि यी कामहरूले निरन्तरता पाउनेछन् ।
(लेखिका सामुदायिक वन उपभोक्ता महासंघ, नेपालकी केन्द्रीय अध्यक्ष हुन्)

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण