काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ । दुई अध्यक्ष रहेको जसपामा एकअर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी नै चलेको छ । अध्यक्ष महन्थ ठाकुरले मंगलबार अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । ठाकुरले यादवलाई कारबाही गर्नुअघि यादवले मंगलबार नै चार नेतालाई कारबाही गरेको पत्र सार्वजनिक गरेका छन् ।
यादवले ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । यादवनिकट नेता प्रकाश अधिकारीले पार्टी हितविपरीत कार्य गरेकाले विधानअनुसार अनुशासनको कारबाही गरिएको बताए ।
एकअर्कालाई कारबाही गर्दै दुवै समूहले त्यस’bout निर्वाचन आयोगलाई जानकारीसमेत गराएका छन् । यसअघि, दुवै समूहले एकअर्कालाई स्पष्टीकारण सोधेका थिए ।
पछिल्लो समय सरकारमा सहभागी हुने विषयलाई लिएर पनि पार्टीभित्र विवाद बढ्दै गएको छ । सरकार निर्माण विषयमा जसपाभित्र विवाद चर्किंदै गएपछि शीर्षनेता दुई धु्रवमा विभाजित भएका छन् । ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । तर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र यादव समूह विपक्षी गठबन्धन बनाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन् ।
पार्टी विवाद चर्किंदै गएपछि एकअर्कालाई सोधिएको स्पष्टीकरणको जवाफ कसैले दिएनन् । सरकारमा सहभागी हुने विषयमा शीर्ष नेताको मत विभाजित रहेको छ । सोही कारण दुवै समूह आआफ्नो रणनीतिअनुसार अगाडि बढेपछि एकअर्कोलाई स्पष्टीकरण सोध्नेक्रम पनि सुरु भयो ।
पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा ठाकुर र महतो समूह छ । पार्टी निर्णयविपरीत देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गरेकोलगायत आरोप ठाकुर समूहले लगाउँदै आएको छ ।
तर, डा. भट्टराई, अध्यक्ष यादव समूह कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडानमा छ । ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले ओलीसँग सहकार्य नहुने निष्कर्ष यादव समूहको छ ।
सो समूहले पार्टीको निर्णय र नीतिविपरीत प्रधानमन्त्री ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप ठाकुर समूहमाथि लगाउँदै आएको छ ।
ठाकुर, महतो र त्रिपाठी भेटघाट
यसैबीच महन्थ ठाकुर, राजेन्द्र महतो र हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।
स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल गरेका छन् । जसपा कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतो समूहले त्रिपाठीसँग मिलेर पुरानै जसपा ब्युँताउने विषयमा छलफल गरेका हुन् ।