काठमाडौं । अग्रज हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफू कोरोनाबाट पूर्ण मुक्त भएको बताएका छन् । मंगलबार फेसबुकमा एक सन्देश सम्प्रेषण गर्दै आफू पूर्ण सन्चो भएको उल्लेख गरेका छन् ।
सबै नेपालीलाई चाँडोभन्दा चाँडो कोभिडको खोप लगाउन अवाज उठाउँदै कलाकार श्रेष्ठले यस्तो लेखेका छन्, ‘देशमा अझै पनि कोरोनापीडीत धेरै बाँकी नै छन् कतिपय अझ थपिँदै पनि छन् । यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यही कुलंगार कोरोना नै हो ।’
उनले अगाडि लेखेका छन्, ‘अहिलेको अवस्थामा सरकारले कोरोनालाई पहिलो प्राथमिकता दिएर, सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहन्छु । जनता नै भएन भने कसलाई शासन गर्ने ? होइन त ?’ यसरी उनले सरकारलाई कोरोनाको भ्याक्सिन जनतालाई लगाउन ध्यानाकर्षण गरेका छन् ।
कोरोना संक्रमणपछि कलाकार श्रेष्ठले आफू २२ दिन अस्पताल बस्नुपरेको बताएका छन् । अस्पताल बसाइका क्रममा आफूलाई कोरोनाले सिकिस्त बनाएको भए पनि आफन्त र शुभचिन्तकको आर्शीवादले नै कोरोनामुक्त हुन सकेको पनि उनले बताएका छन् । पहिलोपटक आठ दिन र दोस्रोपटक १४ दिन मेडिसिटी अस्पतालमा उपचार गराएर घर फर्किएको उनले बताएका छन् ।
तथापि कलाकार श्रेष्ठमा अझै कमजोरी रहेको छ । उनले पनि अझै कमजोरी भइरहेकाले सोहीअनुसारको खानपिन र दैनिकीमा ध्यान दिएको बताएका छन् ।
कलाकार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेअनुसार डाक्टरहरूका अनुसार मदनकृष्णको शरीरमा एन्टिजेन बनिसकेको छ । यस्तो अवस्थामा आफूबाट अबको कम्तीमा ३ महिना कसैलाई कोरोना नसर्ने र उनलाई पनि अरूबाट नसर्ने बताएपछि यी कलाकार घर फर्किएका हुन् ।
उनले अबका दिनको कसैलाई कोरोना नहोस् भन्ने चाहना व्यक्त गरेका छन् । आफ्नो पीसीआर नेगेटिभ आएपछि मात्र सबैलाई सुनाउने भनेर उनी केही नलेखी बसिरहेका थिए । तर, सोमबार गरिएको पीसीआर परीक्षणमा घरका सबै सदस्यको नेगेटिभ देखिए पनि आफ्नो अझै पोजिटिभ नै देखिएको उनले बताएका छन् ।






